भदौ २४ को दंगाले बीमा क्षेत्रमा धरमर, ५० अर्बभन्दा बढीको दाबी आउनसक्ने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

भदौ २४ को दंगाले बीमा क्षेत्रमा धरमर, ५० अर्बभन्दा बढीको दाबी आउनसक्ने



काठमाडौँ । मंगलबार जेनजी आन्दोलनका क्रममा भएको निजी सम्पत्तीमाथिको अतिक्रमणले निर्जीवन बीमा कम्पनीहरुमा ५० अर्ब रुपैयाँभन्दा माथिको दाबी आउनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

हालसम्म देखिएका क्षतिको आधारमा हिल्टन होटेल, भाटभटेनी, एनसेल, सिजी इलेक्ट्रोनिक्स, ग्लोबल कलेज, युलेन्स स्कूल, थापाथलीको सेन्ट्रल विजनेश पार्कजस्ता कर्पोरेट बिल्डिङहरुमा क्षति पुगेको छ । यसबाहेक पनि कयौँ व्यवसायीको घर तथा आवासमा क्षति पुर्याइएको छ । सवारी साधनको क्षति सबैभन्दा बढी छ ।

विनोद चौधरीको रविभवन स्थित निजी घरमा पनि आगजनी र लुटपाट भएको छ । सीजी मोटर्सको थापाथली स्थित शोरुममा आंशिक क्षति भएको छ । त्यस्तै सतुङ्गलको सीजी इलेक्ट्रोनिक्समा पनि ठूलो क्षति पुगेको छ ।

भाटभटेनीको नक्शाल स्टोरमा आलो लगाइएको थियो । महाराजगञ्ज, चितवन लगायनका देशका विभिन्न स्थानमा रहेका स्टोरमा लुटपाट भएको छ । अझै देशभरबाट सबै विवरण प्राप्त भइनसकेको भाटभटेनी सुपरस्टोरका प्रमुख कार्यकारी अधिकृत पानु पौडेलले जानकारी दिए ।
चन्द्रागिरि र मौलाकालिकामा भएका केबलकार आयोजनामा पनि थोरै क्षति पुगेको भनिएको छ । पूर्वको शहर इटहरीमा पनि ठूलो भौतिक क्षति भएको विवरणहरु आएका छन् । ठाउँठाउँमा गाडीका शोरुमहरुमा ढुंगा हानिरहेका भिडियो सामाजिक सञ्जालमा फैलिएका छन् ।

अहिले नै क्षतिको आँकलन गर्न कठीन छ । देशैभरी नेपाली सेनाले लगाएको कर्फ्युका कारण पनि रिपोर्टिङ भइरहेको छैन । अहिलेसम्म देखिएका क्षतिको सामान्य अनुमान गर्दा ५० अर्बभन्दा बढीको दाबी आउनसक्ने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीईओ वीरेन्द्र वैदवारले अर्थपथलाई बताए ।

यसमा पनि ठूलो क्षति भएको देखिएको नक्साल भाटभटेनी र एनसेलको बीमा शिखर इन्स्योरेन्ससँग छ । हिल्टन होटेलको बीमा ओरियन्टल इन्स्योरेन्सले गरेको छ । यस्ता बीमा कम्पनीहरुले आफ्नो जोखिम पुनर्बीमामा सार्ने गर्छन् । तर पुनर्बीमाले राम्रोसँग पैसा तिर्न नसकेमा नेपाली बीमा बजारले यो दाबी थेग्न सक्दैन ।

नेपालमा निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७९÷८० मा ४० अर्ब ३४ करोड प्रिमियम उठाएर २० अर्ब ७१ करोड दाबी भुक्तानी गरेका थिए । आर्थिक वर्ष २०८०÷८१ मा ४१ अर्ब ४७ करोड प्रिमियम उठाएर १७ अर्ब ९० करोड दाबी भुक्तानी गरेका थिए ।

