जेनजी आन्दोलनले बीमा कम्पनीमा २२ अर्बको भार : ४० लाखदेखि ५ अर्बसम्म दाबी, कसले कति बेहोर्दै ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

जेनजी आन्दोलनले बीमा कम्पनीमा २२ अर्बको भार : ४० लाखदेखि ५ अर्बसम्म दाबी, कसले कति बेहोर्दै ?



काठमाडौं । जेनजी आन्दोलनको क्षति उपर निर्जीवन बीमा कम्पनीहरुमा बीमा दावीको चाप बढेको छ । गत भदौ २३ र २४ गते देशभर भएको आन्दोलनबाट ठुलो संख्यामा धनजनको क्षति भएको थियो । सोही क्षति उपर बीमा कम्पनीहरुमा हालसम्म २२ अर्ब बढीको दावी पेश भएको छ ।

नेपाल बीमा प्राधिकणका अनुसार आइतबार (असोज ५ गते) सम्म आइपुग्दा २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ बराबरको दावी पेश भएका छन् । प्रारम्भिक विवरण अनुसार २ हजार ४७९ वटा बीमालेखमा दावी परेको हो ।

आन्दोलनका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी व्यापाक मात्रामा भएको थियो । आन्दोलनले हिल्टन होटेल, भाटभटेनी, एनसेल, सिजी इलेक्ट्रोनिक्स, ग्लोबल कलेज, युलेन्स स्कूल, थापाथलीको सेन्ट्रल विजनेश पार्कजस्ता कर्पोरेट बिल्डिङहरुमा क्षति पुगेको छ । यसबाहेक धेरै व्यवसायीको घर तथा आवासमा क्षति पुर्याइएको छ । सवारी साधनको क्षति सबैभन्दा बढी छ । आन्दोलनमा भएको क्षतिको मूल्यांकन भइसके पनि प्रारम्भिक दावी विवरण भने पेश भएका छन् ।

प्राधिकरणका अनुसार सबैभन्दा ठुलो रकको क्षति घर तथा भवनमा पुगेको छ । सम्पत्ति बीमालेख अन्तर्गत १८ अर्ब ६१ करोड ८ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ । सम्पत्ति बीमा अन्तर्गत ५३८ वटा दावी परेको देखिन्छ ।

यस्तै, निजी तथा सार्वजनिक सवारी साधानमा पनि ठुलो क्षति पुगेको देखिन्छ । प्राधिकरणका अनुसार मोटर बीमा अन्तर्गत २ अर्ब ९५ करोड २६ लाख रुपैयाँ बराबरको बीमा दावी पेश भएको छ । आन्दोलनका क्रममा क्षति भएकामध्ये हालसम्म १ हजार ७७८ वटा मोटर बीमामा दावी परेको छ ।

यस्तै, इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमा अन्तर्गत ३३ कराड ३६ लाख रुपैयाँ बराबरको १३२ वटा, परिवहन बीमा अन्तर्गत १ करोड ५५ लाख बराबरको ११ वटा र अन्य शीर्षकको बीमामा ३४ करोड ३८ लाख रुपैयाँ बराबरको १९ वटा दावी परेका छन् ।

ओरियण्टल र सिद्धार्थ प्रिमियरमा ठुलो दावी, अन्य कुनमा कति ?

विवरण अनुसार सबैभन्दा ठुलो बीमा दावी पेश ओरियण्टल इन्स्योरेन्समा परेको छ । कम्पनीमा हालसम्म ५ अर्ब २२ करोड ९८ लाख रुपैयाँ बराबरको दावी पेश भएको छ । कम्पनीमा ७३ वटा दावी पेश भएका छन् । यता, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा पनि ५ अर्ब ८ करोड २८ लाख रुपैयाँ बराबरको २७९ वटा दावी परेको प्राधिकरणले जनाएको छ ।

यस्तै, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्समा २ अर्ब ७६ करोड ८४ लाख रुपैयाँ, शिखरमा २ अर्ब ३९ करोड ३३ लाख, सगरमाथा लुम्बिनीमा १ अर्ब ५४ करोड ५६ लाख, हिमालयन एभरेष्टमा १ अर्ब १५ करोड ६२ लाख, नेको इन्स्योरेन्समना १ अर्ब ११ करोड ८२३ लाख रपैयाँ बराबरको दावी परेको छ । यी कम्पनीहरुमा क्रमश: १७० वटा, ३७४ वटा, २५७, १९६ र २११ वटा बीमालेखमा दावी पेश भएका छन् ।

यता, सानिमा जिआइसीमा पनि ८१ करोड ७ लाख, युनाइेटड अजोडमा ५१ करोड ३४ लाख, नेपाल इन्स्योरेन्समा ४७ करोड ९ लाख, एनएलजीमा ४५ करोड ७२ लाख, राष्ट्रिय बीमा कम्पनीमा ४० करोड ९९ लाख, प्रभू इन्स्योरेन्समा २० करोड ३६ लाख, नेशनल इन्स्योरेन्समा ६ करोड ८४ लाख, प्राटेक्टिभ माइक्रो इन्स्योरेन्समा १ करोड १३ लाख, स्टार माइक्रोमा ७२ लाख, ट्रस्ट माइक्रोमा ४४ लाख र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीमा ४१ लाख रुपैयाँ बराबरको दावी पेश भएका छन् ।

कुन प्रदेशमा कति ?

प्राधिकरणका अनुसार कुल दावीको झन्डै ८१ प्रतिशत हिस्सा बागमती प्रदेशको देखिन्छ ।

काठमाडौं भित्रका ठुला ठुला निजी तथा सार्वजनिक सम्पत्तिमा व्यापक क्षति पुगेको थियो । सोही क्षति उपर बागमती प्रदेशबाट १७ अर्ब ९७ करोड ७२ लाख रुपैयाँ बराबरको दावी परेको छ । यो कुल दावीको ८०.७७ प्रतिशत हुन आउँछ । बागामतीमा १ हजार ३४३ वटा दावी पेश भएका छन् ।

यस्तै, कोशी प्रदेशमा १ अर्ब ६५ करोड ३ लाख, गण्डकीमा १ अर्ब २९ करोड १ लाख, मधेशमा ५५ करोड ३ लाख, लुम्बिनीमा ४५ करोड ६९ लाख, सुदुरपश्चिममा २३ करोड ९६ लाख, र कर्णालीमा ८ करोड ९३ लाख रुपैयाँ बराबरको दावी पेश भएको छ ।


प्रतिक्रिया दिनुहोस्