आन्दोलनपछिको दावी भुक्तानीमा तीव्रता: बीमा कम्पनीमा सवा २३ अर्ब दावी, दुई अर्ब भुक्तानी, कसले कति दिए ?
काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्षति उपर बीमा कम्पनीहरुले झन्डै २ अर्ब दावी भुक्तानी दिएका छन् । सो क्षति उपर बीमा कम्पनीहरुमा दावी पर्ने क्रम र भुक्तानी दिने सिलसिल बढ्दो छ ।
जेनजी आन्दोलनका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा व्यापाक तोडफोड तथा आगजनी भएको थियो । धेरै गाडी तथा अन्य भौतिक संरचना जलेर नष्ट भएका छन् । सोही क्षति उपर अहिले निर्जीवन बीमा कम्पनीहरुमा दावी पर्ने क्रम बढ्दो छ ।
नेपाल बीमा प्राधिकरणका अनुसार असोज २८ गते मंगलबारसम्म बीमा कम्पनीहरुमा क्षति उपर २३ अर्ब १९ करोड ३६ लाख रुपैयाँ बराबरको दावी पेश भएका छन् । कम्पनीहरुले अग्रिम भुक्तानीसहित १ अर्ब ९५ करोड ४७ लाख रुपैयाँ दावी भुक्तानी दिएका छन् ।
प्राधिकरणका अनुसार सम्पत्ति बीमा अन्तर्गत १९ अर्ब ७१ लाख रुपैयाँ दावी परेको छ । ६७३ वटा दावी पेश भएकोमा कम्पनीहरुले हालसम्म १ अर्ब ५५ करोड १७ लाख रुपैयाँ भुक्तानी दिएका हुन् ।
यस्तै, मोटर बीमा अन्तर्गत पनि ३६ करोड २५ लाख रुपैयाँ दावी भुक्तानी दिइसकेका छन् । जबकि, यस्तो बीमा अन्तर्गत कम्पनीहरुमा ३ अर्ब ४४ करोड ९५ लाख रुपैयाँ बराबरको २ हजार २५६ वटा दावी पेश भएका छन् ।
यस्तै, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमा अन्तर्गत ३३ करोड १८ लाख रुपैयाँ बराबरको दावी परेको छ । तर, हालसम्म कम्पनीहरुले ३ करोड ८१ लाख रुपैयाँ भुक्तानी दिएका छन् । यता, परिवहन बीमा अन्तर्गत १ करोड ६३ लाख रुपैयाँ दावी पेश भएको छ भने अन्य बीमा अन्तर्गत भने ३८ करोड ८६ लाख रुपैयाँ बराबरको दावी पेश भएको प्राधिकरणले जनाएको छ ।
सिद्धार्थले दियो ७८ करोड, शिखरले ४२ करोड बढी, कसले कति दिए ?
जेनजी आन्दोलनको क्षति उपर सबैभन्दा धेरै ठुलो भुक्तानी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले दिएको छ । हालसम्म कम्पनीमा ५ अर्ब ४८ करोड ५४ लाख रुपैयाँ बराबरको दावी पेश भएका छन् । तर, कम्पनीले ७८ करोड ८ लाख रुपैयाँ भुक्तानी गरेको छ ।
दोस्रो धेरै शिखर इन्स्योरेन्स कम्पनीले ४२ करोड २७ लाख रुपैयाँ भुक्तानी दिएको छ । शिखरमा कुल २ अर्ब ४१ करोड ११ लाख रुपैयाँ बराबरको दावी परेको छ ।
यस्तै, आइजिआई प्रुडेन्सियलले ३० करोड ७६ लाख, हिमालयन एभरेष्टले २४ करोड ५३ लाख, नेकोले ८ करोड ३९ लाख, नेपाल इन्स्योरेन्सले ५ करोड २७ लाख, सगरमाथा लुम्बिनीले २ करोड ७९ लाख, युनाईटेड अजोडले १ करोड ७८ लाख रुपैयाँ दावी भुक्तानी दिएका छन् ।














