लामो घाटापछि नाफातर्फ ‘टाइगर प्यालेस’ : व्यवस्थापन फेरिएसँगै व्यापारमा फड्को, ७७% बढ्यो कारोबार - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

लामो घाटापछि नाफातर्फ ‘टाइगर प्यालेस’ : व्यवस्थापन फेरिएसँगै व्यापारमा फड्को, ७७% बढ्यो कारोबार



काठमाडौं । कोरोना महामारीले थलिएको ‘टाइगर प्यालेस बाई सोल्टी’ रिसोर्टले व्यापारमा फड्को मारेको छ ।

भैरहवास्थित पाँचतारे रिसोर्टले पछिल्लो समयमा व्यापाक उल्लेख्य बढाएको छ । एकै वर्ष ७७.३१ प्रतिशत व्यापार ग्रोथ गरेको देखिन्छ ।

माहामारीपछि आर्थिक गतिविधि बढेसँगै होटलको व्यापारमा पनि व्यापक सुधार गरेको हो । लामो समय घाटामा रहेको उक्त इन्टिग्रेटेड रिसोर्ट तथा क्यासिनोले सन् २०२५ मा होटलले ४२ करोड २० लाख बढीको व्यापार गरेको छ । यो अघिल्लो वर्ष सन् २०२४ को तुलनामा भने ७१.३१ प्रतिशत धेरै हो । अघिल्लो वर्ष होटलले २३ करोड ८० लाख रुपैयाँ बराबरको व्यापारको गरेको थियो ।

यस्तै, सन् २०२२ मा ७ करोड ६० लाख र सन् २०२१ मा भने १ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।

सन् २०१४ मा स्थापना भएको टाइगर वान प्रा.लि. द्वारा सञ्चालित यो रिसोर्ट नेपालकै पहिलो इन्टिग्रेटेड (एकीकृत) फाइभ स्टार रिसोर्ट तथा क्यासिनो हो, जुन करिब ७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । हाल १०२ कोठा सञ्चालनमा छन् ।

कम्पनीमा सिल्भर हेरिटेज इन्भेस्टमेन्ट प्रा.लि.को १०० प्रतिशत स्वामित्व रहेको छ । गत वर्षदेखि सोल्टी होटलले व्यवस्थापन सम्हालेपछि रिसोर्टको व्यापारमा सकारात्मक परिवर्तन आएको देखिएको छ ।

अघिल्लो नाम ‘टाइगर प्यालेस रिसोर्ट’ बाट पुन: ब्रान्डिङ गर्दै ‘टाइगर प्यालेस बाई सोल्टी’ बनाएपछि ग्राहक आकर्षणमा बढोत्तरी आएको छ, त्यसको प्रभाव सिधै आम्दानीमा देखिन्छ ।

कोभिड–१९ महामारीका कारण लामो समय घाटामा गएको कम्पनीले हाल नाफाको बाटो समातेको छ । सन २०२१ देखि लगातार घाटामा रहेको होटलले २०२५ मा अपरेटिङ नाफा मार्जिन ५२.८ प्रतिशतमा पुर्‍याएको छ । जबकि, अघिल्लो वर्ष १२.२ प्रतिशत रहेको थियो ।

कोभिड कालमा सबैभन्दा बढी प्रभावित भएको क्यासिनो व्यवसायले २०२४ को मध्यदेखि पुन: सञ्चालन सुरु गरेसँगै आम्दानीमा गति आएको हो । क्यासिनो बन्द हुँदा रिसोर्टको समग्र व्यापारमा नै ठूलो असर परेको थियो । तर, हाल पुन: सञ्चालनसँगै विदेशी पर्यटकको चाप बढ्दै जाँदा आयमा सकारात्मक परिवर्तन देखिन थालेको होटलले जनाएको छ ।

वित्तीय दृष्टिकोणले अझै पूर्ण सुधार नदेखाए पनि कारोबार र नाफाको दृष्टिले पुनरुत्थानको संकेत गरेको छ । व्यापारमा सुधार आएपनि बैंक कर्जा सम्बन्धी भने चुनौतीहरू अझै बाँकी छन् ।

कम्पनीले कुल २ अर्ब ४९ करोड रुपैयाँ कर्जाका लागि इक्रा नेपालमा रेटिङ गराएको छ । होटलले दीर्घकालिन तर्फ २ अर्ब २१ करोड रुपैयाँ कर्जाका लागि रेटिङ गराएको छ । यता, २८ करोड रुपैयाँ बराबरको अल्पकालिन कर्जाका लागि रेटिङ गराएको छ । इक्राले कम्पनीलाई दीर्घकालीन कर्जाका लागि ‘एलडी’ र अल्पकालीन कर्जाका लागि ‘डी’ रेटिङ प्रदान गरेको छ ।


प्रतिक्रिया दिनुहोस्