मुख्य सिजनमै खुम्चियो पर्यटक आगमन, सेप्टेम्बरमा भित्रिए ७८ हजार मात्र
काठमाडाैं । गत भदाैं २३ र २४ गते भएकाे जेनजी आन्दाेलन पश्चात नेपाल भित्रिने पर्यटककाे संख्या खुम्चिदै गएकाे छ ।
सन् २०२५ को सेप्टेम्बर महिनामा ७८ हजार विदेशी पर्यटक मात्र नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सेप्टेम्बरमा ७८ हजार ७११ पर्यटक नेपाल भ्रमणमा आएका हुन्।
सन् २०२५ को जुलाइमा ७० हजार र अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका थिए ।आँकडाअनुसार पर्यटकीय सिजनमै पर्यटक आगमन खुम्चिएको छ।
यो सङ्ख्या अघिल्लो सेप्टेम्बर २०२४ को तुलनामा १८.३ प्रतिशत कम हो। अघिल्लो वर्ष सेप्टेम्बरमा ९६ हजार ३०२ पर्यटक नेपाल भ्रमणमा आएका थिए।
बोर्डको तथ्याङ्कअनुसार सेप्टेम्बरमा भारतबाट १५ हजार ५५६ पर्यटक भित्रिएका छन् भने चीनबाट पाँच हजार २३७, अमेरिकाबाट नौ हजार ६७९, श्रीलङ्काबाट तीन हजार १५ र बङ्गलादेशबाट दुई हजार २३० पर्यटक भित्रिएका छन्।













