जेनजी आन्दोलनमा पिडितलाई शिखर इन्स्योरेन्सको द्रुत गतिमा दाबी भुक्तानी, हालसम्म ४३ करोड वितरण
काठमाडौं । शिखर इन्स्योरेन्सले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट भएको भौतिक सम्पतीमा भएको क्षतिको बीमा दाबीको भुक्तानी द्रुत गतिमा भइरहेको कम्पनीले जनाएको छ ।
हालसम्म कम्पनीमा कुल १७४ विमितहरुबाट ४३३ वटा बीमा दाबी प्राप्त भएकोमा हालसम्म २२४ वटा बीमा दाबीको रु ४३ करोड भुक्तानी भएको जानकारी दिएको छ ।
कम्पनीमा हालसम्म प्राप्त बीमा दाबी संख्याको ५२ प्रतिशत दाबीको भुक्तानी भएको छ । हालसम्म परेको कुल दाबी रकम रु २४१ करोड मध्ये कम्पनीको खुद हिस्सा करिब रु ३७ करोड मात्र हुने कम्पनीले जनाएको छ ।
कम्पनीले विमितहरुबाट बीमा दाबीका लागि आवश्यक कागजातहरु पूर्ण रुपमा प्राप्त नभएको अवस्थामा समेत भौतिक रुपमा दाबी यकिन गरी क्षतिको प्रकृति अनुरुप सर्भेयरको प्रतिवेदनको आधारमा विमितहरुलाई अग्रिम दाबी भुक्तानी गर्दै आएको छ।
यस विषम परिस्थितिमा विमितहरुबाट बीमा दाबीका लागि आवश्यक कागजात पेश गर्ने सन्दर्भमा प्रहरी कार्यालयबाट आवश्यक प्रहरी प्रतिवेदन तथा पूर्ण रुपमा जलेर नष्ट भएको मोटरको दर्ता खारेजको प्रमाणपत्र प्राप्त हुन भएको ढिलाइको कारण बीमा दाबीको पूर्ण रुपमा फछ्यौट गर्न विलम्व भइरहेको हुँदा सम्बन्धित निकायहरुबाट बीमा दाबीको लागि आवश्यक कागजात सहज रुपमा यथाशिघ्र उपलब्ध गराइदिनुहुन समेत आग्रह गरेको छ ।
दाबी प्रकयालाई सहज र सरल बनाउन कम्पनीबाट सरलिकृत दाबी प्रकृया, डिजिटल सेवाका साथै, दाबी सहायता डेस्क र द्रुत अनुगमन सेवा प्रदान गर्दै आएको कम्पनीको भनाइ छ ।
यस्तै कम्पनीबाट खटाइएका सर्भेयर तथा कम्पनीका कर्मचारीहरुबाट क्षति मुल्याकंनका लागि ग्राहकहरुलाई प्रत्यक्ष सहजीकरण समेत गर्दै आएको छ ।
कम्पनीबाट ग्राहकहरुलाई सरल तथा सहज बीमा सेवा प्रदान गर्ने उद्धेश्य सहित ३६५ दिन तथा २४ घण्टा उपलब्ध हुने गरी कल सेन्टर सेवाको समेत सुरुवात गरिसकेको जानकारी दिएको छ ।
बीमा दाबी सम्बन्धमा कम्पनीबाट खटाइएका कुनै सर्भेयरको सेवा सम्बन्धमा केहि गुनासो भएमा वा बीमा दाबी सहजिकरणका लागि कम्पनीको सम्बन्धित कर्मचारी वा दाबी विभागमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ । यसका लागि विस्तृत सम्पर्क ठेगाना तथा नम्बरहरु कम्पनीको वेवसाइटमा उल्लेख गरिएको छ ।
आगामी दिनहरुमा समेत ग्राहकको विश्वासलाई अझ मजबुत बनाउन कम्पनी निरन्तर कटिवद्ध रहेको बताइएको छ । कम्पनीबाट हरेक प्रतिकुल अवस्थामा अझ सरल सहज र प्रभावकारी सेवा प्रदान गरी राष्ट्रको आर्थिक विकासका लागि कार्य गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।













