दशैंमा विदेश घुम्ने योजना : बजेट अनुसारको उत्कृष्ट टुर प्याकेज खोज्दै हुनुहुन्छ ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

दशैंमा विदेश घुम्ने योजना : बजेट अनुसारको उत्कृष्ट टुर प्याकेज खोज्दै हुनुहुन्छ ?



काठमाडौं । घरको पूजा, टीका–जमरा, परिवारको भेला र मिठो खानपिन यी दशैँका परम्परागत तस्वीर हुन् । तर, पछिल्ला वर्षहरूमा यो दृश्य बदलिँदै छ । लामो बिदालाई मात्र घरभित्र सीमित नगरी, नयाँ ठाउँ हेर्ने, मन र शरीर दुवैलाई रिफ्रेस गर्ने चाहनाले नेपालीहरूलाई देश–विदेशका रंगीन गन्तव्यतर्फ तान्दैछ ।

अब दशैँ भनेको केवल टीकाको दिन मात्र होइन, विमानस्थलको चहलपहल र पासपोर्टको पानामा थपिने नयाँ मुहार पनि हो ।
कामको तनाव, वर्षभरको व्यस्तता र फरक अनुभूति खोज्ने चाहनाले गर्दा दशैं–तिहार जस्ता चाडपर्व सिजन घुमफिरका लागि ‘पिक टाईम’ बनेको छ ।

थाइल्याण्डको सुनौलो समुद्री तट होस् वा दुबईको बुर्ज खलिफाको झलमल, इन्डोनेसियाको बालीको लहरिया किनारा होस् वा चीनको ग्रेट वालको ऐतिहासिक गहिराइ—नेपालीहरू अब यी स्थानलाई केवल इन्टरनेटमा हेर्ने होइन, प्रत्यक्ष घुम्न निस्कने क्रम बढ्दैछ ।

देशभित्रका रमणीय गन्तव्य मात्र होइन, विदेशतर्फको आकर्षण झन् तीव्र छ । भियतनामका अद्भुत झरनादेखि माल्दिभ्सको क्रिस्टल जस्तो समुद्री पानीसम्म पुग्ने सपना अहिले टुर प्याकेजमार्फत सजिलै पुरा गर्न सकिन्छ । ट्राभल एजेन्सीहरू दशैँलाई लक्षित गर्दै ‘दार्जिलिङ–दुबई टुर’देखि ‘बाली, सिंगापुर, मलेसिया कम्बो’ सम्मका अफर लिएर बजारमा छन् ।

४९ हजार रुपैयाँदेखि साढे तीन लाख रुपैयाँसम्मको बजेटमा दुबई, चीन, थाइल्याण्ड, माल्दिभ्स, गोवा, श्रीलंका जस्ता गन्तव्य सहजै समेट्न सकिने भएको छ । यस्तो अवस्थामा नेपालीहरूलाई लामो प्लान बनाउन धेरै सोच्नुपर्दैन । कतिपयले परिवारसहित, कतिपयले साथी वा जीवनसाथीसँग मिलेर छुट्टै सम्झना बनाउने तयारी थालेका छन् ।

दशैँको बिदालाई केवल घरमा बिताउने परम्परामा रमाउनेहरूका लागि यो नयाँ ट्रेन्ड रोचक र प्रेरक दुवै बन्न सक्छ । आखिर, चाडपर्वको असली मजा त मन खुल्ने, नयाँ ठाउँ हेर्ने र जीवनमा नयाँ अनुभव थप्ने अवसरमै त छ ।

दुबई

दुबईको लागि विभिन्न प्याकेज ल्याएका छन् । ४ रात ५ दिनको दुबई भ्रमणमा ७० हजार पाँच सय रुपैयाँ लाग्नेछ । दुबई विश्वकै पर्यटकीय तथा सुविधासम्पन्न सहर बन्दै गएको छ। यहाँ एसियाकै अग्लो ‘बुर्ज खलिफा टावर’ छ । एक सय ६३ तला (आठ सय २८ मिटर) उचाइ भएको टावरबाट पाम जुमेरा हेर्न सकिन्छ ।

