दुई महिनामै २३६ प्राजेक्टका लागि ३३ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, कृषि र आइटीमै किन बढी चासो ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

दुई महिनामै २३६ प्राजेक्टका लागि ३३ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, कृषि र आइटीमै किन बढी चासो ?



काठमाडौं । दुई महिनामा ३३ अर्ब बढीको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले हालै उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८२–८३ को साउन र भदौ महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।

यी दुई महिनामा करिब ३३ अर्ब ९ करोड २० लाख ५४ हजार रुपैयाँँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको हो । विभागका अनुसार २३६ परियोजनामा सो बराबरको लगानी प्रतिवद्धता आएको हो ।

लामो समयदेखि सुस्त रहेको वैदेशिक लगानी प्रतिवद्धतामा पुन: गति देखिन थालेको छ । पछिल्लो समयको लगानी वातावरणमा सकारात्मक संकेत बन्दै गएको देखिन्छ ।

उद्योग विभागका अनुसार साउनमा १२७ परियोजनामा २४ अर्ब बढीको लगानी प्रतिवद्धता आएको थियो । तर, भदौमा थप १०९ परियोजनामा ८ अर्ब ९८ करोड ७० लाख ५९ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो ।

लगानीमध्ये धेरैजसो कागजी प्रक्रियाबाट आएका छन् । तर, १४३ परियोजना अटोमेटिक रुटमार्फत दर्ता भएको विभागले जनाएको छ । विभागका अनुसार ७ वटा ठुला र ४ वटा मध्यम खालका उद्योगका लागि लगानी प्रतिवद्धता आएको छ । यस्तै, २२५ वटा साना तथा मझौला उद्योगका लागि लगानी प्रतिवद्धता आएको हो । भदौमा मात्रै ५ वटा ठुला, ४ वटा मध्यम र १०० वटा साना तथा मझौला उद्योगका लागि लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ ।

विभागका अनुसार सो अवधिमा १७ प्रविधि हस्तान्तरण सम्झौता तथा शेयर खरिद/सब्स्क्रिप्सनमार्फत थप २ अर्ब ५० करोड लगानी प्रस्ताव आएको छ ।

लगानी प्रतिवद्धता भएका परियोजना संचालनमा आए ३३ हजार ८१४ जनाले प्रत्यक्ष रोजगारी पाउने विभागले जनाएको छ । हालसम्म भने ६ खर्ब ८४ अर्ब ५१ कारेड ४१ लख ७१ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । विभागका अनुसार ७ हजार ४७५ वटा प्रोजेक्टका लागि सो बराबरको लगानी प्रतिवद्धता आएको हो ।

कृषि र सूचना प्रविधि क्षेत्र लगानीकर्ताको प्राथमिक रोजाइ बन्न थालेका छन् । क्षेत्रगत हिसाबले कृषि क्षेत्रमा सबैभन्दा धेरै लगानी प्रतिवद्धता आएको देखिन्छ । सो क्षेत्रमा २१ अर्ब ५९ करोड ८० लाख रुपैयाँ लगानीको प्रतिवद्धता आएको छ । कृषि मुलक ९ वटा परियोजनका लागि सो बराबरको लगानी प्रतिवद्धता आएको हो । नेपालको जैविक विविधता, उब्जनी क्षमताको सुधार र निर्यात योग्य उत्पादनमा देखिएको सम्भावना विदेशी लगानीकर्ताको नजरमा परेको हुन सक्ने जानकारहरु बताउँछन् । यसक साथै सरकारले कृषिलाई प्राथमिकता दिन थालेको छ । यसले पनि लगानीकर्ता थप मनोबल बढाउन टेवा पुगेको छ ।

परियोजना संख्याका हिसाबले भने सूचना प्रविधि (आईटी) क्षेत्र अग्रस्थानमा छ । यस क्षेत्रका लागि १२० परियोजना दर्ता भएका छन् । विभागका अनुसार आइटीमा ५६ करोड २७ लाख ५४ हजार रुपैयाँ बराबरको प्रतिवद्धता आएको छ । आइटी क्षेत्रका प्रोजेक्टहरु धेरैजसो स्टार्टअप प्रकृतिको रहेको विभागले जनाएको छ । लगानीका लागि हिसाबले कम भए पनि भविष्यमा यसको ठूलो सम्भावना रहेको बताइन्छ ।

विभाग अनुसार पर्यटन क्षेत्रका ७९ वटा परियोजनका लागि ६ अर्ब ६९ करोड २० लाख ५० हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । यस्तै, सेवा क्षेत्रका १५ वटा प्रोजेक्टका लागि पनि २ अर्ब ८१ करोड ५० लाख रुपैयाँ र उत्पादन मुलक क्षेत्रका लागि १२ वटा परियोजना मार्फत १ अर्ब २४ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ ।


प्रतिक्रिया दिनुहोस्