जेनजी आन्दोलनको क्षति : अहिलेसम्म बीमा कम्पनीमा २० अर्ब ७० करोडको दावी पेश, कुन कम्पनीमा कति ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

जेनजी आन्दोलनको क्षति : अहिलेसम्म बीमा कम्पनीमा २० अर्ब ७० करोडको दावी पेश, कुन कम्पनीमा कति ?



काठमाडौं । जेनजी आन्दोलनको क्षति उपर निर्जीवन बीमा कम्पनीहरुमा दावी पर्न थालेको छ । गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको क्षतिबाट बीमा कम्पनीहरुमा साढे २० अर्बको दावी परेको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार हाल २० अर्ब ७० करोड ३८ लाख १४ हजार रुपैयाँ बराबरको दावी परेको छ । आन्दोलनमा ठुलो संख्यामा धनजनको क्षति भएको थियो । निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी तथा तोडफोड व्यापाक मात्रमा भएको थियो ।

आन्दोलनले हिल्टन होटेल, भाटभटेनी, एनसेल, सिजी इलेक्ट्रोनिक्स, ग्लोबल कलेज, युलेन्स स्कूल, थापाथलीको सेन्ट्रल विजनेश पार्कजस्ता कर्पोरेट बिल्डिङहरुमा क्षति पुगेको छ । यसबाहेक धेरै व्यवसायीको घर तथा आवासमा क्षति पुर्याइएको छ । सवारी साधनको क्षति सबैभन्दा बढी छ । आन्दोलनमा भएको क्षतिको मूल्यांकन भइसके पनि प्रारम्भिक दावी विवरण भने पेश भएका छन् ।

प्राधिकरणका अनुसार गत भदौ ३१ गतेसम्म १ हजार ९८४ वटा दावी पेश भएका छन् । सबैभन्दा ठुलो दावी ओरियण्टल इन्स्योरेन्स कम्पनीमा परेको छ । कम्पनीमा ५ अर्ब १४ करो ७९ लाख ६५ हजार रुपैयाँ बराबरको दावी पेश भएको छ । कम्पनीमा ४० वटा बीमालेखको दावी परेको हो । हिल्टन होटलमा आगजनीसँगै भएको तोडफोडका कारण ओरियण्टलमा ठुलो रकमको दावी पेश भएको हो ।

यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडमा पनि ४ अर्ब ९३ करोड २२ लाख ७९ हजार ५०० रुपैयाँ बराबरको दावी परेको छ । कम्पनीमा २५८ वटा दावी परेको हो ।

यस्तै, शिखरमा २ अर्ब ३९ करोड ४ लाख ७७ हजार, आइजीआई प्रुडेन्सियलमा १ अर्ब ५९ करोड ६ लाख ८० हजार, सगरमाथा लुम्बिनीमा १ अर्ब ४७ करोड ७५ लाख ३१ हजार, हिमालयन एभरेष्टमा १ अर्ब १५ करोड ६२ लाख ८२ हजा र नेको इन्स्योरेन्समा १ अर्ब ९ करोड ५३ लाख ६५ हजार रुपैयाँ बराबरको दावी परेको छ ।

यता, सानिमा जिआइसीमा पनि ७८ करोड ९३ लाख, राष्ट्रिय बीमा कम्पनीमा ४९ करोड ५१ लाख, युनाईटेड अजोडमा ४८करोड ७४ लाख, नेपाल इन्स्योरेन्समा ४६ करोड ९४ लाख, एनएलजीमा ३८ करोड ५८ लाख, प्रभूमा १९ करोड १८ लाख र नेशनल इन्स्योरेन्समा ६ करोड ८२ लाख रुपैयाँ बराबरको दावी परेको छ ।

प्राधिकरणका अनुसार प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा पनि १ करोड १३ लाख, स्टार माइक्रोमा ६७ लाख, नेपाल माइक्रोमा ५६ लाख र ट्रस्ट माइक्रा इन्स्योरेन्समा ४२ लाख रुपैयाँ बराबरको दावी पेश भएका छन् ।


प्रतिक्रिया दिनुहोस्