थाइल्याण्ड


विश्वको उत्कृष्ट गन्तव्यहरू मध्ये एक थाइल्याण्ड पनि हो । बैंकक, पटायाको समुद्र तटहरू, कोरल आइल्याण्ड टुर लगायत सुन्दर नगरीको भ्रमण गर्न सकिनेछ । पाँच दिन ४ रातको भ्रमणका लागि एस ट्राभल्सले ८२ हजार २०० रुपैयाँमा प्याकेज ल्याएको छ । ग्रेस होलिडेजले भने ५९ हजार ५०० रुपैयाँको प्याकेज ल्याएको छ ।

यता, सेभेन प्लस होलिडेजले पनि ४९ हजार ५०० रुपैयाँ थाइल्याण्ड घुम्ने सकिने प्याकेज ल्याएको छ । सो रकममा बैंकक र पटायामा चार रात पाँच दिन घुम्न–डुल्न सकिने कम्पनीले जनाएको । यस्तै, ग्रेसी भ्याकेसनले पनि ६४ हजार ५०० रुपैयाँमा थाइल्याण्ड घुम्ने अफर ल्याएको छ । सिम्रिक एडभेन्चर्सल पनि बैंकक फुकेट क्रबिमा ७ रात ८ दिनको दशैं तिहार अफर अघि सारेको छ । यो प्याकेज जम्मा ९९ हजार ५०० रुपैयाँभित्र रहने जनाएको छ ।

माल्दिभ्स टुर


माल्दिभ्स घुमघामको लागि उत्कृष्ट गन्तव्य मानिन्छ । माल्दिभ्स सेतो चखिला बालुवा र पानीले भरिएको समुन्द्र तटहरू, चट्टानमा खेलिरहेका थरीथरीका माछाहरू, क्रिस्टलीय धातु, पाम–फ्रिन्ड टापु, आकर्षक वाटर भिलाहरु विश्वभर लोकप्रिय छन् । यहाँ सामान्यतया एक लाख रुपैयाँभन्दा बढी नै खर्च लाग्ने गर्छ ।

होलिडेज टु नेपाल माल्दिभ्स ३ रात – ४ दिनका लागि १ लाख ५० हजार रुपैयाँ लिने गरेको छ । त्यस्तै ग्रेस होलिडेजले १ लाख १९ हजार ५०० सय रुपैयाँमा माल्दिभ्स घुमाउन लैजाने प्याकेज ल्याएको छ ।

बाली (इण्डोनेसिया)


इन्डोनेसियाको बाली पनि घुम्नको लागि आकर्षकको केन्द्र बनेको छ । बालीको सबैभन्दा लोकप्रिय पर्यटकीय क्षेत्र, हो कुटा । यो लोभलाग्दो समुन्द्री तट र ठूला छालहरूको लागि परिचित छ । ठूला बजार किनमेल हब, समुन्द्र तट बार, रेस्टुरेन्ट, क्यासिनोर क्लबहरु छन् । चार रात र पाँच दिनको भ्रमणका लागि एक लाख ३० हजार रुपैयाँको प्याकेज पर्न जान्छ ।

दार्जिलिङ– दुबई टुर

दृश्य ट्राभल्स एण्ड टुर्सले दशैँको अफरमा दार्जिलिङ दुबई टुर प्याकेज ल्याएको छ । ४ रात पाँच दिनको भ्रमणमा रमाइलो दृश्यहरू अवलोकन गर्न पाइनेछ । ८९ हजार ९९९ रुपैयाँदेखि खर्च सुरू हुनेछ ।


