सुनदेखि पार्लरसम्मको व्यापारिक चहलपहल : के तीज नेपाली अर्थतन्त्रको ‘मौसमी इञ्जिन’ बन्दैछ ?
काठमाडौं । घर–घरमा मादल बज्दै छन्, हातमा मेहन्दी, निधारमा सिन्दूर र साडीको रंगमा झलमल्ल देखिन्छन् महिलाहरू । साउन सकिए पनि हरियालीको सुगन्ध अझै मनमा बाँकी छ । आज तीज हो, नारीहरूको उमंग, श्रद्धा र संस्कृति मिसिएको त्यो विशेष दिन, जसले नाचगान मात्र होइन, बजारलाई पनि नचाउने गर्दछ ।
तीज अब केवल परम्परा र भाकामा मात्र सीमित छैन । यो नेपाली अर्थतन्त्रको एउटा महत्वपूर्ण ‘पिक सिजन’को रूपमा स्थापित हुँदै गएको छ । कृषि, गहना, कपडा, सौन्दर्य, संगीतदेखि सेवा क्षेत्रसम्म-तीजले धेरै व्यवसायलाई चलायमान बनाउने गरेको छ ।
सामान्यतः असार र साउनको व्यस्त रोपाइँपछि भदौको सुरुमा मनाइने तीज महिलाहरूको लागि मात्र नभई बजारका लागि पनि उत्सवको समय हो । दर खाने, व्रत बस्ने, नाचगान गर्ने, पूजा गर्ने यी सबैसँग जोडिएको छ खर्च, उपभोग र व्यापार । जसले गर्दा तीज नेपाली मौसमी अर्थतन्त्रको एउटा घुम्ती बनेको देखिन्छ ।

तीज सँगै सुनचाँदीको बजारमा विशेष चहलपहल हुने गरेको छ । परम्परागत रूपमा महिलाहरूले तीजमा नयाँ गहना किन्ने तथा लगाउने चलन छ । तर, यो वर्ष सुनको भाउ प्रतितोला २ लाख नजिक पुग्दा धेरैको रहर अपूरो भएको छ । सुनचाँदी व्यवसायीहरूका अनुसार गहना बजारमा कारोबार घटेको छ भने पनि चाँदी, हीरा, मोती र कृत्रिम गहनाले केही राहत दिएका छन् ।
नेपालमा हाल करिब २२ हजार सुन व्यवसायी सक्रिय छन् । जसको मुख्य सिजनहरूमध्ये तीज अग्रस्थानमा पर्छ । चाँदी र कृत्रिम गहनाको व्यापार भने अझै पनि गतिशील देखिएको छ । तीजमा हिन्दू विवाहित महिलाको सौभाग्यका प्रतीक चुरा र पोतेको माग उच्च हुन्छ । चीन, भारत, चेक रिपब्लिक, कोरिया लगायतका मुलुकबाट आयात गरिने चुरा–पोतेको कारोबार करोडौंमा पुगेको छ । सरकारी तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षमा मात्र २९ करोड रुपैयाँ भन्दा बढीको पोते आयात भएको छ ।

निर्यात पनि बढ्दै गएको छ । बेलायत, अमेरिका, फ्रान्स जस्ता देशमा नेपाली पोतेको निर्यात हुने क्रमले नेपाली हस्तकला र उत्पादनको सम्भावना झल्काउँछ । यता, पहिले साडीको मात्र प्रभाव रहेको तीजको लुगा बजारमा अहिले लेहङ्गा, कुर्ता–सुरुवाल जस्ता फ्यूजन फेसनले राम्रै व्यापार दिइरहेको छ । व्यवसायीहरूका अनुसार कपडा बजारको ५० प्रतिशत भन्दा बढी कारोबार तीजकै सिजनमा हुने गरेको छ । यद्यपि, नेपालमा अधिकांश कपडा उद्योग संचालनमा छैनन् । वार्षिक ८० करोड मिटर कपडाको आवश्यकता हुने भए पनि आयातमा निर्भरता रहनुले घरेलु उद्योग पुनर्जीवन पाउन सकेको छैन् ।
अर्को तर्फ तीजको लहरसँगै पार्लरहरूमा पनि व्यापाक चहलपहल बढेको छ । शहर मात्र होइन, गाउँसम्म पनि महिलाहरूले मेकअप, फेशियल, हेयरड्रेसिङ आदिमा लगानी गर्ने चलन बढ्दो छ । नेपालमा कस्मेटिक सामग्रीको वार्षिक कारोबार झण्डै ३० अर्ब रुपैयाँ पुगेको तथ्याङ्क छ ।
तीजको दर खाने दिनलाई दूध व्यवसायीहरू ‘पिक आवर’ मान्छन् । देशभर दैनिक ७२ लाख लिटर उत्पादन हुने दूधमध्ये ३६ लाख लिटर बजारमा पुग्छ । त्यसमध्ये राजधानीमा मात्रै ५० प्रतिशत भन्दा बढी खपत भएको बताइन्छ । रोटी, मिठाई, फलफूल र ड्राई फ्रुटको कारोबार पनि यस अवसरमा उल्लेख्य हुने गर्छ । यद्यपि, तीमध्ये अधिकांश उपभोग घरमै तयारी हुने हुँदा वास्तविक बजार मूल्य आकलन भने अलि कठिन हुन्छ।
तीजको सांगीतिक बजार पनि उत्तिकै सशक्त छ । लोक तथा दोहोरी विधाका गायकगायिकाले तीजलाई लक्षित गर्दै हरेक वर्ष दर्जनौं गीत ल्याउँछन् । यसवर्ष सयौं तीज गीत बजारमा आएका छन् । जसमा ९ करोड रुपैयाँसम्म लगानी भएको अनुमान समेत गरिएको छ । संगीत मात्र होइन, भिडियो निर्माण, युट्युब विज्ञापन, स्टेज कार्यक्रमहरूबाट पनि आम्दानी हुने क्रम तीजले थप बलियो बनाइदिएको छ।
तीजको पाँचमीका दिन महिलाहरू व्रत बसेर शिव–पार्वतीको पूजा गर्छन् । यसका लागि आवश्यक पूजा सामग्री, फलफूल, कपडा, धागो, माटोका भाँडा, कलश, धूप आदि खरिद बिक्री हुने गरेको छ । साथै, पण्डित पुरोहितको सेवा पनि तीजमा व्यस्त हुन्छ, जसले सेवा क्षेत्रमा समेत आर्थिक सक्रियता देखाउँछ । तीव अब चाडपर्व मात्र होइन, आर्थिक चलायमानताको घडी पनि बनेको छ । तीज अब केवल परम्परागत चाड नभई नेपाली अर्थतन्त्रको मौसमी इञ्जिन बन्न थालेको छ । चाहे त्यो सुन बजार होस्, वा संगीत बजार, तीजले नेपाली बजारलाई एउटा ‘फेस्टिभ बुस्ट’ दिने गरेको छ ।













