दशैंको यात्रामा अवरोध : देशभर ५ राजमार्ग पूर्ण बन्द, ७ सडक एकतर्फी सञ्चालनमा
काठमाडौं । दशैं सुरु भइसक्दा पनि लगातारको वर्षाले यात्रुहरूको यात्रा प्रभावित बनाएको छ । देशका विभिन्न राजमार्गमा पहिरो र बाढीका कारण सडक अवरुद्ध हुँदा गन्तव्यमा निस्केका यात्रुहरू बीच बाटोमै रोकिएको छन् ।
प्रहरीका अनुसार सोमबार बिहान ९ बजेसम्म ५ वटा सडक पूर्णरूपमा बन्द छन् भने ७ सडक मात्र एकतर्फी रूपमा सञ्चालनमा आएका छन् ।
कोशी राजमार्ग अन्तर्गत संखुवासभाको भोटखोला–बरुण र मकालु–एकुवा क्षेत्रमा सडक पूर्ण रूपमा अवरुद्ध छ । रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ मा रहेको नेपाल–चीन नाका पुल बाढीले बन्द भएको छ भने पासाङ ल्हामु राजमार्गअन्तर्गत बालुवाखानीमा पनि पहिरोले सडक ठप्प भएको छ ।
सिन्धुपाल्चोकको कोदारी (अरनिको राजमार्ग) र मुग्लिन–नारायणगढ सडकखण्डमा पनि पहिरोको असर देखिएको छ । मुग्लिन सडक अहिले एकतर्फी मात्र सञ्चालनमा छ, रातिको समयमा जोखिमका कारण बन्द गरिएको थियो ।
सुरक्षाकर्मी र प्राविधिक टोलीले अवरुद्ध सडक खुलाउन काम गरिरहेको छ । यात्रुहरूलाई मौसम र मार्गसम्बन्धी जानकारी लिएर मात्र यात्रा सुरु गर्न ट्राफिक प्रहरीको आग्रह छ ।














