ठुला चाडपर्व नजिकिएसँगै बढ्यो नेपालको वैदेशिक व्यापार, आयात–निर्यातको आँकडा कस्तो ?
काठमाडौं । नेपाल वैदेशिक व्यापारमा क्रमिक सुधार देखिएको छ । वैदेशिक व्यापार साढे २२ प्रतिशत वृद्धि भएको छ ।भन्सार विभागले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२–८३ को साउन र भदौ महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।
दुई महिनामा ३ खर्ब ५२ अर्ब ४७ करोड २७ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । यो अघिल्लो वर्षको तुलनामा २२.५४ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा पनि नेपालको कुल वैदेशिक व्यापार २ खर्ब ८७ अर्ब ६३ करोड ५७ लाख रुपैयाँ बराबरको भएको थियो ।
दुई महिनामा आयात र निर्यात दुवै वृद्धि भएको छ । विभागका अनुसार सो अवधिमा नेपालले कुल ३ खर्ब ५ अर्ब १५ करोड ५० लाख रुपैयाँ बराबरको माल बस्तु आयात गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा भने १६.२३ प्रतिशत बढी हो ।
गत वर्षको साउन र भदौमा पनि कुल २ खर्ब ६२ अर्ब ५४ करोड २६ लाख रुपैयाँ बराबरको आयात भएको थियो । नेपालमा दशैं तिहार लगायतका ठुला चाडपर्वहरु नजिकिएका छन् । जसका कारण आयात क्रमश: बढ्न थालेको विभागले जनाएको छ ।
विभागका अनुसार आयात तर्फ वनस्पति तेल, इलेक्ट्रिकल मेसिन तथा पार्टपुर्जा र सवारीसाधन लगायतका मुख्य वस्तुहरू छन् । समिक्षा अवधिमा कच्चा सोयाबिन तेल २१ अर्ब ६४ करोड रुपैयाँ बराबर आयात गरिएको छ । डिजेल र डीएपी मल पनि उच्च मूल्यमा आयात भएका छन्।
यता, निर्यात पनि उल्लेख्य रुपमा वृद्धि भएको छ । गत आवको सोही अवधिमा नेपालबाट २५ अर्ब ९ करोड ३१ लाख रुपैयाँ बराबरको बस्तु निर्यात भएको थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने ८८.५७ प्रतिशत बढेर ४७ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ कायम भएको छ । निर्यातमा सोयाबिन तेल शीर्ष सूचीमा छ । यस्तो तेल दुई महिनामै २० अर्ब ४२ करोड रुपैयाँ बराबर निर्यात भएको छ । त्यसपछि कार्पेट, सूर्यमुखी तेल र पाम तेल नेपालबाट निर्यात हुने मुख्य वस्तुहरूमा पर्दछन्।
वैदेशिक व्यापारमा उल्लेख्य वृद्धि भए पनि व्यापार घाटा भने साढे दुई खर्ब रुपैयाँ छ । विभागका अनुसार दुई महिनामा २ खर्ब ५७ अर्ब ८३ करोड ७४ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार घाटा व्यहोरेको छ । गत आवको सोही अवधिमा पनि यस्तो घाटा २ खर्ब ३७ अर्ब ४४ करोड ९५ लाख रुपैयाँ रहेको थियो ।
आयात बढेपछि सरकारले पाउने भन्सार राजश्व पनि वृद्धि भएको छ ।विभाग अनुसार दुई महिनामै ७७ अर्ब ६३ करोड रुपैयाँ राजश्व संकलन भएको छ ।यो गत आवको सोही अवधिको तुलनामा ४.४६ प्रतिशत धेरै हो । गत आवको साउन र भदौमा पनि सरकारले कुल ७४ अर्ब ३१ करोड ४९ लाख रुपैयाँ भन्सार राजश्व प्राप्त गरेको थियो ।