चीन


एस ट्राभल्सले ४ रात पाँच दिनको काठमाडौं चीन उडान प्याकेज ल्याएको छ । एक लाख ४९ हजार ९०० रुपैयाँमा गर्न सकिने भ्रमणको पहिलो दिन काठमाडौंदेखि बेइजिङ उडान गर्न सकिनेछ । दोस्रो दिन बेइजिङ शहर, तेस्रो दिन बेइजिङ– ग्रेट वाल टूर, चौथो दिन बेइजिङदेखि शंघाई – हाई स्पीड बुलेट ट्रेन, पाचौं दिन सांघाई– जेड बुद्ध मन्दिर, छैटौं दिन सांघाई– जुजियाजिओ र सातौ दिन सांघाईदेखि काठमाडौं फर्किने सकिनेछ । एस बाहेकका धेरै ट्राभल एजेन्सीहरुले सोही रकम हाराहारीका प्याकेजहरु अघि सारकेका छन् ।

गोवा

गोवा नेपालीहरुको लागि घुम्न जाने नजिकको गन्तव्य हो । यहाँको आकर्षण भनेको पालोलेम तटको शान्तप्रिय वातवारण, समुन्द्री तटको छाल, ठूला क्यासिनो, बागा समुन्द्री तटमा वाटर स्पोट्र्सको आनन्द, दूध सागरको झरना र टीटो नाइट क्लब हो । ३ रात ४ दिनमा गर्न भ्रमण गर्न सकिने गोवाका लागि प्याकेजमा जाँदा प्रतिव्यक्ति २५ देखि ५५ हजार रुपैयाँ लाग्छ । व्यक्ति र ट्राभल एजेन्सीहरु अनुसार यस्तो रकम भने केही फरक फरक पनि छ ।

माल्दिभ्स र श्रीलंका कम्बो टुर

दशैँलाई लक्षित गरेर शिखर होलिडेजले माल्दिभ्स र श्रीलंका कम्बो टुर ल्याएको छ । दशैँ विदामा आफ्नो परिवार, साथीभाई ,जीवनसाथी र मनपरेको व्यक्तिसँग विदेश घुम्ने सोच बनाउनु भएको छ भने यो गन्तव्य उत्कृष्ट हुन्छ । ६ रात ७ दिनमा घुम्न सकिन्छ भने एक लाख ५० हजारदेखि माथि खर्च लाग्नेछ । यहाँका रमणीय स्थानहरूको अवलोकन गर्न सकिनेछ । शिखर बाहेकका धेरै ट्राभल एजेन्सीहरुले सोही दिन र रकम हाराहारीमा आकर्षक अफर ल्याएका छन् ।

भियतनाम


कान्तिपुर होलिडेज, सेभेन प्लस लगायतका ट्राभल एजेन्सीहरुले दशैँमा स्पेसल अफरसहित भियतनाम टुर अफर ल्याएको छ । यो ४ रात ५ दिन अवधिको यात्रा हो । एक लाख १० हजार आसपासको प्याकेजमा भियतनामका रमणीय परिदृश्य र विविध भू–भागको साथ, संसारमा सबैभन्दा लुभावनी झरनाहरूको अवलोकन गर्न सकिनेछ । अग्लो बान जिओक झरनादेखि शान्त पोंगौर झरनासम्मको प्राकृतिक सौन्दर्य र शान्ति वातावरणले एक अद्वितीय मिश्रण प्रदान गर्दछ।

बाली, सिंगापुर, मलेसिया कम्बो टुर

शिखर होलिडेज, ग्रेस ट्राभल एण्ड टुर लगायतका अधिकांश कम्पनीले दशैँलाई लक्षित गर्दै बाली, सिंगापुर र मलेसिया भ्रमणको कम्बो प्याकेज ल्याएको छ । १० रात ११ दिनको भ्रमणमा १ लाख ५४ हजार ५०० रुपैयाँमा यात्रा तय गर्न सकिन्छ । यी बाहेक विभिन्न ट्राभल एजेन्सीहरूले टुर प्याकेज ल्याएका छन् । प्याकेज अनुसार आफ्नो गन्तव्य तय गर्न सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्