कमजोरी सच्याउँदै पार्टीलाई नयाँ ढंगले अघि बढाउँछौं : प्रदीप ज्ञवाली - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

कमजोरी सच्याउँदै पार्टीलाई नयाँ ढंगले अघि बढाउँछौं : प्रदीप ज्ञवाली



नुवाकोट । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले विगतका कमजोरी सच्याउँदै पार्टीलाई नयाँ ढंगले अघि बढाउने बताए ।

नुवाकोटमा शुक्रबार एमाले जिल्ला कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले संविधानलाई नेपाली जनताको सात दशक लामो संघर्षको दस्तावेज र राष्ट्रिय एकताको सूत्राधार भएको बताए ।

संविधान बनाउँदा आन्तरिक तथा बाह्य दवाव रहेपनि सार्वभौम जनताका प्रतिनिधिमार्फत जारी गर्न सफल भएको स्मरण गर्दै उनले भूकम्प र नाकाबन्दी जस्ता चुनौतीपछि पनि नेपाली जनताले संविधानलाई आत्मसात गरेको उल्लेख गरे । ‘यो संविधान धेरै प्रगतिशील छ । जारी हुदा तत्कालीन शक्ति सन्तुलनको दस्तावेज पनि हो । यसलाई समयानुकूल परिमार्जन र संशोधन गर्न सकिन्छ,’ ज्ञवालीले भने, ‘तर अहिले संविधान नै संकटमा परेको छ । संविधानले नचिनेको सरकारले चुनाव गर्ने भनेको छ, संविधान जोगाउन चुनाव अपरिहार्य हुन्छ ।’

ज्ञवालीले भदौ २३ र २४ गतेका घटनामा सुरक्षा निकायको भूमिका गम्भीर रूपमा समीक्षा र छानबिन गर्नुपर्ने बताए । ‘सैनिक मुख्यालय नजिकै सर्वोच्च अदालत, सिंहदरबार र राष्ट्रपति कार्यालय जस्ता महत्वपूर्ण निकाय सुरक्षित राख्न नसक्ने सुरक्षा संयन्त्रले स्वतन्त्र र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न सक्छ भन्नेमा संशय पैदा भएको छ,’ उनको भनाइ थियो ।

पार्टी नेतृत्व र कार्यकर्ताबीचको सम्बन्धबारे पनि उनले आत्मालोचनात्मक टिप्पणी गरे । ‘हाम्रा कमजोरी हटाएर अघि बढ्छौं । कतिपय अपेक्षा पूरा गर्न नसकिएका वा गल्ती भएका हुन सक्छन् । तर अब केन्द्रीय कमिटी लगायतका फोरममा छलफल गरेर नयाँ ढंगले अघि बढ्छौं,’ उनले स्पष्ट बनाए ।

भर्खरै पार्टी अध्यक्ष केपी शर्मा ओली सुरक्षाको घेराबाट बाहिरिएको बताउँदै उनले नेतृत्वमाथि विभिन्न कोणबाट प्रहार गर्ने नियोजित प्रयास भइरहेको दाबी गरे । कार्यकर्तालाई यस्ता बहकाउमा नपर्न आग्रह गर्दै उनले भने,‘हामी गम्भीर समीक्षा गरेर अघि बढ्छौं, अहिले नेतृत्वमाथि प्रहार गर्ने भाष्य निर्माण रोकिनुपर्छ ।’


प्रतिक्रिया दिनुहोस्