दशैंमा सुकिला नोट साट्न पाइने, भदौ २९ देखि असोज १० गतेसम्म सटही सुविधा
काठमाडौं । आउँदो दशैंलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सुकिला नोट साट्ने व्यवस्था गरेको छ ।
राष्ट्र बैंकका अनुसार आगामी भदौ २९ गतेदेखि असोज १० गतेसम्म सर्वसाधारण र संस्थाहरूका लागि सुकिला नोट सटही खुला गरिएको हो ।
सुकिला नोटहरु नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज, धनगढी र थापाथलीस्थित केन्द्रीय कार्यालयबाट सञ्चालन हुनेछ ।
यसका साथै बैंक तथा वित्तीय संस्थाहरूका शाखाहरूबाट पनि नोट साट्न सकिनेछ ।
उक्त अवधिमा बैंकिङ कारोबारका समयमा नै सुकिला नोट सटही गर्न सकिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ । दशैंजस्तो ठूला चाडपर्वमा नयाँ तथा सुकिला नोटको माग अत्यधिक हुने गरेको छ ।
राष्ट्र बैंकले हरेक वर्ष नयाँ तथा सुकिला नोट सटही सुविधा प्रदान गर्दै आएको छ । नागरिकहरूलाई सजिलो र व्यवस्थित ढंगले नोट साट्न राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थाहरुले यस्तो सुविधा दिँदै आएका छन् ।














