कसले गर्ला एनआईसीको आगामी नेतृत्व ?
काठमाडौँ । २०७५ मंसिर १५ मा केवल ३८ वर्षको युवालाई बैंकको नेतृत्व सुम्पिएको एनआईसी एसिया बैंक अब नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) खोज्नुपर्ने अवस्थामा पुगेको छ ।
बैंकका सीईओ रोशन न्यौपानेले बिहीबार विहान राजिनामा बुझाएपछि उनको राजिनामा आजै स्वीकृत भएको छ ।
न्यौपानेले आफ्नी धर्मपत्नीको उपचारका लागि चार महिना नेपाल बाहिर जानुपर्ने भन्दै बिदा मागेका थिए । तर सञ्चालक समितिले त्यति लामो बिदा दिन सम्भव नहुने भनेपछि उनले पदबाट राजिनामा दिएका छन् ।
लगत्तै सञ्चालक समितिले बैंककै डेपुटी सीईओ सन्तोष राठीलाई बैंकको कायममुकायम सीईओमा नियुक्त गरेको छ ।
विगतमा आक्रामक विस्तार गरेर सबैलाई ‘चक्मा’ दिएको यो बैंक मूलतः घरजग्गाको कारोबारमा सुस्ती आउन थालेपछि तीन वर्षयता अप्ठेरो परिस्थितिमा छ ।
यो हालतबाट सुरक्षित अवतरण गराउने नयाँ सीईओको खोजि गर्ने कोसिस सुरु भइसकेको छ ।
मारवाडी समुदायको प्रमुख लगानी भएको यो बैंकमा सोही समुदायको प्रधानता भएका दुई बैंक नबिल र एनएमबीबाट बाहिरिएका सीईओहरु ज्ञानेन्द्रप्रसाद ढुंगाना र सुनिल केसीको नाममाथि पनि चर्चा सुरु भएको छ ।
तर एनआईसीको विगत हेर्दा बाहिरबाट सीईओ लैजानुको साटो भित्रैबाट बढुवा गर्ने प्रबृत्ति देखिन्छ । त्यस्तो अवस्थामा राठीले नै बैंकको नेतृत्व सम्हाल्नेप्रति धेरैको अनुमान देखिन्छ ।













