बीमा क्षेत्रमा दोहोरो अंकको ग्रोथ : जीवन र निर्जीवन दुवै चम्किए, कस्तो चल्दैछ व्यापार ?
काठमाडौं । बीमा व्यापार दोहोरो अंकमा वृद्धि भएको छ । हाल नेपालमा संचालित बीमा कम्पनीहरुले दुई महिनामै झन्डै साढे ४४ अर्ब हाराहारीको व्यापार गरेका छन् । व्यवसायमा साढे १६ प्रतिशत ग्रोथ भएको देखिन्छ ।
विशषेगरि नेपाल बीमा प्राधिकरणले हालै उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८२–८२ को साउन र भदौ महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।
सो अवधिमा कम्पनीहरुले ४४ अर्ब २८ करोड ३३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो गत आवको सोही अवधिको तुलनामा भने १६.४९ प्रतिशत धेरै हो । गत वर्षको साउन र भदौ महिनामा कम्पनीहरुले ३८ अर्ब १ करोड ४९ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका थिए ।
व्यवसाय बढाउन आक्रामक देखिए जीवन बीमक, दुई महिनामै ३६ अर्बको व्यापार
प्राधिकरणका अनुसार जीवन बीमा व्यापार वृद्धि तिव्र देखिएको छ । कम्पनीहरुले दुई महिनामै ३५ अर्ब ९९ करोड रुपैयाँ बीमा शुल्क संलकन गरेका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा १९.३४ प्रतिशत धेरै हो । गत वर्षको साउन र भदौमा जीवन बीमा कम्पनीहरुले ३० अर्ब १५ करोड ७८ लाख रुपैयाँ बराबरको व्यापार गरेका थिए ।
कम्पनीहरु नयाँ व्यवसाय भित्र्याउन पनि निकै तगडा देखिएका छन् । नयाँ व्यवसाय अर्थात् प्रथम बीमा शुल्क आर्जन पनि २७.७७ प्रतिशत वृद्धि भएको छ । समिक्षा अवधिमा कम्पनीहरुको यस्तो बीमा शुल्क आर्जन ७ अर्ब २६ करोड ९६ लाख रुपैयाँ कायम भएको छ । यता, नविकरण मार्फत संकलन हुने बीमा शुल्क पनि १७.३८ प्रतिशत वृद्धि भई २८ अर्ब ८२ करोड ४ लाख रुपैयाँ कायम भएको छ । यस्तो बीमा शुल्क गत वर्षको भदौ अन्तसम्म २४ अर्ब ४६ करोड ८४ लाख रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा कुल सक्रिय बीमालेखको संख्या पनि १५.६२ प्रतिशत बढेर १ करोड ५९ लाख ३६ हजार ७७१ पुगेको छ । जबकि, गत वर्षको सोही अवधिमा यस्तो संख्या १ करोड ३७ लाख ८४ हजार ८८ वटा थियो ।
दुई महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुले ११ लाख ९८ हजार ६४३ वटा बीमालेख जारी गरेका छन् । जबकि, गत वर्षको सोही अवधिमा १० लाख ९ हजार ४७६ वटा मात्रै रहेको थियो । प्राधिकरणका अनुसार सो अविधमा जीवन बीमालेख संख्या (म्यादि, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेख बाहेक) ५७ लाख ९८ हजार ७८३ वटा, म्यादी र लघु म्यादी जीवन बीमालेख संख्या ७५ लाख ४५ हजार ९३३ र वैदेशिक रोजगार बीमालेख संख्या २५ लाख ९२ हजार ५५ रहेको छ ।
निर्जीवन बीमा व्यवसाय पनि साढे ५ प्रतिशत बढ्यो, कम्पनीले बेचे झन्डै ५ लाख बीमालेख
समिक्षा अवधिमा निर्जीवन बीमा व्यवसायको ग्रोथ पनि साढे ५ प्रतिशत देखिएको छ ।
चालु आवको दुई महिनामा कम्पनीहरुले ८ अर्ब २९ करोड ३२ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ५.५५ प्रतिशत बढी हो । जबकि, गत वर्षको साउन र भदौमा निर्जीवन बीमा कम्पनीहरुले ७ अर्ब ८५ करोड ७० लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका थिए ।
सो अवधिमा कम्पनीहरुले ४ लाख ९० हजार ३०७ वटा बीमालेख बिक्री गरेका छन् । यो गत आवको तुलनामा भने ४.२१ प्रतिशत धेरै हो । गत आवको साउन र भदौमा कम्पनीहरुले ४ लाख ७० हजार ५१४ वटा बीमालेख बिक्री गरेका थिए ।
४९.१९ प्रतिशत जनसंख्या बीमाको दायरामा
कम्पनीहरुको व्यापार वृद्धिसँगै बीमाको दायरामा पनि बढ्दै गएको देखिन्छ । हाल बीमाको दायरामा आएको जनसंख्या प्रतिशत ४९.१९ प्रतिशत पुगेको छ । यो म्यादि, लघु म्यादि र वैदेशिक रोजगार बीमालेखसहितको प्रतिशत हो ।
गत वर्षको भदौ मसान्तसम्म यस्तो प्रतिशत ४२.९२ प्रतिशत रहेको थियो । एक वर्षको अवधिमा थप ६.२७ प्रतिशत जनसंख्यामा बीमाको पहुच पुगेको देखिन्छ ।
तर, म्यादि, लघु म्यादि र वैदेशिक रोजगार जीवन बीमालेख बाहेक बीमाको दायरामा आएको जनसंख्या भने १७.७५ प्रतिशत मात्रै छ । जबकि, गत वर्षको सोही अवधिमा यस्तो संख्या १७.६० प्रतिशत थियो ।













