हवाई यात्रुको चाप बढ्दो, भाडा नबढाउन प्राधिकरणको निर्देशन - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

हवाई यात्रुको चाप बढ्दो, भाडा नबढाउन प्राधिकरणको निर्देशन



काठमाडौं । दशैं, तिहारजस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा हरेक वर्षजस्तै यस पटक पनि हवाई यात्रुको चाप उच्च छ ।देशभरका मानिस आफ्नो परिवार र जन्मथलोमा रमाउन निकै आतुर हुन्छन् ।

तर, यही चापसँगै बढ्ने हवाई भाडाले उनीहरूलाई थप बोझ पर्ने अवस्था विगतमा देखिँदै आएको थियो । यस्तै खालका समस्या दोहोरिन नदिन सरकारले यस वर्ष विशेष पहल थालेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले चाडपर्वको अवसर पारेर हवाई टिकटको भाडा नबढाउन देशभरका सबै वायु सेवा प्रदायक कम्पनीहरूलाई स्पष्ट निर्देशन दिएको छ ।

प्राधिकरणले अहिलेको आर्थिक चुनौतीपूर्ण अवस्थामा यात्रुहरूलाई सहजता दिने उद्देश्यले सेवा प्रदायकहरूलाई अधिकतम भाडाभन्दा कममा टिकट बिक्री गर्न आग्रह गरेको हो ।

सोही बमोजिम बुद्ध एयर लगायतका वायु सेवा कम्पनीहरूले आन्तरिक रूपमै योजना बनाएर उच्चतम भाडा भन्दा एक स्तर कम मूल्यमा टिकट बिक्री गरिरहेका छन् ।

कानुनी रूपमा हवाई टिकटको न्यूनतम र अधिकतम मूल्य दायराभित्र रहनु पर्ने व्यवस्था भए पनि प्राधिकरणले चाडपर्वका सन्दर्भमा यात्रुलाई राहत दिने हेतुले अझ कम दरमा सेवा दिन आग्रह गरेको छ ।

यात्रुको चाप बढ्ने भएपछि थप उडानको व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ । चाडपर्वका बेला हवाई यात्रुको संख्या दैनिक १८ हजारसम्म पुग्ने अनुमान गरिएको छ । सामान्य दिनमा हुने १० हजार मात्रै हुने गरेको थियो । यस्तो चाप व्यवस्थापन गर्न प्राधिकरणले अतिरिक्त उडानको व्यवस्था मिलाएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्