बीमा प्राधिकरण अध्यक्षका लागि आवेदन खुल्यो, सात दिनभित्र गोप्य दरखास्त दिन आह्वान - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बीमा प्राधिकरण अध्यक्षका लागि आवेदन खुल्यो, सात दिनभित्र गोप्य दरखास्त दिन आह्वान



काठमाडौं । नेपाल बीमा प्राधिकरणको रिक्त सञ्चालक समिति अध्यक्ष पद पूर्तिका लागि औपचारिक प्रक्रिया सुरु भएको छ ।

सरकारले गठन गरेको सिफारिस समितिले शनिवार सार्वजनिक सूचना जारी गर्दै खुला प्रतिस्पर्धाबाट अध्यक्ष छनोट गर्न दरखास्त आह्वान गरेको हो ।

मन्त्रिपरिषद्को भदौ ९ गतेको बैठकले तीन सदस्यीय सिफारिस समिति गठन गरेसँगै नयाँ नेतृत्व चयन प्रक्रिया औपचारिक रूपमा अगाडि बढाइएको हो ।

उक्त समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी छन् भने सदस्यमा अर्थ सचिव घनश्याम उपाध्याय र बीमा क्षेत्रका विज्ञ डा. खोमराज खरेल रहेका छन् ।

प्राधिकरणको अध्यक्ष पदपूर्ति खुला प्रतिस्पर्धाबाट हुनेछ । इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सिंहदरबारस्थित अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य ढंगले आवेदन दिन सक्नेछन् ।

अध्यक्ष पदका लागि आवश्यक न्यूनतम योग्यतासमेत स्पष्ट गरिएको छ । बीमा, मौद्रिक, बैंकिङ, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांक, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी सम्बन्धित क्षेत्रमा पाँच वर्षभन्दा बढी उच्च व्यवस्थापकीय अनुभव हासिल गरेका नेपाली नागरिकले दरखास्त दिन सक्नेछन् ।

उम्मेदवारले भ्रष्टाचार नगरेको, कुनै आपराधिक कार्यमा संलग्न नभएको, सरकार वा सार्वजनिक संस्थासँगको लेनदेनमा कालोसूचीमा नपरेको जस्ता नीतिगत शुद्धता सम्बन्धी मापदण्डसमेत पूरा गर्नुपर्नेछ ।

यसअघि तत्कालीन अध्यक्ष शरद ओझालाई गत साउनमा पदमुक्त भएका थिए । त्यसपछि प्राधिकरणको अध्यक्ष पद रिक्त रहेको थियो । अब समितिबाट सिफारिस गरिएका नामहरू सरकार समक्ष पेश हुनेछ । त्यसपछि नयाँ अध्यक्षको औपचारिक नियुक्ति हुनेछ ।


प्रतिक्रिया दिनुहोस्