तर अब यस्तो दाबीको अंक एक्कासी उचालिन देखिएको छ । नेपाल बीमक संघका पूर्वअध्यक्ष चङ्की क्षेत्रीले पनि २०७२ सालको भूकम्पमा भन्दा मंगलबारको क्षतिले ज्यादा रकम बीमा दाबी आउने संभावना रहेको बताए । तर अहिले नै अंकका बारेमा भन्न कठीन भएको उनले बताए ।

मंगलबारको घटनासँग जोडेर दाबी गर्दा ‘हुलदंगा आतंकवाद’ शीर्षकमा दाबी गर्नुपर्ने हुन्छ । यो शीर्षकमा नेपालमा असाध्यै कम प्रिमियम लिने गरिएको थियो । नेपालमा बीमा कम्पनीहरुले ‘हुलदंगा आतंकवाद’का लागि असाध्यै ‘सुरक्षित’ ठान्दै आएका थिए ।

त्यसैले १ करोड रुपैयाँको बीमा गर्दा ‘हुलदंगा आतंकवाद’का लागि करीब ३०० रुपैयाँ हाराहारी मात्रै प्रिमियम तिरिएको हुन्छ । यति कम प्रिमियमा दशौँ अर्ब बीमा दाबी भुक्तानी गर्नुपर्ने अवस्था आएमा बीमा कम्पनीहरु नराम्रोसँग थला पर्ने छन् ।

यसको अर्को जोखिमचाहीँ पुनर्बीमामा छ । ‘हुलदंगा आतंकवाद’को पुनर्बीमा गर्ने अधिकार सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनीलाई मात्र छ । विगतमा बीमा प्राधिकरणले नै उक्त ‘प्रडक्ट’लाई आधा–आधा पारेर नेपाल–रि र हिमालयन–रिलाई बाँड्न खोजेको थियो ।

त्यसबेला कहिल्यै दाबी तिर्नु नपर्ने ‘ढुक्कको’ व्यवसाय बाँडिदिन प्राधिकरण लागिपरेको भनेर आरोप पनि खेप्नु परेको थियो । तर अब अहिलेको दाबी नेपाल रिले तिर्न सक्छ कि सक्दैन, उसले पनि पुनर्बीमा गरेको छ कि छैन भन्ने सवालहरु अझै अनुत्तरित छन् ।

तर महत्वपूर्ण कुरा के हो भने, नेपाल पुनर्बीमा कम्पनीले १०० रुपैयाँ दाबी तिर्यो भने ४० रुपैयाँ सरकारको खल्तिबाट जान्छ । यो कम्पनीमा नेपाल सरकारको ४० प्रतिशत हिस्सेदारी छ । अब बीमा कम्पनी र पुनर्बीमा कम्पनीले पनि हात उठाइदिए भने बाँकी दायित्व सरकारले तिरिदिनुपर्ने अवस्था आउन सक्छ ।

अहिले सरसर्ती अनुमान गर्दा हिल्टन होटेलमै ७–८ अर्बको दाबी आउने संभावना बीमा क्षेत्रका जानकारले देखेका छन् । भाटभटेनीमा प्रतिस्टोर १ अर्बको औसत दाबी आयो भने ५ अर्बभन्दा बढी त्यहीँबाट आउन सक्छ । एनसेलले पनि ८–१० अर्बको दाबी गर्न सक्ने संभावना छ ।

सीजीले कम्तिमा ८० करोड दाबी गर्नसक्ने बीमा क्षेत्रका जानकार बताउँछन् । ग्लोबल कलेज, विजनेश पार्क र चन्द्रगिरिको पनि दाबी आउनेवाला छ । गाडी र निजी घरहरुको दाबी पनि उत्तिकै आउनेवाला छ । यस्तो ‘कोरा’ अनुमानका आधारमा ५० अर्ब हाराहारीको दाबी देखिएको हो ।

तर वास्तवमै यस किसिमको बीमाले समेट्ने खालको दाबी कति आउँछ र त्यसमध्ये कति क्षतिको मूल्यांकन हुन्छ भन्ने हेर्न बाँकी छ ।


प्रतिक्रिया दिनुहोस्