पहिरोले कर्णाली र नारायणगढ-मुग्लिन राजमार्ग अवरुद्ध, बीच बाटोमै रोकिए यात्रु - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

पहिरोले कर्णाली र नारायणगढ-मुग्लिन राजमार्ग अवरुद्ध, बीच बाटोमै रोकिए यात्रु



काठमाडाैं । लगातारको वर्षासँगै खसेको पहिरोका कारण देशका दुई प्रमुख राजमार्ग अवरुद्ध भएका छन्।

कर्णाली राजमार्गअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा गएराति ठूलो पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।

जुम्ला सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रकुमार चौधरीका अनुसार पहिरोले राजमार्ग पूर्णरूपमा बन्द भएको छ र पन्छाउन समय लाग्नेछ। गगने खोला क्षेत्र पहिरोका लागि संवेदनशील मानिन्छ, जहाँ यसअघि पनि पटक–पटक राजमार्ग अबरुद्ध हुँदै आएको थियो।

यसैगरी, चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित नारायणगढ–मुग्लिन सडकखण्डमा पनि मंगलबार साँझ ८ः५० बजे पहिरो खस्दा सडक पुनः अवरुद्ध भएको छ। पहिरो पन्छाएर केही सवारीसाधन पार गराइएको भए पनि पुनः पहिरो खसेपछि सडक पूर्णरूपमा बन्द भएको हो।

मुग्लिन इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार अहिले पहिरो हटाउने कार्य जारी छ। एक्साभेटर प्रयोग भइरहेको छ भने थप लोडर र मेसिन लैजाने तयारी गरिएको छ। कम्तीमा २ घण्टा समय लाग्न सक्ने अनुमान गरिएको छ।

त्यस्तै, पृथ्वी राजमार्गको घोप्टे भीरमा पनि पहिरो खसेर सडक एकतर्फी सञ्चालनमा आएको छ। नारायणगढ–मुग्लिन सडककै नाम्सी खोलामा खसेको पहिरो भने पन्छाइएको छ र त्यो खण्ड दुईतर्फी सञ्चालनमा ल्याइएको छ।

हाल पनि पहिरो प्रभावित क्षेत्रमा वर्षा जारी रहेकोले थप पहिरोको जोखिम उच्च छ। राजमार्ग अवरुद्ध हुँदा गन्तव्यतर्फ गएका सवारीसाधन बीच बाटोमै रोकिएका छन् भने यात्रुहरू अलपत्र परेका छन्।


प्रतिक्रिया दिनुहोस्