तीनदिने अन्तर्राष्ट्रिय ‘इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स’ प्रदर्शनी सुरु, उद्योग मन्त्री भण्डारीले गरे उद्घाटन - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

तीनदिने अन्तर्राष्ट्रिय ‘इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स’ प्रदर्शनी सुरु, उद्योग मन्त्री भण्डारीले गरे उद्घाटन



काठमाडौं । भृकुटीमण्डपमा आजदेखि ‘इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु भएको छ।

शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मेलाकाे उद्घाटन गरेका छन् भने विभिन्न स्टलहरुको अवलोकन समेत गरेका छन् ।

मिडिया स्पेस सोल्युसन्स, फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स तथा एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इण्डिया प्रालिले संयुक्त रुपमा आयोजना गरेको यो नेपाल इलेक्ट्रिक पावर एण्ड लाइटस् तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनीको चौथो संस्करण हो।

यो प्रदर्शनी आइतबारसम्म चल्नेछ । यस प्रदर्शनीमा नेपाल विद्युत प्राधिकरण र नेपाल सौर्य विद्युत उत्पादक संघ सहआयोजकका रूपमा रहेका छन्।

तीन दिनसम्म चल्ने प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीका करिव ५० भन्दा बढी स्टल रहेका छन् । सहभागी कम्पनीहरूले ट्रान्समिसन तथा डिस्ट्रीब्युसन सामग्री, उर्जा आपूर्ति तथा कन्ट्रोल डिभाइस, हाउस वायरिङ, तार, केबल, कन्डक्टर, अत्याधुनिक स्विच, एलईडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरायसी विद्युतीय सामग्री, चार्जिङ स्टेशन, ब्याट्री तथा कार्यालय प्रयोजनका उपकरण प्रदर्शनीमा राखेका छन् ।

प्रदर्शनीले मुलुकमा बढ्दो जलविद्युत उत्पादनको खपतमा वृद्धि गर्दै उर्जा तथा विद्युतीय व्यवसायको समग्र विकास, व्यापार प्रवद्र्धन तथा आन्तरिक र अन्तर्राष्ट्रिय व्यवसायीबीच सहकार्यलाई प्रोत्साहन गर्ने आयोजकले जनाएको छ ।

चाँडपर्वलाई लक्षित गरी आयोजना गरिएको प्रदर्शनीमा ग्राहकले विभिन्न ब्राण्डका नयाँ इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सेस सामान एकै स्थानमा अवलोकन र खरिद गर्न सक्नेछन्।

विद्युतीय उपकरण प्रवद्र्धन, गुणस्तरीय सामग्रीको पहुँच विस्तार, वैकल्पिक उर्जा र सूचना प्रविधि क्षेत्रमा भएका नयाँ उपलब्धी आदान–प्रदान गर्ने उद्देश्यसहित आयोजना हुने यो प्रदर्शनीले विद्युत् क्षेत्रका उद्यमी तथा उपभोक्ताबीच पुलको काम गर्ने आयोजकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्