हबिबको स्वामित्व बेच्न राष्ट्र बैंकले दियो स्वीकृति, तिहारपछि हक हस्तान्तरण
काठमाडौं । नेपाल राष्ट्र बैंकले हिमालयन बैंकमा रहेको पाकिस्तानी बहुराष्ट्रिय बैंक हबिबको सेयर विक्री गर्न अन्तिम स्वीकृति दिएको छ । केन्द्रिय बैंकका गभर्नरको अध्यक्षतामा बस्ने व्यवस्थापन समितिले सेयर विक्री गर्न स्वीकृति प्रदान गरेको हो ।
यसरी स्वीकृति दिएको पत्र आइतबारमात्रै बैंकमा प्राप्त भएको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणाले अर्थपथलाई बताए । उनले भने, ‘अब नेपाल धितोपत्र बोर्ड, नेप्से लगायतका नियामकको अनुमति लिएर कम्पनी रजिस्ट्रारबाट स्वामित्व हस्तान्तरण हुन्छ ।’
विभिन्न निमायसँग समन्वय गरेर कम्पनी रजिस्ट्रारबाट स्वामित्व हस्तान्तरण गर्न तिहार पछिसम्म लाग्नसक्ने सीईओ राणाले जानकारी दिए । त्यसपछि नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले हिमालयन बैंकको सबैभन्दा ठूलो संस्थापक शेयर धनी बन्ने छ ।
तीन दशकअघि निजी तौरबाट बैंक खोल्ने र चलाउने अभ्यास सुरु हुँदै गर्दा हबिबले नेपालमा आफ्नो पाउ राखेको थियो । त्यसबेला नेपाल राष्ट्र बैंकका संस्थापक गभर्नर हिमालय शम्शेर जबरा र उनका ज्वाइँ पृथ्वीबहादुर पाँडेको नेतृत्वमा ३३ वर्षअघि खुलेको हिमालयन बैंकमा २० प्रतिशत लगानी गरेको थियो ।
पछिल्लो समय हिमालयनले सिभिल बैंकलाई गाभेपछि उसको स्वमित्व १३ प्रतिशतभन्दा पनि कम भएको थियो । हबिबले सिभिलसँग मर्जरमा जानुअघि नै आफ्नो स्वामित्व बेच्न खोजेको हो । थुप्रै प्रयासपछि अन्तत: हबिबलाई नेपालबाट बाहिरिने बाटो खुलेको हो ।
हबिबले आफ्नो नाममा रहेको २ करोड ८० लाख १२ हजार ४४७ कित्ता सेयर नेशनल लाइफ इन्स्योरेन्सलाई विक्री गर्न लागेको छ । यसका लागि नेशनल लाइफले प्रतिकित्ता ११८ रुपैयाँ ८८ पैसामा सेयर किन्न राजि भएपछि गत साउन अन्तिम साता सम्झौता भएको थियो ।
यसरी नेशनल लाइफले ३ अर्ब ३३ करोड रुपैयाँभन्दा धेरै पैसा तिर्ने छ ।
त्यस अघि हिमालयन बैंकले हबिबको नाममा रहेको स्वामित्व विक्रीका लागि गत जेठ ३० गते ३५ दिने सूचना जारी गरेको थियो । हिमालयनका विद्यमान संस्थापक शेयरधनीलाई विक्री सेयर विक्री गर्न प्रस्ताव आह्वान गरिएको उक्त सूचनाका आधारमा नेशनल लाइफले पुरै सेयर किन्ने प्रस्ताव हालेको थियो ।
हबिलले आफ्नो स्वामित्व प्रतिकित्ता ११२ रुपैयाँ ८० पैसा न्यूनतम मूल्य तोकेर विक्रीका लागि राख्यो । नेशनल लाइफले उक्त भाउमाथि ६ रुपैयाँ ८ पैसा बढीमा सेयर किन्ने प्रस्ताव अघि सार्यो । सोही प्रस्ताव उपर भएको सेयर खरीदविक्री सम्झौतालाई केन्द्रिय बैंंकले स्वीकृति दिएको हो ।
अहिले नै हिमालयन बैंकमा नेशनल लाइफको १.२५ प्रतिशत स्वामित्व छ । अब हबिबको सेयर पनि किनेपछि हिमालयन बैंकमा करीब १४ प्रतिशतको हिस्सेदारीसँगै नेशनल लाइफ सबैभन्दा ठूलो लगानीकर्ता बन्ने छ । त्यसपछि हबिबले पठाएको जस्तो सञ्चालक नेशनल लाइफले पठाउने छ ।
पाकिस्तानी बैंक हबिब भने नेपालबाट बाहिरिन चाहेको धेरै भयो । उसले पहिले नै दुई पल्ट सेयर बेच्ने प्रयास गरेको थियो । करीब ४ वर्षअघि बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेशन (सीडीसी)ले सेयर किन्न खोज्दा बैंकका अरु सञ्चालकहरुले विरोध गरेपछि त्यो प्रक्रिया यत्तिकै रोकिएको थियो ।
२०८० मङ्सिरमा हबिबको स्वामित्व हिमालयन रिइन्स्योरेन्सले किन्न चाहेको थियो । भर्खरै बनेको कम्पनीले बैंकको सेयर किन्न खोजेपछि राष्ट्र बैंकका तत्कालिन गभर्नर महाप्रसाद अधिकारीले यो प्रक्रियालाई स्वीकृति नै नदिएर रोकिदिएका थिए । केन्द्रिय बैंकले हिमालयन रिइन्स्योरेन्सलाई आफ्नो नियमन क्षेत्रमा भित्र्याउन नचाहेको भनेर विरोध पनि भएको थियो ।
त्यो बेला हबिब र हिमालयन रिबीच प्रतिकित्ता १३० रुपैयाँमा शेयर किनबेच गर्ने तय भएको थियो । त्यो प्रक्रिया रोकिएसँगै नेपाली वित्तीय प्रणालीमा सिथिलता देखिन थाल्यो र बैंकहरुको वासलात पहिलेभन्दा कमजोर बन्दै गयो । यही कारण हबिबले नेशनल लाइफलाई पहिले तय भएकोभन्दा सस्तो भाउमा सेयर बेच्न राजि भएको हो ।













