मेल्टिङ प्लान्टबाट उत्पादन विस्तार गर्दै काठमाडौं स्टिल : २९% बढायो व्यापार, साढे ४ अर्बको कर्जा रेटिङ - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

मेल्टिङ प्लान्टबाट उत्पादन विस्तार गर्दै काठमाडौं स्टिल : २९% बढायो व्यापार, साढे ४ अर्बको कर्जा रेटिङ



काठमाडौं । केही वर्ष यता नेपाली स्टिल उद्योगमा सुस्त देखिएको व्यापारिक गतिमा फेरि चलायमान बन्न थालेको छ । हाल नेपालमा संचालित विभिन्न उद्योगहरुको व्यापारिक आँकडाले यस्तो देखाएको हो ।

भाटभटेनी समूहका सञ्चालक तथा व्यवसायी मीनबहादुर गुरुङले प्रवद्र्धन गरेको काठमाडौं स्टिलको व्यापार पनि उकालो लागेको छ । आर्थिक मन्दीले सुस्ताएको उद्योगको व्यापारले पुन: गति लिएको छ ।

काठमाडौं स्टिलले ९ महिनामै झन्डै साढे २ अर्बको कारोबार गरेको छ। आर्थिक वर्ष २०२४–२५ को ९ महिनामा कम्पनीले २ अर्ब ३४ करोड १० लाख रुपैयाँको व्यापार गरेको हो । यो गत वर्षको तुलनामा भने २८.८४ प्रतिशत बढी हो । गत वर्ष सन् २०२४ मा कम्पनीले १ अर्ब ८१ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।

कम्पनीको व्यापार स्न २०२१ पछि लगातार घटेको थियो । पछिल्ला वर्षहरूमा घट्दो क्रममा देखिएको वार्षिक व्यापार फेरी उकालो लागेको हो । सन् २०२३ मा १ अर्ब ७० करोड ३० लाख रुपैयाँ बराबरको कारोबार गरेको कम्पनीले सन् २०२२ मा २ अर्ब २३ ६० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यसअघि सन् २०१ मा भने ३ अर्ब ६३ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो ।

चालु आवमा पनि कम्पनीले ३ अर्ब बढीको कारोबार गर्ने अनुमान गरिएको छ । काठमाडौं स्टिल सन् २००९ मा स्थापना भई सन् २०१३ देखि व्यवसायिक उत्पादन सुरु गरेको थियो ।

हाल कम्पनीले डण्डी र बाइन्डिङ तार उत्पादन तथा बिक्री गर्दै आएको छ । भारतबाट आइरन बिलेट आयात गरेर उत्पादित सामान नेपाली बजारमा आपूर्ति गरिन्छ । वार्षिक १ लाख ५० हजार मेट्रिक टन डण्डी उत्पादन गर्ने क्षमता भएको यस उद्योगले नयाँ प्रविधिसहितको मेल्टिङ प्लान्ट पनि स्थापना गर्ने तयारीमा छ ।

उद्योगको मूल्य अभिवृद्धि बढाउन कम्पनीले अहिले १ अर्ब ७७ करोड १० लाख रुपैयाँको लगानीमा मेल्टिङ प्लान्ट निर्माण थालिसकेको छ । प्लान्टमा ८० प्रतिशत कर्जा र २० प्रतिशत इक्विटी रहनेछ भने हालसम्म ११ प्रतिशत लगानी खर्च भइसकेको छ । बाँकीका लागि बैंकहरूसँग कर्जा प्रक्रिया अगाडि बढाइएको कम्पनी स्रोतले जनाएको छ ।

कम्पनीले ४ अर्ब ६१ करोड १४ लाख रुपैयाँ कर्जाका लागि रेटिङ गराएको छ । इक्रा नेपालका अनुसार दीर्घकालिन तर्फ २ अर्ब १७ करोड ६४ लाख रुपैयाँ र अल्पकालिन तर्फ २ अर्ब ४३ करोड ५० लाख रुपैयाँ कर्जाका लागि रेटिङ गराएको हो ।

कम्पनीमा भाटभटेनी समूहको प्रमुख लगानी छ । कम्पनीको स्वामित्व संरचनामा २० प्रतिशत सावित्री घले (गुरुङकी पत्नी), १९ प्रतिशत मीनबहादुर गुरुङ र १८ प्रतिशत भाटभटेनी सुपरमार्केट रहेको छ ।


प्रतिक्रिया दिनुहोस्