रियल स्टिलले गर्यो एकै वर्ष डेढ अर्बको व्यापार, वार्षिक ५० हजार टन उत्पादन क्षमता
काठमाडौं । देशकै प्रतिस्पर्धात्मक स्टिल बजारमा सक्रिय रियल स्टिल प्रालिले आफ्नो व्यापाक सकरात्मक गतिमा अघि बढाएको छ । एक वर्षको अवधिमा नै कम्पनीले व्यापार दोहोरो अंकमा बढाएको देखिन्छ ।
सन् २०२४ कम्पनीले कुल १ अर्ब २४ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । तर, एक वर्षको अवधिमा नै यस्तो व्यापार १३.२१ प्रतिशत बढाएको छ । कम्पनीले सन् २०२५ मा कुल १ अर्ब ४० करोड ५० लाख रुपैयाँ बराबरको व्यापार गर्न सफल भएको छ ।
कम्पनीले सन् २०२३ मा भने १ अर्ब २३ करोड १० लाख, सन् २०२२ मा १ अर्ब ३७ करोड ५० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
गत आर्थिक वर्षमा उल्लेखनीय कारोबार वृद्धि गरे पनि नाफाको दर भने घटेको देखिएको छ । लगातार तीन वर्षमा कारोबार वृद्धिको क्रम देखिए पनि नाफाको वृद्धिदर भने उल्टो दिशामा गएको छ ।
गत वर्ष कम्पनीले खुद नाफाको दर ९ प्रतिशतमा सीमित गरेको छ । जबकि सन् २०२४ मा यो १० प्रतिशत थियो । तर नाफाको दर घटेपनि वास्तविक नाफाको रकम भने वृद्धि भएको कम्पनीले उपलब्ध गराएको प्रतिवेदनमा उल्लेख छ ।
कम्पनीले सन् २०१८ मा स्थापना भई २०२० बाट व्यावसायिक उत्पादन सुरु गरेको हो । रियल स्टिलले एमएस पाइप, सटर पत्ति, सटर गाइड लगायतका स्टिलजन्य सामग्री उत्पादन गर्दै आएको छ ।
वार्षिक ५० हजार १ सय ९८ मेट्रिक टन उत्पादन क्षमताको यो कम्पनी नेपाली बजारमा मात्र नभई भारतीय बजारबाट आवश्यक कच्चा पदार्थ आयात गरेर उत्पादन आपूर्ति गर्दै आएको छ ।
उच्च प्रतिस्पर्धा रहेको स्टिल उद्योगमा बजार विस्तार गर्न चुनौतीपूर्ण रहेको कम्पनीको भनाइ छ । प्रतिस्पर्धीको चापका कारण मूल्य निर्धारणदेखि उत्पादन लागतसम्मको व्यवस्थापन कठिन भएको बताइन्छ ।
कम्पनीले हालसम्म १ अर्ब ३६ करोड २ लाख रुपैयाँ बराबरको कर्जा रेटिङ गराएको छ । यसमा ७५ करोड ३८ लाख रुपैयाँ दीर्घकालीन कर्जा र ६१ करोड ५० लाख रुपैयाँ अल्पकालीन कर्जा समावेश छन् ।
अध्यक्ष प्रेमकुमार जतियाको नेतृत्वमा कम्पनीले उत्पादन क्षमता र बजार दुवै विस्तारका रणनीति अघि बढाइरहेको छ । आगामी वर्षमा प्रतिस्पर्धात्मक मूल्यसहित गुणस्तरीय उत्पादनमार्फत बजार हिस्सेदारी बढाउने लक्ष्य लिएको छ ।













