डिजिटल बीमा पहुँच विस्तारमा ट्रस्ट माइक्रो र सेल पेको सहकार्य
काठमाडौं । ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेड र सेल पे प्रालिबीच ग्राहकहरुलाई डिजिटल प्रविधि मार्फत बीमा सेवा उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेडका उप प्रमुख कार्यकारी अधिकृत विश्वोजन थापा श्रेष्ठ र सेल पे प्रालिका प्रमुख कार्यकारी अधिकृत निरज कुमार शुक्लाले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार, ग्राहकहरूलाई आफ्ना आवश्यकता अनुरूप बीमा शुल्क सम्बन्धी सम्पुर्ण जानकारी अनलाइन मार्फत सेल पेले उपलब्ध गराउने छ ।
सेल पे मार्फत विस्तृत बीमा शुल्कको जानकारी प्राप्त भइ सकेपछि ग्राहकहरुले सेल पे बाट बीमा पोलिसीको लागि अनुरोध गर्नसक्नेछ र ट्रष्ट माइक्रो इन्स्योरेन्सले ग्राहकहरुको अनुरोध बमोजिम बीमा सेवा उपलब्ध गराउनेछ । यसरी ग्राहकहरुले अनलाइनबाट नै बीमाको सेवा प्राप्त गर्न सक्नेछन् ।
यस कदमले डिजिटल माध्यम मार्फत बीमा सेवाको पहुँचलाई थप व्यवस्थित, सरल र परिणाममुखी बनाउने अपेक्षा गरिएको छ।
यस सम्झौता तथा सहकार्यले डिजिटल बीमा प्रविधिमा महत्वपूर्ण कदम चालेको दुवै कम्पनीका प्रतिनिधिहरूको धारणा छ । साथै यसले ग्राहकको विश्वास वृद्धि गर्ने मात्र नभई दुवै कम्पनीलाई दिगो रूपमा फाइदा पुर्याउने अपेक्षा गरिएको छ ।
ट्रस्ट माइक्रो इस्स्योरेन्सले हाल सम्म मोटर, सम्पति, दुर्घटना बीमा सेवा उपलब्ध गराउँदै आएको छ र कृषि बीमा सेवा पनि उपलब्ध गराउने प्रकृयामा रहेको छ ।













