जेनजी आन्दोलनको कहर : बीमा कम्पनीमा पर्न थाल्यो दावी, गण्डकीमा मात्रै १ अर्ब १३ करोड, कुनमा कति ?
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको निजी सम्पत्ति माथिको अतिक्रमणको क्षति उपर बीमा कम्पनीहरुमा दावी पर्न थालेको छ ।
क्षति उपर गण्डकी प्रदेश भित्रै १ अर्ब १३ करोड ४० लाख रुपैयाँ बराबरको बीमा दावी पेश भएका छन् ।
नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको भदौ ३० गते सोमबारसम्मको विवरणले यस्तो देखाएको हो । गण्डकीमा डेढ सय बढी दावी पेश भएका छन् ।
क्षति उपर सबैभन्दा धेरै हिमालयन एभरेष्टमा ५० करोड रुपैयाँ बराबरको ९ वटा दावी पेश भएको छ । यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीमा पनि ३५ करोड रुपैयाँ बराबरको ५० वटा दावी पेश भएको प्राधिकरणले जनाएको छ ।
तथ्याङ्क अनुसार राष्ट्रिय बीमा कम्पनीमा ७ करोड, सिद्धार्थ प्रिमियरमा ५ करोड, नेकोमा ४ करोड ४५ लाख, आइजीआइ प्रुडेन्सियलमा ३ करोड १५ लाख, ओरियण्टलमा ३ करोड र सानिमा जिआइसी र युनाइटेड अजोडमा २–२ करोड रुपैयाँ बराबरको दावी पेश भएका छन् । प्रारम्भिक आँकडा अनुसार यी कम्पनीहरुमा क्रमश: २० वटा, १५ वटा, १६ वटा, ३ वटा, १३ वटा, ११ वटा र ६ वटा बीमालेखमा अन्तर्गत दावी पेश भएका छन् ।
प्राधिकरणका अनुसार गण्डकीबाट एनएलजी इन्स्योरेन्समा ८० लाख बराबरको ६ वटा, शिखरमा ७५ लाख बराबरको ५ वटा र नेपाल माइक्रो इन्स्योरेन्समा २५ लाख बराबरको ५ वटा दावी पेश भएका छन् ।
हाल यी बाहेक नेपाल इन्स्योरेन्स, नेशनल, प्रभू, प्रोटेक्टिभ माइक्रो, स्टार माइक्रो र ट्रष्ट माइक्रो इन्स्योरेन्समा भने दावी पेश भएका छैनन् ।
आन्दोलनकै कारण निर्जीवन बीमा कम्पनीहरुमा अरबौं रुपैयाँ बराबरको दावी पर्ने अनुमान गरिएको छ । प्रदर्शनकारीहरुले ठुलो संख्यामा निजी सम्पत्तिमा आगजानी तथा तोडफोड गरेका छन् । हाल कम्पनीहरुले क्षतिको विवरण संकलन गर्दैछन् ।













