जेनजी आन्दोलनको कहर : बीमा भुक्तानीमा सिद्धार्थ प्रिमियरको अगुवाई, पहिलो चरणमै दियो ५५ करोड
काठमाडौं । जेनजी आन्दोलनको क्षति उपर निर्जीवन बीमा कम्पनीहरुमा झन्डै साढे २३ अर्ब रुपैयाँ बराबरको दावी पेश भएको प्रारम्भिक तथ्याङ्क छ ।
गत भदौ २३ र २४ गते भएको आन्दोलनले निजी तथा सार्वजनिक सम्पत्तिहरुमा भएको तोडफोड र आगजनीले ठुलो क्षति पुर्याएको छ । बीमा कम्पनीहरुमा धमाधम दावीको विवरण पेश भएका छन् ।
आन्दोलनका क्रमामा भएको हुलदंगा, तोडफोड तथा आगजनीका कारण क्षति व्यहोरेका बीमितहरुलाई कम्पनीहरुले सकेसम्म चाँडो बीमा दाबी भुक्तानी गर्न थालिसकेका छन् ।
दावी भुक्तानीको सुरुवात सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले गरेको छ । व्यवासायमा पनि आक्रामक रुपमा अघि बढेको कम्पनीले जेनजी आन्दोलनबाट क्षति व्यहोरेका बीमितलाई दावी भुक्तानी दिन थालेको हो ।
कम्पनीमा असोज ८ गतेसम्म ५ अर्ब ४५ करोड रुपैयाँ बराबरको दावी पेश भएको छ । तर, कम्पनीले ५५ करोड ८ लाख रुपैयाँ भुक्तानी गरिसकेको जनाएको छ ।
कम्पनीको बीमा दावी यथाशिघ्र भुक्तानी गर्ने प्रतिवद्धता स्वरुप हालसम्म फछ्र्यौट तथा पेश्कसहित ११ वटा दावीहरु बापत सो बराबरको भुक्तानी दिएको कम्पनीले जनाएको छ । बाँकी दाव भुक्तानी गर्ने क्रममा रहेको कम्पनीले जनाएको छ । तत्काल बीमा दाबीका लागि आवस्यक कागजातहरु उपलब्ध गराउन पनि आफ्ना ग्राहकलाई आग्रह समेत गरेको छ ।
सम्पत्तिमा क्षति भई हालसम्म सम्पर्कमा नआएका बीमितलाई यथाशिघ्र कम्पनीका प्रतिनिधिसँग सम्पर्कमा आउन अनुरोध गरेको छ । सहजीकरणका लागि कम्पनीले बीमालेख अनुसारको सम्पर्क व्यक्ति तोकेको छ । प्रधान कार्यालयमा दुई जना र अन्य सातै वटा प्रादेशिक कार्यालयमा १–१ जना सम्पर्क प्रतिनिधि खटाएको छ ।














