एक महिनामा साढे १९ अर्ब बढीको जीवन बीमा व्यापार, कुन कम्पनीले कति कलेक्शन गरे प्रिमियम ?
काठमाडौं । एकै महिनामा जीवन बीमा कम्पनीहरुले साढे १९ अर्ब बढीको व्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरणले शुक्रबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२–८३ को साउन महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।
साउनमा कम्पनीहले १९ अर्ब ६५ करोड ३३ लाख ५५ हजार रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् । साउनमा कम्पनीहरुले २ लाख ८४ हजार १७६ वटा बीमालेख जारी गरेका छन् । सोही बीमालेख बिक्री कम्पनी सो बराबरको बीमा शुल्क आर्जन गरेका हुन् ।
साउनमा कम्पनीहरुले कुल ३ अर्ब २७ रकोड २४ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय गरेका छन् । यता, नविकरण मार्फत भने १६ अर्ब २३८ करोड ८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको विवरणमा उल्लेख छ ।
व्यापारमा नेपाल लाइफ नै अगाडि छ । कम्पनीले एकै महिनामा ६ अर्ब १९ करोड २५ लाख ६९ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीले ७५ हजार ९५३ वटा बीमालेख बिक्री गरि सो बराबरको बीमा शुल्क आर्जन गरेको हो । साउनमा नेपाल लाइफले १ अर्ब ३ करोड ९० लाख रुपैयाँ बराबरको प्रथम बीमा शुल्क र नविकरण मार्फत ५ अर्ब १५ करोड ३४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
दोस्रो स्थानमा रहेको नेशन लाइफले पनि कुल २ अर्ब ४१ करोड ४५ लाख ३६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले साउनमा ४२ करोड ३७ लाख रुपैयाँ नयाँ व्यवसाय भित्र्याएको छ । नविकरण मार्फत भने १ अर्ब ९९ करोड ७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। कम्पनीले २७ हजार ३७१ वटा बीमालेख जारी गरेको देखिन्छ ।
व्यवसायको आधारमा तेस्रो स्थानमा भने लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी) छ । एलआइसी नेपालले एकै महिना २ अर्ब ३ करोड ९९ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । कम्पनीले ४ हजार ११२ वटा बीमालेख बिक्री गरि सो बराबरको बीमा शुल्क आर्जन गरेको हो । कम्पनीले २१ करोड ३५ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय भित्र्याएको छ भने नविकरण मार्फत १ अर्ब ८२ करोड ६४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
यता, हिमालयन लाइफले पनि २ अर्ब २ करोड ८१ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । कम्पनीले साउनमा २३ करोड ८० लाख ६६ हजार रुपैयाँ बराबरको प्रथम बीमा शुल्क र नविकरण मार्फत १ अर्ब ७९ करोड १ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले ४ हजार १७८ वटा बीमालेख बिक्री गरेको देखिन्छ ।
प्राधिकरणका अनुसार सूर्यज्योतिले १ अर्ब २४ करोड ५२ लाख, एशियन लाइफले ९४ करोड ८६ लाख, सिटिजनले ८५ करोड ६४ लाख, सानिमा रिलायन्सले ८१ करेड ९५ लाख, आइएमई लाइफले ६७ करोड ५ लाख, प्रभू महालक्ष्मी लाइफले ६१ करोड ६८ लाख, रिलायबल नेपालले ५८ करोड १७ लाख र मेट लाइफले ५३ करोड ९९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
यता, राष्ट्रिय जीवन बीमा कम्पनीले पनि एकै महिना ४३ करोड ३९ लाख र सन नेपाल लाइफले ३६ करोड ५२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।














