काठमाडौँदेखि पश्चिमतर्फका यातायात खोल्ने तयारी
काठमाडौँ। शुक्रबारदेखिको अविरल वर्ष रोकिएको र ठूलो वर्षा गराउने मनसुनी प्रणाली मध्य नेपालबाट बाहिरिसकेको भन्दै काठमाडौँ उपत्यका र यसदेखि पश्चिमतर्फ यातायात सञ्चालन गर्ने तयारीमा सरकार जुटेको छ।
बीपी राजमार्ग बाहेक बाँकी राजमार्गहरू सञ्चालन गर्ने तयारी भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतले जानकारी दियो।
गएको मध्य रातदेखि नै काठमाडौँ उपत्यकामा वर्षा रोकिएको छ। यस वरपरका क्षेत्रमा पनि आइतबार बिहानदेखि वर्षा पूर्णतः रोकिएको छ।
बागमती प्रदेशबाट ठूलो वर्षा गराउने प्रणाली पूर्णतः बाहिरिसकेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। विभागले यस अघि अनुमान गरेको भन्दा चाँडो नै मौसम सफा भएपछि काठमाडौँदेखि पश्चिमतर्फ जाने यातायात खोल्न तयारी भएको हो।
विभिन्न सडकहरूमा ससाना पहिरा गएकाले ती पहिराहरू पन्छाएपछि बाटो सफा हुने मन्त्रालयले बताएको छ। यस अघि असोज १८, १९ र २० गते लामो दूरीको यातायात बन्द गर्ने निर्देशन दिईएको थियो।
तर अब काठमाडौँ-पोखरा, मुग्लिङ-नारायणगढ लगायतका राजमार्गहरू खोल्ने तयारी भएको छ।
आइतबार बिहानैदेखि नुवाकोट, रसुवा, धादिङजस्ता मध्यम दुरीका सवारी साधनहरू पनि सञ्चालन भइरहेका छन्। स्थानीय प्रशासनले यातायात सञ्चालन गर्न निर्देशन नदिए पनि सार्वजनिक सवारी साधन चलाउँदा त्यसलाई रोकेको पनि छैन।
लामा दूरीका सवारी साधनहरू पनि यो समाचार तयार पार्दासम्म सञ्चालनमा आएका छैनन्।













