भारत, चिन र अमेरिकाबाट नेपाल घुम्न बढी आए, बढ्यो नेपाली पर्यटन बजार
काठमाडौं । नेपाली पर्यटन बजार बिस्तारै जाग्दैछ । कोरोना महामारीले नमज्जासँग थला परेको यस क्षेत्रले गति लिँदैछ ।
पछिल्लो समय विदेशी पर्यटक आगमन संख्या बाक्लिँदो छ । नेपाल पर्यटक बोर्डले हालै उपलब्ध गराएको पछिल्लो तथ्याङ्कले यस्तो देखाएको हो ।
पछिल्लो एक महिनामै ८८ हजार बढी पर्यटक नेपाल भ्रमणमा आएका छन् । बोर्डका अनुसार सन् २०२५ को अगस्ट महिनामा मात्र ८८ हजार ६८० जना पर्यटक नेपाल भित्रिएका छन् । यो अघिल्लो वर्षको सोही महिनाको तुलनामा २१.९५ प्रतिशत धेरै हो ।
सन् २०२४ को अगस्टमा पनि ७२ हजार ७१९ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए । अघिल्लो महिना जुलाईको तुलनामा पनि थप २६.३३ प्रतिशत पर्यटक बढेका हुन् । बोर्डका अनुसार जुलाईमा ७१ हजार १९३ जना पर्यटक नेपाल भित्रिएका थिए ।
भारत, चीन, अमेरिका लगायतका देशबाट आउने पर्यटकको संख्यामा उल्लेखनीय वृद्धि भएको देखिन्छ । तथ्यांक अनुसार भारतबाट ३५ हजार ५०५ अर्थात ४० प्रतिशत पर्यटक भित्रिएका छन् ।
यस्तै, चीनबाट ७ हजार ५३३ अर्थात ८.५, अमेरिकाबाट ६ हजार ६८ अर्थात ६.८ प्रतिशत, श्रीलंकाबाट ५ हजार ९५६ अर्थात ६.७ प्रतिशत र बंगलादेशबाट ४ हजार २६२ अर्थात् ४.८ प्रतिशत पर्यटक भित्रिएका छन् ।
सन् २०२५ को जनवरीदेखि अगस्तसम्म ८ महिनाको अवधिमा सात लाख ३६ हजार ५६२ पर्यटक भित्रिएका छन् । क्षेत्रगत रुपमा हेर्दा दक्षिण एसियाली (सार्क) मुलकबाट ४७ हजार १३७ पर्यटक अर्थात ५३ प्रतिशत आगमन भएको देखिन्छ । एसियाका अन्य मुलुकमा १५ हजार ७७७ अर्थात् १७.८ प्रतिशत नेपाल भ्रमणमा आएका छन् । यता, युरोपबाट ११ हजार १३२ अर्थात १२.६ प्रतिशत र ओसनियाबाट २ हजार ४३५ अर्थात २.७ प्रतिशत पर्यटक भित्रिएका छन् ।
त्यसैगरी अमेरिकाबाट ७ हजार २९३ अर्थात ८.२ प्रतिशत, मध्यपूर्वबाट ९४४ अर्थात १.१ प्रतिशत, अफ्रिकाबाट ३२२ अर्थात् ०.४ प्रतिशत र अन्य मुलुकबाट ३ हजार ६४० अर्थात् ४.१ प्रतिशत पर्यटक आगमन भएको छ ।

कोरोना महामारीले थला परेको नेपालको पर्यटन क्रमशः पुनर्रुत्थानको क्रममा रहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले बताएका छन् । उनले भने,‘भारतबाट एयर इण्डिया एक्सप्रेस थपिँदा पनि भारतबाट आउने पर्यटकको संख्या वृद्धि भएको देखिएको छ । अबको अवधि निरन्तर पर्यटक आगमन वृद्धि हुनेमा आशावादी छौं ।’
बोर्डका अनुसार सन् २०२५ को पहिलो महिना अर्थात् जनवरीमा ७९ हजार ९९१ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएको थिए । यस्तै, फेब्रुअरीमा ९६ हजार ८८० जना, मार्चामा १ लाख २१ हजार ६८७ जना, अप्रिलमा १ लाख १६ हजार ४९० जना, मे मा ८६ हजार २१६ जना र जुनमा ७६ हजार ४२५ जना पर्यटक नेपाल घुम्न आएका थिए ।
कुन देशबाट कति आए ?














