इन्टरनेट सेवा प्रदायकलाई २६ सामाजिक सञ्जाल बन्द गर्न प्राधिकरणको निर्देशन
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले देशमा चलिरहेको २६ वटा चर्चित सामाजिक सञ्जाल प्लेटफर्म माथि कडा कदम चालेको छ ।
बिहीबार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक (आइएसपि) हरूलाई ती प्लेटफर्महरू तत्काल बन्द गर्न निर्देशन दिएको छ ।
सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको मन्त्रीस्तरीय निर्णयपछि, नेपालमा दर्ता प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका सामाजिक सञ्जालहरूलाई निष्क्रिय पार्न भनिएको हो ।
प्राधिकरणद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न बनेको निर्देशिका २०८० र मन्त्रालयको हालैको निर्णय अनुसार सूचीकरणमा नआएका प्लेटफर्महरू बन्द गर्न आदेश दिइएको छ ।’
फेसबुक, मेसेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, एक्स (ट्विटर), लिंक्डइन, स्न्यापच्याट, रेडिट, डिस्कोर्ड, पिन्टेरेस्ट, सिग्नल, थ्रेड्स, वीच्याट, क्वोरा, क्लबहाउस, टम्बलर, मास्टोडन, रुम्बल, मीवी, भीके, लाइन, इमो, जालो, सोल र नेपाली एप ‘हाम्रो पात्रो’ लगायतका प्लेटफमहरु बन्द हुने सूचीमा छन् ।
इन्टरनेट सेवा प्रदायकहरूले प्राधिकरणको आदेश अनुसार अब ती प्लेटफर्महरूमा प्रयोगकर्ताको पहुँच अवरुद्ध गर्नेछन् ।













