जीवन बीमाले दिए एकै वर्ष साढे ७८ अर्ब दावी, कसले कति दिए ?
काठमाडौं । जीवन बीमा केवल कागजी सुरक्षा नभई जीवनका कठिन घडीहरूमा साथ दिने एक विश्वासिलो सहयात्री बनिरहेको छ ।
आर्थिक अन्योल, पारिवारिक भविष्य र आकस्मिक जोखिमहरूको सन्दर्भमा नागरिकहरूलाई ढुक्क बनाउने माध्यमको रूपमा जीवन बीमा क्षेत्र झनै बलियो बन्दै गएको छ । बीमितको पीडा बुझ्दै समयमै साथ दिनुपर्ने जिम्मेवारी महसुसका साथ बीमा कम्पनीहरूले उल्लेख्य दावी भुक्तानी वृद्धि गरेका छन् ।
जीवन बीमा कम्पनीहरुले एकै वर्ष साढे ७८ अर्ब दावी भुक्तानी दिएका छन् । कम्पनीहरुले दावी भुक्तानी १९ प्रतिशत वृद्धि भएको देखिन्छ ।हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले हालै प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१–८२ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
गत वर्ष ती कम्पनीहरुले ७८ अर्ब ७२ करोड १ लाख रुपैयाँ दावी भुक्तानी दिएका छन् । यो अघिल्लो वर्षको तुलनामा भने १९.२ प्रतिशत धेरै हो । अघिल्लो वर्ष पनि कम्पनीहरुले ६६ अर्ब ४ करोड २१ लाख रुपैयाँ बढी दावी भुक्तानी दिएका थिए ।
गत वर्ष अधिकांश कम्पनीहरुको दावी भुक्तानी वृद्धि भएको छ । विवरणअनुसार सबैभन्दा धेरै नेपाल लाइफले नै भुक्तानी दिएको छ । जीवन बीमा व्यवसायमा ठुलो हिस्सा रहेको यस कम्पनीले गत वर्ष १९ अर्ब १९ करोड ६४ लाख रुपैयाँ दावी भुक्तानी दिएको छ । यो अघिल्लो वर्षको तुलनामा २८.०१ प्रतिशत धेरै हो ।
गत वर्ष नेपाल लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपालले पनि १२ अर्ब ५९ करोड २ लाख रुपैयाँ दावी भुक्तानी गरेको देखिन्छ । जबकि, अघिल्लो वर्ष कम्पनीले १० अर्ब ८९ करोड रुपैयाँ भुक्तानी गरेको थियो ।
यता, नेशनल लाइफ इन्स्योरेन्सको दावी भुक्तानी पनि ३२.९४ प्रतिशत बढेर ११ अर्ब ७ करोड १२ लाख रुपैयाँ कायम भएको छ । दावी भुक्तानी बढाउनेमा पनि कम्पनी पहिलो सूचीमा छ ।
यस्तै, एशियन लाइफको दावी भुक्तानी पनि ३२.६ प्रतिशत बढेर ६ अर्ब १८ करोड ८९ लाख रुपैयाँ कायम भएको छ ।
गत वर्ष हिमालयन लाइफले ७ अर्ब ३३ करोड ८५ लाख, राष्ट्रिय जीवन बीमाले ६ अर्ब ५६ करोड, सूर्यज्योतिले ३ अर्ब ६९ करोड, मेट लाइफले १ अर्ब ९१ करोड, सानिमा रिलायन्सले १ अर्ब ७७ करोड, सन नेपालले १ अर्ब ५७ करोड, रिलायवलले १ अर्ब ४३ करोड, आइएमई १ अर्ब २८ करोड र प्रभू महालक्ष्मी लाइफले १ अर्ब १५ करोड रुपैयाँ दावी भुक्तानी दिएका छन् ।
कुन कम्पनीका दावी भुक्तानी कति ? (रकम हजारमा)

भुक्तानी हुन बाँकी बक्यौता रकको आकार पनि ५५ प्रतिशत बढ्यो, कसको कति बाँकी ?
दावी भुक्तानी दोहोरो अंकमा बढाए पनि अझै कम्पनीहरुले साढे ६ अर्ब बढी दिन बाँकी छ । भुक्तानी हुन् बाँकी दावी रकम एकै वर्ष ५४.८९ प्रतिशत वृद्धि भएको छ ।
अघिल्लो वर्ष कम्पनीहरुले ४ अर्ब ३७ करोड ४३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी थियो । तर, गत वर्ष आइपुग्दा भने बढेर ६ अर्ब ७७ करोड ५५ लाख रुपैयाँ कायम भएको छ ।
रिलायवल नेपालसहित चार वटा कम्पनीहरुको बाँकी दावी भुक्तानी घटेको छ । तर, अन्य कम्पनीको भने बढेको देखिन्छ ।
गत वर्ष राष्ट्रिय जीवन बीमा दावी भुक्तानी शून्य देखिएको छ । यता, रिलायवल नेपाल लाइफको पनि ३३.०९ प्रतिशत घटेर ३ करोड ४ लाख रुपैयाँ कायम भएको छ ।
यस्तै, मेट लाइफको भुक्तानी हुन बाँकी दावी रकम पनि ५.६९ प्रतिशत घटेर ५१ करोड ६ लाख, हिमालयन लाइफको ३.१४ प्रतिशत घटेर १४ करोड २९ लाख र आइएमई लाइफको ०.३ प्रतिशत घटेर ३२ करोड ३० लाख रुपैयाँ कायम भएको छ ।
विवरणअनुसार गत वर्ष सबैभन्दा ठुलो रकम भुक्तानी हुन बाँकी नेशनल लाइफको देखिएको छ । कम्पनीको २ अर्ब ५१ लाख बढी रकम भुक्तानी हुन बाँकी देखिएको हो ।
दोस्रो धेरै भने नेपाल लाइफकै देखिएको छ । कम्पनीको २ अर्ब २ करोड २४ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ ।
यस्तै, एलआइसी नेपालको पनि ९९ करोड २७ लाख, सानिमा रिलायन्सको ४१ करोड ६४ लाख, सिटिजन लाइफको १२ करोड ४८ लाख, एशियनको ७ करोड १८ लाख, सन नेपालको २ करोड ६ लाख र प्रभू महालक्ष्मी लाइफको १ करोड ९० लाख रुपैयाँ बाँकी देखिएको छ ।
भुक्तानी हुन बाँकी रकम कुन कम्पनीको कति ? (रकम हजारमा)














