दाबी भुक्तानीमा आक्रामक बन्यो हिमालयन एभरेस्ट इन्स्योरेन्स, जेनजी आन्दोलनको क्षतिको २२ करोड भुक्तानी
काठमाडौँ । बीमा भनेकै दाबी भुक्तानी हो भन्ने उद्देश्यले सेवामा तल्लीन हिमालयन एभरेस्ट इन्स्योरेन्सले हालै करिब २२ करोडको दाबी फर्स्यौट गरेको छ ।
इन्स्योरेन्सले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरुको यथाशीघ्र दाबी भुक्तानी गर्ने प्रक्रिया आरम्भ गरेको हो ।
कम्पनीले हालसम्म हिमालयन एभरेस्ट मार्फत बिमा भई क्षतिपूर्ति दाबी गरिएका २८७ वटा दाबीमध्ये हाल सम्म २४५ वटा दाबी बापत एक्काइस करोड चौहत्तर लाख पैँतालिस हजार आठ सय एकतिस रुपैंया भुक्तानी गरेको जनाएको छ ।
उक्त दाबी भुक्तानी रकम जेन जी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरूको अग्रिम तथा अन्तिम दाबी भुक्तानी बापत रहेको कम्पनीले जनाएको छ ।
नियामकीय प्रावधान भित्र रही सरल र सहज दाबी भुक्तानीका लागि कम्पनी प्रतिबद्ध रहेको दाबी विभाग प्रमुख रोज राज लुइँटेलले बताए ।
साथै, उच्च प्राथमिकताका साथ भई रहेको दाबी भुक्तानी बडा दसैँको सार्वजनिक बिदा पश्चात् पुनः यथावत् हुने कम्पनीले जनाएको छ ।
हिमालयन एभरेस्ट इन्स्योरेन्सले विषम परिस्थितिलाई ध्यानमा राख्दै, बीमित ग्राहकको सुविधा र आर्थिक राहतका लागि शीघ्र भुक्तानी प्रक्रिया अघि बढाएको हो । यस प्रयासले बीमितलाई विषम परिस्थितिमा आर्थिक राहत र संरक्षण सुनिश्चितता प्रदान गर्ने उद्देश्य राखेको उल्लेख गरेको छ ।
यसका साथै, हिमालयन एभरेस्ट मार्फत बिमा भई क्षतिपूर्तिको दाबी भुक्तानी बाँकी रहेका बिमितहरुलाई आवश्यक कागजात र प्रक्रिया पु¥याइ आफूलाई पायक पर्ने कम्पनीको नजिकको शाखा वा केन्द्रीय कार्यालयमा सम्पर्क गर्न समेत कम्पनीले अनुरोध गरेको छ ।













