दुई ‘अटो शो’ले तातेको बजार, एक आन्दोलनले सखाप : खरानीमा यसरी बिलायो ‘थापाथली अटो हब’ - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

दुई ‘अटो शो’ले तातेको बजार, एक आन्दोलनले सखाप : खरानीमा यसरी बिलायो ‘थापाथली अटो हब’



काठमाडौं । केही दिनअघिसम्म राजधानी थापाथली क्षेत्रमा चम्किरहेका नयाँ ब्राण्डका गाडीहरू अहिले जलेको फलाम, खरानी र चिसो सपना बनेर सडक छेउमा लथालिंग छन् ।

‘जेनजी आन्दोलन’ भनेर सुरु भएको प्रदर्शनले दोस्रो दिनमै हिंसात्मक रूप लिएपछि काठमाडौंको ‘अटो हब ठप्प’ भयो, छेदविच्छेद भयो । भदौ २४ गते मध्यदिनमा काठमाडौंको थापाथली क्षेत्र धुवाँले ढाकिएको थियो । यीनै धुवाँले करोडौंको लगानी, सपना र मेहनतलाई खरानी बनाइरहेको थियो । आन्दोलनकै नाममा राजधानीकै प्रमुख अटो बजारका रूपमा चिनिने थापाथलीमा करिब ३० देखि ५० नयाँ गाडी जलेर पूर्णरूपमा नष्ट भएका छन् ।

साउन अन्तिम र भदौ पहिलो साता काठमाडौंमा दुई ठूला अटो शो सम्पन्न भए । जसले, अटो बजारलाई नयाँ उचाइमा पुर्‍याएको थियो । नेपाल मोबिलिटी एक्स्पो र नाडाअटो शोमा ग्राहकको ठूलो सहभागीता थियो । थापाथलीदेखि भृकुटीमण्डपसम्म, शोरुमहरूमा चम्किएका कारहरू, भीडमा नयाँ मोडेल हेरिरहेका उत्साहित युवाहरू, सेल्फी लिँदै अफर सोधिरहेका परिवारहरू यी सबैले नेपालकै दुई ठूला अटो शोलाई ऐतिहासिक बनाएका थिए । अटो शो मार्फत नै ठुलो संख्यामा सवारी साधान बुकिङ भएको थियो । नेपाली अटो बजारमा वर्षदिनमा बिक्री हुने गाडीमध्ये ४० प्रतिशत बढी सवारी यी अटो शो मार्फत नै बिक्रीका लागि बुकिङ्ग भइसकेका थिए ।

अर्कोतर्फ नजिकिँदै दशैं–तिहारको रमाइलो मौसम नजिकिँदै गर्दा गाडी खरिद–बिक्रीमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको थियो । नयाँ मोडेल, विशेष अफर र कर्जा सहुलियतका कारण ग्राहकहरू गाडी किन्न ग्राहक निकै उत्साहित थिए । अटो व्यवसायीहरू यसलाई मुख्य सिजन मान्दै आफ्नो आम्दानीको ठूलो हिस्सा यसै समयमा कमाउने तयारीमा थिए । सवारीसाधन खरिदमा बढ्दो चासोले बजारमा सकारात्मक संकेत देखिएका थिए ।

तर, भदौ २४ गतेको आन्दोलनले अटो बजारलाई एकैछिनमा उथलपुथल बनायो । थापाथली क्षेत्रमा रहेका धेरै अटो शोरुमहरू प्रदर्शनकारीको निशानामा परे । आगजनी, तोडफोड र लुटपाटले बजारको चमक नै मेटिदियो । थापाथली क्षेत्रमा मात्रै ३०–५० नयाँ गाडी पूर्णरूपमा जलेका छन् । आधा दर्जन शोरुममा आंशिक तथा पूर्ण आगलागी भएको छ । केही ठाउँमा लुटपाट र तोडफोडले सम्पूर्ण शोरुमको संरचना नै ध्वस्त भएका छन् । करिब एक साता बितिसक्दा पनि अझै सम्म अटो व्यवसायीहरू स्थलगत निरीक्षण र मूल्यांकनमै छन् ।

सबैभन्दा ठूलो क्षति सीजी मोटर्सलाई पुगेको छ । चौधरी ग्रुप अन्तर्गतका एक्सपेङ, स्मार्ट र एवोन ब्राण्डका गाडीहरू जलेका छन् । आन्दोलनकै कारन सीजी मोटर्सले शोरुम भित्रै १६ युनिट नयाँ गाडी गुमाएको छ । एक एक्सपेङ गाडी आंशिक जलेको भएपनि बाँकी सबै पूर्णरूपमा खरानी भएका छन् । यता, रविभवनस्थित निजी निवासमा समेत आगजनी हुँदा त्यहाँ पार्किङमा रहेका ६ वटा गाडीमध्ये दुईवटा पूर्णरूपमा नष्ट भएको कम्पनीले जनाएको छ ।

