११ श्रावण २०८३, सोमबार

सरकारको राहत प्याकेजले अटोमोबाइल उद्योगलाई पुन: जीवित बनाउला त ?



काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा अटोमोबाइल उद्योगले सामना गरेको कठिन परिस्थितिलाई ध्यानमा राख्दै सरकारले विभिन्न राहत प्याकेज ल्याएको छ ।

सरकारले हालै घोषणा गरेको राहत प्याकेजलाई नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले उत्साहपूर्वक स्वागत गरेको छ ।

सरकार र निजी क्षेत्र बीचको सहकार्यलाई मजबुत बनाउँदै नेपालको आर्थिक समृद्धि र अटोमोबाइल उद्योगको पुनर्निर्माणमा ठूलो योगदान पुर्याउने नाडाको विश्वास छ ।

नाडाका अध्यक्ष करण कुमार चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले केही समयअघि प्रधानमन्त्री सुशीला कार्र्की र अर्थमन्त्री रामेश्वर खनालसँग भेटघाट गरेर आन्दोलनका कारण गम्भीर रूपमा प्रभावित अटोमोबाइल उद्योगलाई पुन: सशक्त बनाउन विशेष राहत प्याकेज ल्याउन आग्रह गरेको थियो ।

सरकारले उच्च प्राथमिकतामा राखेर तत्काल निर्णय लिएकोमा उद्योगी व्यवसायीहरूको आत्मविश्वासमा वृद्धि भएको छ ।
नाडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘अटोमोबाइल उद्योग नेपालको अर्थतन्त्रमा महत्वपूर्ण स्थान राख्छ । यसले हजारौं प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी सिर्जना गर्दै, ठूलो कर राजस्व र गतिशील अर्थतन्त्रको आधार निर्माण गर्छ ।’

यद्यपि, आन्दोलनका कारण अटोमोबाइल शोरुम, गोदाम र गाडीहरूमा भारी क्षति पुगेको नाडाले जनाएको छ । ‘आपूर्ति श्रृंखला प्रभावित भएको छ र ग्राहकहरूको विश्वासमा पनि कमी आएको छ । यस्तो कठिन समयमा सरकारले घोषणा गरेको राहत प्याकेजले उद्योगी व्यवसायीलाई ठूलो ढुक्क र हौसला दिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

सरकारले हालै बीमा सर्वेयरको प्रारम्भिक प्रतिवेदनका आधारमा ५० प्रतिशत अग्रिम भुक्तानी, पुनर्बीमा प्रक्रियामा ढिलाइ भएमा ५० प्रतिशत अग्रिम भुक्तानी, आन्दोलन प्रभावित व्यावसायिक सवारी साधनको नयाँ खरिदमा ८० प्रतिशत बैंक कर्जा उपलब्धता लगायतको प्याकेज ल्याएको छ ।

यसका साथै आगजनी वा तोडफोडबाट क्षतिग्रस्त मालसामान पुन:स्थापना गर्दा ५० प्रतिशत भन्सार छुट, राष्ट्रिय पुनर्निर्माण कोषमा योगदान गर्ने उद्योगको कर कटौतीमा गणना, बीमा नभएका मौज्दातमा लागत र कर कट्टी गर्ने सुविधा, ऋणी उद्योगको साँवा र ब्याज भुक्तानी अवधि थप्ने व्यवस्था, सहुलियत दरमा कर्जा उपलब्ध गराउने सुविधा, रोजगारी सुरक्षा योजनाअन्तर्गत २ प्रतिशत अनुदान सहित कर्जा, दशैं बाहेक अन्य विदामा सरकारी कार्यालय र बैंक खुला राख्ने व्यवस्था लगायतका प्याकेज ल्याएको छ ।

नाडा अनुसार यी प्रावधानहरूले प्रभावित अटोमोबाइल उद्योगलाई तत्काल राहत दिने अपेक्षा गरिएको छ ।अग्रिम भुक्तानी, कर्जामा सहजता, भन्सार छुट र कर सहुलियतले उद्योगी व्यवसायीलाई तुरुन्तका कठिनाइहरू पार गर्न मद्दत गर्ने नाडाको ठहर छ । थप रोजगार सुरक्षा योजनाले सामाजिक स्थिरता कायम गर्न मद्दत पुर्याउने नाडाको विश्वास छ ।

विज्ञप्ति मार्फत भनेको छ,‘राहत प्याकेजको सहजता केवल आन्दोलन प्रभावित व्यवसायमा मात्र सीमित नगरी, सम्पूर्ण सवारी साधन उद्योगमा विस्तार गरिनुपर्छ। यसले उद्योगको माग पुनर्र्जीवित गर्नेछ, बैंकिङ प्रणालीमार्फत लगानीको प्रवाह बढ्नेछ, रोजगार सुरक्षा हुनेछ र सरकारको राजस्वमा निरन्तरता आउनेछ ।’

नाडाले दीर्घकालीन दृष्टिकोणमा सवारी साधन उद्योगको सुधारका विषयमा पनि सरकारको ध्यान आकर्षित गरेको छ । रोडम्याप, कस्टम्स सुधार र पूर्वाधार विस्तारका साथ, हरित विकास र ऊर्जा सुरक्षामा ध्यान दिनुपर्ने समय आएको छ । यसले नेपाललाई अन्तर्राष्ट्रिय बजारसँगको प्रतिस्पर्धा गर्न सक्षम बनाउनेछ ।

सरकारले ल्याएको राहत प्याकेजलाई उद्योगी व्यवसायीहरूको आवाज सुन्ने र तत्काल कार्यान्वयन गर्ने सरकारको दृढता भएको प्रमाणको रूपमा लिएको नाडाले जनाएको छ ।

नाडाले भन्यो,‘सरकारसँगको सहकार्यमा यी प्रावधानहरूको कार्यान्वयनले अटोमोबाइल उद्योगको पुनर्निर्माण र स्थिरता सुनिश्चित गर्नेछ । नाडा आशावादी छ कि चाँडै नै उद्योग पुन: उन्नति हुनेछ, माग पुनर्जीवित हुनेछ, रोजगारी सुरक्षित हुनेछ र नेपाललाई आर्थिक समृद्धितर्फ अग्रसर गर्ने यो कदम महत्वपूर्ण भूमिका निभाउनेछ ।’