इलाममा वैकल्पिक मार्ग मार्फत साना सवारी सञ्चालनको तयारी - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

इलाममा वैकल्पिक मार्ग मार्फत साना सवारी सञ्चालनको तयारी



इलाम । भारी वर्षापछि बाढीले क्षति पुर्‍याएको इलाम–राजदुवाली सडकखण्ड अवरुद्ध भएपछि वैकल्पिक मार्गमार्फत साना सवारी साधन सञ्चालनको तयारी थालिएको छ ।

इलाम नगरपालिका–९ को जोगमाई खोलामा डाइभर्सन निर्माण भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । इलाम सडक डिभिजनमार्फत १० वटा ह्युम पाइप प्रयोग गरेर डाइभर्सन बनाउने कार्य तीव्र गतिमा भइरहेको छ । आज साँझसम्म सम्पन्न गर्ने लक्ष्य रहेको बताइएको छ ।

गत असोज १८ गतेको बाढीले असारमा निर्माण गरिएको बेलिब्रिज बगाएपछि सडक अवरुद्ध छ । यसले इलाम सदरमुकामको तिल्केनीदेखि गोदकसम्मको यातायात ठप्प पारेको छ । हाल अस्थायी रूपमा तिल्केनी–बज्रदेवी–नामसालिङ–नयाँबजार–फिक्कल मार्गमा साना सवारी चलाइएको छ ।

ठूला सवारीका लागि भने वैकल्पिक मार्ग अझै पहिचान हुन सकेको छैन । तीव्र मोड र साँघुरा बाटोले जोखिम बढाउने भएकाले सावधानी अपनाउन अधिकारीहरूले आग्रह गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्