थापाथलीस्थित टाटा शोरुममा चार वटा विद्युतीय गाडी पूर्णरूपमा जलेका छन् । त्यति मात्र होइन, आन्दोलनकारीले शोरुमबाट चोरेर लगेका दुई टाटा गाडी पनि त्रिपुरेश्वर र धापासीमा जलेको अवस्थामा फेला परेको कम्पनीको दावी छ । थप तीन गाडीमा आंशिक क्षति पुगेको सिप्रदी ट्रेडिङले जनाएको छ । टाटाको करिब झन्डै एक दर्जन गाडीमा जलेको कम्पनी प्रतिनिधिले जानकारी दिए ।

यी बाहेकका अन्य ब्राण्ड पनि क्षतिग्रस्त छन् । थापाथलीस्थित शोरुममा महिन्द्राको ५ युनिट गाडी जलेको छ । अझै मूल्यांकन बाँकी रहेको अग्नी इन्कर्पोरेटले जनाएको छ । यद्यपि, ३ वटा गाडी भने निकाल्न सफल भएको कम्पनीका प्रतिनिधिले जानकारी दिए । उनका अनुसार महिन्द्राको इभी भने पूर्णरुपमा जलेको थियो ।

यस्तै, सीजी मोटोकर्प अन्तर्गतको सुजुकी शोरुममा ११ वटा गाडीमा क्षति पुगेको छ । कम्पनीका प्रतिनिधिले जानकारी दिए अनुसार सुजुकीका २ गाडी पूर्ण रूपमा जलेका छन् । आधा दर्जन गाडीमा तोडफोड र आंशिक क्षतिको छ ।

यता, हुन्डाईको शोरुममा सीधा आगलागी नभए पनि सिसा फुटाइएको छ । एक गाडीको भित्रबाट आगो लागेर सिट, सनरुफमा क्षति पुगेको छ । थापाथलीमा सिट्रोन, नेटा, जीकर लगायतका अन्य ब्रान्डका गाडीहरूमा आंशिक क्षति भएका छन् ।

गाडी खरिदको मुख्य सिजन मानिने चाडपर्वअघि ग्राहकहरू अहिले बजारबाट टाढा छन् । शोरुम हेर्न र गाडी किन्ने उत्साह कम भएको छ । यसले आगामी महिनाहरूमा बिक्रीमा थप गिरावट आउन सक्ने चिन्ता व्यवसायीहरूमा छ ।

थापाथली बाहेक पोखरा, चितवन लगायतका केही शोरुममा पनि आगजनी र तोडफोडको भएका थिए । क्षतिको ठोस मूल्यांकन भइरहेको छ । तर, पुन:निर्माणमा समय लाग्ने व्यवसायीहरु बताउँछन् । सरकार र सम्बन्धित निकायहरूबाट क्षतिपूर्ति र सुरक्षाको प्रत्याभूति आवश्यक रहेको उनीहरुको तर्क छ ।

अटो व्यवसायीहरू पुन: उकास्न सक्ने वातावरण बनाउन सबै पक्षलाई एकजुट हुनुपर्ने बताउँछन् । दशैं अघि चम्किरहेको अटो बजारमा आएको यो कालो रातले उद्योगलाई मात्रै होइन, हजारौं ग्राहक र उद्यमीहरूको सपना र भरोसा पनि ध्वस्त बनाएको छ । अब यथास्थितिबाट उठेर नयाँ सुरुवात कसरी गर्ने भन्ने चुनौती व्यवसायी र सरकारको सामु खडा छ ।

दुई ठूला अटो शोले उत्साहले बजार तातेको थियो । ब्रान्ड प्रतिस्पर्धा, ग्राहक आकर्षण र वित्तीय अफरहरूका बीचमा बुकिङ संख्या उल्लेखनीय थियो । दसैं–तिहारलाई लक्षित गर्दै ‘बम्पर अफर’ ल्याएका व्यवसायीहरू अब खरानीमा छिचोलेर खातामा क्षति गणना गर्दै छन् । भदौ २४ गतेको घटनाले अटो बजारको मुटु मानिएको थापाथली अहिले शून्यता, तर्सन र त्रासको छायाँमा बाँचेको छ । जहाँ दशैं–तिहार नजिकिँदा उत्सवको रौनक फैलिनुपर्ने थियो, अहिले त्यही ठाउँ शोक, भग्नावशेष र जलिएका सपनाहरूको प्रदर्शनी बनेको छ ।


प्रतिक्रिया दिनुहोस्