के नेपालका जलविद्युत् आयोजनामा भएको लगानी जोखिममा धकेलिँदै छ ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

के नेपालका जलविद्युत् आयोजनामा भएको लगानी जोखिममा धकेलिँदै छ ?



काठमाडौँ । अहिले पनि नेपालका बैंक तथा वित्तीय संस्थाले करीब ४ खर्ब रुपैयाँ कर्जा जलविद्युत् आयोजनाहरुमा लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकले जलविद्युत् क्षेत्रमा वाध्यात्मक लगानी गर्नुपर्ने व्यवस्था गरेपछि सबैभन्दा प्रभावकारी विकास भएको क्षेत्र पनि यही हो ।

तर अब कथाले कोल्टे फेर्न थालेको छ । प्रविधिको विकासमा देखिएको तीव्र बदलावले बैंकहरु नयाँ जलविद्युत् आयोजनामा लगानी विस्तार गर्ने पछिल्लो दशकको सहज नीतिमाथि पुनर्विचार गर्न थालेको पाइएको छ ।

प्राइम कमर्शियल बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धर भन्छन्, ‘सौर्य ऊर्जाको लागतमा आइरहेको कमीले जलविद्युत् क्षेत्रलाई जोखिममा पार्न सक्छ । त्यसैले हामी अहिले साना परियोजनामा मात्रै थोरैथोरै लगानी गरिरहेका छौँ । ठूलो लगानी गर्न बन्द गरिसकेका छौँ ।’

देशमा जलविद्युत् आयोजनाको विकास गर्नुपर्छ भनेर पहाडका कन्दराहरुमा खोलाको बगर धितो राखेर अर्बौं ऋण दिन थालेको एउटा पायोनियर बैंकले यसरी आफ्नो धारणा बदल्नुले नेपालमा जलविद्युत् आयोजनाहरुको भविष्यमाथि प्रश्न खडा भएको छ ।

समस्याका चाङ

पछिल्लो समय नेपालमा जलविद्युत् क्षेत्रको लगानी जोखिम उन्मुख रहेको भनेर विभिन्न तह र तप्कामा चर्चा हुन थालेको छ ।

निजी ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)ले सरकारद्वारा पछिल्लो समय ल्याएका कतिपय कानूनी व्यवस्थाहरुका कारण जलविद्युत् क्षेत्र समस्यामा पर्नसक्ने भनेर ‘हारगुहार’ गरिरहेको छ ।

सरकारले गर्न खोजेका कतिपय व्यवस्थाको कार्यान्वयन नहुने हो भने सर्वसाधारण सेयर लगानीकर्ताको सम्पत्ती डुब्नसक्ने भनेर पनि कतिपयले तर्क गर्दै आएका छन् ।

जलवायु परिवर्तनले निम्त्याउने प्राकृतिक प्रकोप तथा वर्षातको प्रवृत्तिमा बदलाव एवम् जलस्रोतको समस्या बढ्दै जाँदा भविष्यमा जलविद्युत् आयोजनाहरु ज्यादा समस्यामा पर्ने चिन्ता अर्कातिर छ ।

यसैबीच सौर्य ऊर्जा प्रविधिमा आएको ब्यापक बदलाव र त्यसको खर्च कटौतिले जलविद्युत् आयोजनाहरुको भविष्य थप जोखिमपूर्ण रहेको देखिएको छ ।

विश्व बजारमा अहिले सौर्य ऊर्जाको लागत ब्यापक मात्रामा घटिरहेको छ । केही वर्ष अघिसम्म सूर्यबाट आएको प्रकाशलाई विद्युत् ऊर्जामा बदल्ने सामथ्र्य (इफिसियन्सी) ९ देखि ११ प्रतिशतमात्रै थियो । तर नयाँ प्रविधिले कम्तिमा पनि २० देखि २३ प्रतिशत ऊर्जालाई विजुलीमा बदल्ने अवस्था आएको छ ।

सौर्य ऊर्जाको रफ्तार

हालै भइरहेका परीक्षणहरुमा २८ प्रतिशतसम्म ऊर्जालाई विद्युतमा रुपान्तरण गर्नसक्ने सौर्य प्यानलहरु बन्न थालेका छन् । प्रयोगशाला भित्र त यस्तो ऊर्जा रुपान्तरण क्षमता ४० प्रतिशत हाराहारी पनि पुगेको बताइएको छ ।

सूर्यको किरण धर्तिमा पर्दा १ वर्गामिटर पृथ्वीको सतहमा १ किलोवाट ऊर्जा प्राप्त हुन्छ भन्ने सामान्य अनुमान छ । यस्तो अवस्थामा ११ प्रतिशत ऊर्जा रुपान्तरण हुँदा प्रतिघण्टा विजुली उत्पादन ११० वाट हुन्थ्यो । अब त्यत्रै प्यानलले २०० देखि २३० वाटसम्म विजुली उत्पादन गर्ने भएको छ ।

सोलार प्यानलको भाउ पनि लगातार घटिरहेको छ । त्यसैले अहिले घरको छतमा सौर्य ऊर्जा जडान गर्नुपर्यो भने प्रतिमेगावाट खर्च ४ देखि साढे ४ करोड रुपैयाँ भए पुग्ने भएको छ । जग्गा किनेर सौर्य ऊर्जा उत्पादन गर्नुपर्ने अवस्थामा पनि ५ देखि ६ करोड रुपैयाँ प्रतिमेगावाट लागतमा सौर्य ऊर्जा उत्पादन हुने अवस्था छ ।

यसका लागि लामो समय पनि कुर्नु पर्दैन । ६ महिनादेखि १ वर्षमा विजुली बेच्ने अवस्था आउँछ । यसमा अहिलेसम्मको एउटै समस्या भनेको विजुलीको भण्डारण हो । दिउँसो घाम लागेको बेलामा मात्रै उत्पादन हुने सौर्य ऊर्जालाई भण्डारण गर्न ठूलो क्षमताको ब्याट्री जडान गर्नुपर्ने हुन्छ । अहिले ब्याट्रको लागत प्रतिमेगावाट १० करोड हाराहारी पर्ने अवस्था छ ।

ब्याट्रीको लागत घट्ने अनुमान

तर ब्याट्री प्रणालीमा भइरहेको अनुसन्धान र विकाशले निकट भविष्यमै यसको लागत घट्नसक्ने अनुमान गरिएका छन् । ब्याट्रीको लागत घट्ने हो भने सौर्य ऊर्जाबाट प्रतिमेगावाट १२ देखि १५ करोडमै विजुली उपलब्ध हुने अवस्था आउँछ ।

तर अहिले पनि निजी क्षेत्रबाट बनिरहेका जलविद्युत् आयोजनाको प्रतिमेगावाट उत्पादन लागत २० करोडभन्दा माथि छ । त्यसमाथि प्राकृतिक प्रकोपको समस्याहरुसँग जुध्न निरन्तर ठूलो धनराशी खर्चनुपर्ने अवस्था आएको छ ।

यिनै कारणले अब विस्तारै नेपालमा जलविद्युत् आयोजनाको विजुली महँगो पर्न जाने र यस्ता आयोजनाहरुमा भएको लगानी जोखिममा पर्नसक्ने अड्कलबाजी सुरु भएको छ ।


प्रतिक्रिया दिनुहोस्