निर्माण क्षेत्रमा फेरी आयो गति, कर्जाको बहावले देखायो सुधारको संकेत
काठमाडौं । अर्थतन्त्रको मेरुदण्ड मानिने निर्माण क्षेत्र लामो सुस्ततापछि पुन: ब्यूँझन थालेको छ ।
विगत केही वर्षदेखि थालिएको आर्थिक शिथिलता, बैंक कर्जाको अभाव तथा सरकारी भुक्तानीको ढिलाइले निर्माण व्यवसायीहरूको विश्वास नै खस्किएको थियो ।
ठूला पूर्वाधारहरू ठप्प जस्तै हुँदा निर्माण क्षेत्र गम्भीर संकटमा परेको थियो । तर, अब बैंकहरूको कर्जा प्रवाहमा आएको उल्लेखनीय वृद्धिले यो क्षेत्र फेरि चलायमान हुन थालेको संकेत दिएको छ ।
नेपाल राष्ट्र बैंकले हालै उपलब्ध गराएको गत आर्थिक वर्ष २०८१–८२ को वार्षिक तथ्याङ्कले यस्तो देखाएको हो । निर्माण क्षेत्रमा वाणिज्य बैंकहरूले प्रवाह गर्ने कर्जा दोहोरो अंकमा वृद्धि भएको छ । एक वर्षको अवधिमा बैंकहरुले थप २१ अर्ब १४ करोड बढी लगानी थपेका छन् ।
केन्द्रिय बैंकका अनुसार यस क्षेत्रमा अघिल्लो वर्ष कूल १ खर्ब ८२ अर्ब ८६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । तर, गत वर्ष आइपुग्दा भने ११.५७ प्रतिशत बढेर २ खर्ब ४ अर्ब ८८ लाख रुपैयाँमा पुगेको छ ।
कर्जा वृद्धिलाई आर्थिक सुधारको सूचक मानिएको छ । निजी लगानीकर्ता तथा निर्माण व्यवसायीहरू अझै पूर्ण रूपमा सक्रिय नभए पनि लगानीको वातावरण विस्तारै सकारात्मक हुँदै गएको देखिएको छ । सडक, पुल, जलविद्युत परियोजना, सरकारी भवन जस्ता ठूला पूर्वाधारमा निजी क्षेत्रको सहभागीता बढाउने संकेत पनि देखिन थालेका छन् ।
अधिकांश बैंकहरुले निर्माण क्षेत्रलाई थप गतिशिल बनाउन तातिएका छन् । गत वर्षको आँकडा अनुसार ३ वटा बाहेक सबै बैंकहरुले निर्माण क्षेत्रमा कर्जा प्रवाह बढाएका छन् ।
निर्माण क्षेत्रमा सबैभन्दा ठुलो लगानी नबिल बैंकको छ । बैंकले हालसम्म निर्माण क्षेत्रमा कुल २४ अर्ब ८२ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । नबिल बैंकले यस क्षेत्रमा अघिल्लो वर्षसम्म भने २३ अर्ब ३७ करोड ३६ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।
दोस्रो ठुलो लगानी एनआइसी एशिया बैंकको २२ अर्ब ४ करोड ३५ लाख रुपैयाँ छ । बैंकले अघिल्लो वर्षको तुलनामा भने २९.२२ प्रतिशत लगानी बढाएको छ । अघिल्लो वर्षसम्म बैंकल यस क्षेत्रमा १७ अर्ब ५ करोड बढी लगानी गरेको थियो ।
यता, निर्माण क्षेत्रमा लक्ष्मी सनराइज बैंकको पनि १९ अर्ब ८६ करोड ७२ लाख रुपैयाँ लगानी देखिएको छ । यो अघिल्लो वर्षको तुलनामा भने १८.५२ प्रतिशत धेरै हो ।
निर्माण क्षेत्रमा कर्जा लगानी बढाउन भने एभरेष्ट बैंक अगाडी छ । बैंकले एकै वर्ष यस्तो शीर्षकको कर्जा ४३.१३ प्रतिशत बढाएर ३ अर्ब ८९ करोड रुपैयाँ पुर्याएको छ । यता, प्रतिशतकै आधारमा भने एनएमबि बैंक दोस्रो सूचीमा छ । बैंक निर्माण क्षेत्रमा प्रवाह हुने कर्जा ४०.१९ प्रतिशत बढाएको देखिन्छ ।
निर्माण क्षेत्रमा प्रवाह हुने कजा सिटिजन्स बैंकको ३१.२४ प्रतिशत, प्राइमको २८.५२ प्रतिश, ग्लोबल आइएमईको १८.४८ प्रतिशत, माछापुच्छ्रेको १७.६० प्रतिशत, नेपाल बैंकको १४.७९ प्रतिशत, हिमालयनको १३.०७ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको १२.०७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि ८.०२ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्डको २.९० प्रतिशत, कृषि विकास बैंकको १.१६ प्रतिशत र सानिमाको ०.७६ प्रतिशत बढेको छ ।
तर, अघिल्लो वर्षको तुलनामा नेपाल एसबिआई, सिद्धार्थ र कुमारी बैंकको लगानी भने घटेको छ । अघिल्लो वर्षको तुलनामा यी बैंकहरुको निर्माण क्षेत्रमा प्रवाह कर्जा क्रमश: ४७.२० प्रतिशत, ९.०४ प्रतिशत र ७.७७ प्रतिशत घटेको छ ।
कुन बैंकले कति दिए कर्जा ? (रकम लाखमा)














