निर्माणको अन्तिम चरणमा नागढुङ्गा सुरुङमार्ग, शीघ्र सञ्चालनको तयारी
काठमाडौं । सडक विभाग अन्तर्गत निर्माण भइरहेको नेपालकै पहिलो आधुनिक सुरुङमार्ग नागढुङ्गा सुरुङमार्गको निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।
निकट भविष्यमा नै संचालनमा आउने गरी तयारी भइरहेको विभागले जनाएको छ । हाल आयोजनाको भौतिक प्रगति ९४=५ प्रतिशत पुगेको छ । विभागका अनुसार सम्पूर्ण निर्माण कार्य असोज महिना भित्रै सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
सुरुङमार्गमा गुड्ने सवारी साधनहरूबाट उपभोग दस्तुर सङ्कलन गरी आगामी दिनमा सो सुरुडको मर्मत सम्भार तथा संचालनका लागि आवश्यक स्रोतको दिगो व्यवस्थापन गर्ने उद्देश्य रहेको छ । सोही अनुरुप गत साउन २६ गते बसेको नेपाल सरकार मन्त्रिपरिषदको बैठकबाट सुरुङमार्ग उपभोग दस्तुर समेत स्वीकृत भइसकेको छ ।
नागढुङ्गा सुरुङमार्गको प्रयोगकर्ताबाट उपभोग दस्तुर संकलनको लागि आयोजना मार्फत विद्युतीय माध्यमबाट दस्तुर संकलन प्रयोजनार्थ आरएफआइडी आधारित टोल संकलन प्रणाली लागू गर्ने निर्णय भएको छ ।
हाल उक्त प्रणाली जडान भइरहेको छ । यस प्रणालीको प्रयोगबाट सवारी साधनको अगाडीको सीमामा टाँसिने बैंक खाता आवद्द भएको आरएफआइडी ट्याग मार्फत सोझै टोल भुक्तानी गर्न सकिनेछ ।
सुरुङमार्गको सञ्चालन, व्यवस्थापन तथा मर्मतका लागि २४/७ सेवा प्रदान गर्नुपर्ने, आपतकालीन अवस्थामा उद्दार कार्य, आगलागी भएको अवस्थामा आगो नियन्त्रण तथा सुरुङमार्गमा जडान भएका पावर सप्लाई, भेन्टिलेशन, इन्टर्नल क्यम्युनिकेशन, रिमोट मोनिटरिङ, आकस्मिक सुविधाहरु र फायरफाइटिङ लगायतका उच्च प्रविधियुक्त प्रणालीहरूको नियमित संचालन, अनुगमन तथा मर्मतसम्भार गर्न दक्ष जनशक्ति र अन्तर्राष्ट्रियस्तरको अनुभव आवश्यक भएकाले उक्त कार्य विशेषज्ञ सेवा प्रदायकबाट गराउनु उपयुक्त विभागले जनाएको छ।
उक्त कार्यको लागि आवश्यक पर्ने स्पेशिफिकेशन, म्याुनअल जापानीज परामर्शदाताबाट तयार भएको र विभागीय प्रमुखबाट स्वीकृत भइसकेको छ ।
हाल सड़क विभागले नागढुङ्गा सुरुङमार्ग संचालन, ब्यवस्थापन तथा मर्मतको लागि सेवा प्रदायक परिचालन गर्न सेवा खरीद कार्यको तयारी गरिरहेको छ । टनेल संचालन तथा व्यवस्थापको सेवा प्रदायक खरिद कार्यको लागि अर्थ मन्त्रालयबाट श्रोत सहमति प्राप्त भएको विभागले जनाएको छ । विभागका अनुसार सेवा खरिद प्रक्रियाको लागि आवश्यक खरिद निर्देशिका मन्त्रिपरिषदबाट स्वीकृत भईसकेको छ ।
उक्त कार्यको लागि आवश्यक नमूना बोलपत्र समेत तयार भई सार्वजनिक खरिद अनुगमन कार्यालयमा छलफलको क्रममा रहेको छ । साथै लागत अनुमान तयार गर्न आवश्यक नमुना स्वीकृत भइसकेको छ र हाल लागत अनुमान तयारी कार्य भइरहेको छ।
सम्पूर्ण कार्य समयमा नै सम्पन्न गरी निकट भविष्यमै सर्वसाधारणको प्रयोगको लागि खुला गर्ने गरी तयारी भइरहेको छ। आकर्षक शैलीमा समाचार तयार गरिदिनुहोस् ।













