सूचीकृतमध्ये २१ कम्पनीको लाभांश घोषणा, कसले कति दिने भए नगद र बोनस ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृतमध्ये झन्डै दुई दर्जन कम्पनीहरुले लाभांश घोषणा गरेका छन् ।
हालसम्म २१ वटा सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।
लाभांश घोषणा गर्नेमा ६ वटा वाणिज्य बैंक छन् भने दुई वटा विकास बैंक छन् । यस्तै, लघुवित्त तर्फ दुई वटा, फाइनान्स, जलविद्युत कम्पनी लगायतले लाभांश घोषणा गरेका हुन् ।
वाणिज्य बैंक तर्फ हालसम्म सिटिजन्स, एभरेष्ट, सानिमा, सिद्धार्थ, ग्लोबल आइएमई र माछापुच्छ्रे रहेका छन् । गत आर्थिक वर्षको मुनाफाबाट यो वर्ष सिटिजन बैंकले आफ्ना सेयरधनीलाई ५ प्रतिशत बोनस र कर प्रयोजनसहित ०.२६ प्रतिशत नगद गरि ५.२६ प्रतिशत लाभांश दिने भएको छ ।
बैंक तर्फ सबैभन्दा धेरै एभरेष्ट बैंकले दिएको छ । बैंकले यो वर्ष ६ प्रतिशत बोनस र १४ प्रतिशत नगद गरि कुल २० प्रतिशत लाभांश दिने भएको हो ।
यस्तै, ग्लोबल आइएमई बैंकले ८ प्रतिशत नगद लाभांश, सानिमाले ७.३७ प्रतिशत नगद लाभांश, माछापुच्छ्रेले ४ प्रतिशत बोनस र ४ प्रतिशत नगद लाभांश, सिद्धार्थले ५ प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद लाभांश दिने भएका छन् ।
यता, विकास बैंक तर्फ भने कामना सेवाले१५.७९ प्रतिशत लाभांश दिने भएको छ । बैंकले यो वर्षका लागि १० प्रतिशत बोनस र ५.७९ प्रतिशत नगद लाभांश दिएको हो । जुन वार्षिक साधारण सभाबाट पारित पनि भइसकेको छ । यस्तै, मुक्तिनाथ विकास बैंकले पनि आफ्ना सेयरधनीलाई १३.५३ प्रतिशत बोनस र ४.६७ प्रतिशत नगद गरि कुल १८.२० प्रतिशत लाभांश दिने भएको छ ।
यस्तै, आरएसडिसी लघुवित्तले ८ प्रतिशत नगद लाभांश, गुराँस लघुवित्तले १५ प्रतिशत (४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद) लाभांश दिने भएका छन्।
यता, भगवती हाइड्रोपावरले १४ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद गरि कुल २० प्रतिशत, सिक्लेस र मिड सोलु हाइड्रोपावरले समान १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद दिने भएका छन् । यता, युनिभर्सल पावरले ९ प्रतिशत बोनस र ०.४७ प्रतिशत नगद लाभांश, अरुण भ्यालीले ८ प्रतिशत बोनस र ०.४२ प्रतिशत नगद लाभांश दिने भएका छन् ।
त्यसैगरि युनिलिभर नेपालले प्रतिकित्ता १ हजार ८४२ रुपैयाँ नगद लाभांश बाँड्ने भएको छ । यता, नेपाल ल्युबले २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद लाभांश दिने भएको छ ।
फाइनान्स तर्फ मञ्जुश्रीले मात्रै लाभांश घोषणा गरेको छ । यो वर्ष कम्पनीले आफ्ना सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश दिने भएको हो ।
यस्तै, मुक्तिनाथ कृषि कम्पनीले पनि ८ प्रतिशत बोनस सेयरर ०.४२ प्रतिशत नगद लाभांश दिने भएको छ । यता, नेपाल पूर्वाधार बैंकले पनि ६.३२ प्रतिशत नगद लाभांश दिने घोषणा गरिसकेको छ ।













