जीवन बीमामा फर्किँदै उत्साह : दुई महिनामै ३५ अर्ब २४ करोडको व्यापार, कसले कति उठाए प्रिमियम ?
काठमाडौं । जीवन बीमा व्यवसाय १७ प्रतिशत वृद्धि भएको छ । दुई महिनामै व्यवसायको आकार ३५ अर्ब नाघेको छ ।
नेपाल बीमा प्राधिकरणबाट हालै प्राप्त चालु आर्थिक वर्ष २०८२–८३ को साउन र भदौ महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।
दुई महिनामा कम्पनीहरुले ३५ अर्ब २४ करोड ९७ लाख २६ हजार रुपैयाँ बराबरको व्यापार गरेका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा १७.१५ प्रतिशत बढी हो । गत आवको साउन र भदौमा ठुला जीवन बीमा कम्पनीहरुले ३० अर्ब ८ करोड ८२ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका थिए ।
अधिकांश कम्पनीहरुको व्यापार वृद्धि भएको छ । दुई महिनामा ३ लाख ३५ हजार ७७१ वटा बीमालेख जारी गरि सो बराबरको बीमा शुल्क आर्जन गरेका हुन् । हाल जीवन बीमा कम्पनीहरुमा कुल १ करोड १४ लाख ५० हजार ४७७ वटा बीमालेख सक्रिय छन् ।
साउन र भदौमा कम्पनीहरुले ६ अर्ब ५४ करोड ११ लाख ५१ हजार रुपैयाँ बराबरको नयाँ व्यवसाय भित्र्याएका छन् । तर, पुरानै व्यवसाय अर्थात् नविकरण मार्फत संकलन हुने बीमा शुल्क भने २८ अर्ब ७० करोड ८५ लाख रुपैयाँ रहेको छ ।
व्यवसायमा नेपाल लाइफ नै अगाडि छ । कम्पनीले दुई महिनामै ९ अर्ब ६८ करोड ३२ लाख ९० हजार रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ७.१५ प्रतिशत बढी हो । गत वर्षको साउन र भदौमा कम्पनीले ९ अर्ब ३ करोड ७३ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको थियो।
दोस्रो सूचीमा भने राष्ट्रिय जीवन बीमा कम्पनी देखिएको छ । कम्पनीले दुई महिनामा ४ अर्ब ८ करोड ३ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ । जबकि, गत आवको सोही अवधिमा १ अर्ब ६ करोड ४७ लाख रुपैयाँ मात्रै बीमा शुल्क उठाएको थियो ।
तेस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले पनि ३ अर्ब ९८ करोड २७ लाख रुपैयाँ बराबरको व्यवसाय भित्र्याएको छ । कम्पनीको व्यापार ११.१० प्रतिशत बढेको देखिन्छ ।
चौंथो सूचीमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी)ले पनि ३ अर्ब ३९ करोड ४२ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ । यता, पाँचौं स्थानमा रहेको हिमालयन लाइफले लपनि ३ अर्ब १७ करोड २३ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ। यी दुई कम्पनीको व्यापार वृद्धिदर भने क्रमश: २.६२ प्रतिशत र २.२८ प्रतिशत रहेको छ ।
समिक्षा अवधिमा सूर्यज्योति लाइफले २ अर्ब १ करोड ५२ लाख, सिटिजन लाइफले १ अर्ब ५० करोड १३ लाख, एशियन लाइफले १ अर्ब ४८ करोड ४२ लाख, सानिमा रिलयान्सले १ अर्ब २० करोड ४२ लाख, आइएमई लाइफले १ अर्ब ५ करोड ५८ लाख, मेट लाइफले १ अर्ब ५ करोड ४९ लाख र रिलायबल नेपालले १ अर्ब १ करोड ४० लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् ।
यता, प्रभू महालक्ष्मी लाइफले भने ९६ करोड ९८ लाख रुपैयाँ र सन नेपाल लाइफले ६० करोड ६६ लाख रुपैयाँ बराबरको व्यापार गरेको देखिन्छ । गत वर्षको तुलनामा सन नेपाल लाइफको व्यापार २२२.१७ प्रतिशत घटेको छ । यी बाहेक अन्य सबै कम्पनीहरुको व्यापार वृद्धिदर धनात्मक छ ।













