दशैँका बेला जनताको हातमा ५६ अर्ब थप पैसा, दशैँपछि एकैदिन ५० करोड फिर्ता
दशैँका बेला जनताको हातमा ५६ अर्ब थप पैसा, दशैँपछि एकैदिन ५० करोड फिर्ता
काठमाडौँ । यो सालको दशैँको बेलामा नेपालीको हातमा भएको पैसा (केन्द्रिय बैंकभन्दा बाहिर रहेको नगद) ५६ अर्ब रुपैयाँ बढेको नेपाल राष्ट्र बैंकको तत्थ्यांक छ ।
केन्द्रिय बैंकका अनुसार गएको भदौ २८ मा चलनचल्तिमा रहेको मुद्रा (क्यास इन सर्कुलेशन) ७ खर्ब ४४ अर्ब ५१ करोड रुपैयाँ बराब थियो । त्यसको भोलिपल्ट भदौ २९ बाट राष्ट्र बैंकले सुकिला नोट बजारमा पठाउन थाल्यो ।
यसरी नोट साटेकै कारणले चलनचल्तिको मुद्रा घट्ने वा बढ्ने चाहीँ होइन । नोट साट्दा बराबर मूल्यका नाट बुझाउनु पर्ने भएकाले राष्ट्र बैंकबाट जति पैसा बाहिर जान्छ, त्यति नै मूल्यका ठूला दरको नोट केन्द्रिय बैंकमा थुप्रिन्छ ।
तर नयाँ नोट साट्ने र किनमेल गर्ने मौसम सुरु भएपछि मान्छेले पहिलेभन्दा ज्यादा नगद बोक्न थाल्छन् । त्यसले गर्दा चाहीँ चलनचल्तिमा हुने मुद्रा बढ्छ । यही कारण घटस्थपनाभन्दा अघि नै असोज ४ गतेसम्म बजारमा ८ अर्ब ११ करोडभन्दा बढी मूल्यका थप पैसा बजारमा गइसकेको थियो ।
दशैँ विदा सकेर १९ असोजमा केन्द्रिय बैंक खुल्दा यो रकम अर्को ४१ अर्ब ६१ करोडभन्दा धेरैले बढेर ८ खर्ब १ अर्ब १४ करोड नाघ्यो । यो रकम नेपाली वित्तीय प्रणालीमा चलनचल्तिमा रहेको सबैभन्दा धेरै मूल्य बराबरको पैसा हो ।
यसरी भदौ २८ देखि असोज १९ सम्म तीन हप्तामा क्यास इन सर्कुलेशन ५६ अर्ब ७२ करोड ६८ लाख रुपैयाँ हाराहारी बढेको राष्ट्र बैंकको आँकडा छ ।
यसमा अर्को राम्रो कुराचाहीँ भदौ २० गते एकै दिन राष्ट्र बैंकमा ४९ करोड ८६ लाख २१ हजार रुपैयाँ फर्किएको छ ।













