बीमा कम्पनीहरूको सेयर मोह : एकै वर्ष ५९ प्रतिशत बढ्यो पोर्टफोलियो, कसको लगानी कति छ ?
काठमाडौं । सेयर बजारमा लगानी बढाउन बीमा कम्पनीहरु निकै आक्रामक देखिएका छन् । एकै वर्ष कम्पनीहरुले ६९ प्रतिशत लगानी बढाएका छन् ।
हालै कम्पनीहरुले प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१–८२ चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
अहिले १३ वटा जीवन बीमा, १२ वटा निर्जीवन बीमा, दुई वटा पुनर्बीमा र एक लघुबीमा गरि २८ कम्पनीले सूचीकृत पब्लिक कम्पनीहरूको साधारण सेयरमा लगानी गरेका हुन् ।
ती कम्पनीहरुले एकै वर्ष १६ अर्ब ६५ करोड रुपैयाँ लगानी सेयरमा थपेका छन् । योसँगै गत वर्ष कम्पनीहरुले कुल ४० अर्ब ८२ करोड ९० लाख रुपैयाँ सेयर बजारम लगानी गरेका छन् । यो अघिल्लो वर्षको तुलनामा ६८.९२ प्रतिशत बढी हो । अघिल्लो वर्ष २४ अर्ब १७ करोड १२ लाख रुपैयाँ लगानी गरेका थिए ।
नेपाल बीमा प्राधिकरणले लगानी नीतिमा लचिलोपन ल्याएपछि बीमा कम्पनीहरूको सेयर बजारमा सक्रियता बढेको छ । उनीहरूले चुक्ता पुँजीको १० प्रतिशतसम्म सेयर बजारमा र नेप्से सूचीकृत पब्लिक कम्पनीमा १५ प्रतिशत सम्म लगानी गर्न पाउँछन् ।
यस्तो नीतिपछि सेयर बजारमा सकारात्मक संकेत देखिएको छ । नेप्से सूचकांक र कारोबार रकममा उल्लेख्य वृद्धि भएको छ । बैंकको मुद्दती निक्षेपमा ब्याजदर ६ प्रतिशत भन्दा तल झरेको छ । बीमा कम्पनीहरूले परम्परागत लगानीबाट ध्यान हटाउँदै सेयर बजारमा केन्द्रित भएको देखिन्छ ।
यता, लगातार लाभांश दिने कम्पनीहरूको संख्या र दीर्घकालीन मूल्य वृद्धिको सम्भावनाले पनि बीमा कम्पनीहरूलाई आकर्षित गरिरहेको छ । हाल कम्पनीहरुले मुद्दती निक्षेप, बचतपत्र, म्युचुअल फण्ड, रियल स्टेट लगायतमा लगानी गर्दै आएका छन्, तर सेयर बजारको तर्फ ध्यान झनै बढ्दैछ ।
सेयर बजारमा जीवन बीमा कम्पनीको साढे ३० अर्ब लगानी, एकै वर्ष ५९.५८ प्रतिशत बढाए
सेयर बजारमा लगानी बढाउन जीवन बीमा कम्पनीहरु निकै आक्रामक देखिएका छन् । जीवन बीमा कम्पनीको लगानी एकै वर्ष ५९.५८ प्रतिशत बढेको छ ।
अघिल्लो वर्ष कम्पनीहरुले १९ अर्ब १२ करोड ६४ लाख रुपैयाँ लगानी गरेका थिए । तर, गत वर्ष आइपुग्दा भने यस्तो लगानी ३० अर्ब ५२ करोड २८ लाख रुपैयाँ पुगेको छ । राष्ट्रिय जीवन बीमा बाहेकका अन्य सबै कम्पनीहरुले सेयर बजारमा लगानी बढाएका छन् ।
सेयर बजारमा हिमालयन लाइफ इन्स्योरेन्सको सर्वाधिक १० अर्ब ८५ करोड ९७ लाख रुपैयाँ लगानी छ । यो अघिल्लो वर्षको तुलनामा ९१.७१ प्रतिशत बढी हो ।
यता, नेपाल लाइफले ४ अर्ब १२ लाख, सूर्य ज्योतिले २ अर्ब ९२ करोड ५६ लाख, एलआइसी नेपालले २ अर्ब ३४ करोड २३ लाख, सन नेपाल लाइफले १ अर्ब ५१ करोड, रिलायबलको १ अर्ब ४७ करोड, नेशनल लाइफको १ अर्ब ३३ करोड, सिटिजन लाइफले १ अर्ब १ अर्ब २९ करोड, आइएमईले १ अर्ब २२ करोड, प्रभू महालक्ष्मी लाइफले १ अर्ब १५ करोड २९ लाख रुपैयाँ लगानी गरेका छन् ।

दोहोरो अंकमा बढ्यो निर्जीवन बीमाको सेयर बजारमा लगानी
निर्जीवन बीमा कम्पनीहरुले पनि सेयर बजारमा लगानी दोहोरो अंकमा बढाएका छन् ।
अघिल्लो वर्ष कम्पनीहरुले ३ अर्ब ८६ करोड ५ लाख रुपैयाँ लगानी गरेका थियो । तर, गत वर्ष आइपुग्दा भने १४.५४ प्रतिशत बढेर ४ अर्ब ४२ करोड १८ लाख रुपैयाँ पुगेको छ ।
चार वटा कम्पनीले सेयर बजारको लगानी घटाएका छन् । बाँकी कम्पनीहरुले भने बढाएको देखिन्छ । सेयर बजारमा सबैभन्दा ठुलो लगानी राष्ट्रिय बीमा कम्पनीको छ । हाल कम्पनीको ७९ करोड ४१ लाख रुपैयाँ लगानी छ ।
यता, सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) पनि ७१ करोड ९ लाख रुपैइाँ लगानी छ । यो अघिल्लो वर्षको तुलनामा ४१.३९ प्रतिशत धेरै हो । तेस्रो स्थानमा रहेको नेको इन्स्योरेन्सको पनि ५४ करोड १७ लाख रुपैयाँ लगानी छ ।
यस्तै, सिद्धार्थ प्रिमियरको सेयर बजारमा लगानी ५० करोड ७६ लाख रुपैयाँ लगानी छ । अघिल्लो वर्षको तुलनामा भने यो १२ प्रतिशत बढी हो । त्यसैगरि आइजीआई प्रुडेन्सियलको ४७ कारेड ७६ लाख, सानिमा जिआइसीको ३४ करोड ४४ लाख, हिमालयन एभरेष्टको २८ करोड १२ लाख रुपैयाँ छ ।

पुन:बीमा र लघुबीमा कम्पनीको सेयर बजारमा कति छ लगानी ?
सेयर बजारमा लघुबीमा कम्पनीहरुको ६० करोड रुपैयाँ लगानी छ । जबकि, अघिल्लो वर्ष कम्पनीहरुले ८८ लाख रुपैयाँ मात्रै बजारमा लगानी गरेका थिए ।
अघिल्लो वर्ष लिवर्टी माइक्रो लाइफको मात्रै बजारमा लगानी थियो । तर, गत वर्ष भने ६ वटा कम्पनीहरुले लगानी गरेका छन् । सबैभन्दा ठुलो लगानी नेपाल माइक्रोको २५ करोड ९१ लाख रुपैयाँ छ । क्रेष्ट माइक्रो लाइफको १२ करोड १६ लाख, गार्डियन माइक्रोको ११ करोड २८ लाख, प्रोटेक्टिभ माइक्रोको ५ करोड ५२ लाख, लिवर्टीको ४ करोड ९४ लाख र ट्रष्ट माइक्रा इन्स्योरेन्सको १८ लाख रुपैयाँ सेयर बजारमा लगानी छ ।
यता, हिमालयन रिइन्स्योरेन्स कम्पनी पनि सेयर बजारमा लगानी बढाउन आक्रामक नै देखिएको छ । एकै वर्ष कम्पनीले ३८०.१८ प्रतिशत बढाएर ५ अर्ब १८ करोड ९३ लाख रुपैयाँ पुर्याएको छ । जबकि, अघिल्लो वर्ष कम्पनीको यस्तो लगाी १ अर्ब ८ करोड ७ लाख रुपैयाँ रहेको थियो ।
यस्तै, नेपाल रिइन्स्योरेन्स कम्पनीले भने ९ करोड ४७ लाख रुपैयाँ मात्रै लगानी गरेको छ । अघिल्ला वर्ष पनि कम्पनीको सेयर बजारमा लगानी सोही नै थियो ।













