असोज १८ गतेको बाढी–पहिरो: ३६४ घर र ४२ गाडीमा क्षति, बीमा कम्पनीमा साढे तीन अर्बको दावी
काठमाडौं । गत असोज १८ गतेको अविरल वर्षा तथा बाढी पहिरोका कारण मात्रै बीमा कम्पनीहरुमा झन्डै साढे तीन अर्बको दावी परेको छ ।
असोज १८ गते वर्षाका कारण देशभरका विभिन्न क्षेत्रमा क्षति पुर्याएको थियो । लगातार वर्षाले देशका विभिन्न स्थानमा नदी कटान, डुबान र बाढीका कारण ठूला भौतिक क्षति भएको थियो ।
सोही क्षति उपर हाल निर्जीवन बीमा कम्पनीहरुमा ३ अर्ब २६ करोड ७६ लाख रुपैयाँ बराबरको दावी पेश भएको छ ।
असोज ३० गतेसम्म कम्पनीहरुमा ७०४ वटा दावी पेश भएका हुन् । नेपाल बीमा प्राधिकरणका अनुसार सबैभन्दा ठुलो दावी सम्पत्ति बीमा अन्तर्गत परेको छ । सम्पत्ति बीमा अन्तर्गत २ अर्ब ७० करोड ६९ लाख रुपैयाँ बराबरको ३६४ वटा दावी पेश भएको छ ।
यस्तै, इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमा अन्तर्गत ४८ करोड ४ लाख रुपैयाँ बराबरको ८७ वटा दावी पेश भएको प्राधिकरणले जनाएको छ ।
यता, कृषि तथा बाली बीमा अन्तर्गत पनि २०९ वटा दावी पेश भएको देखिन्छ । यस्तो बीमामा ४ करोड ३२ लाख ६३ हजार रुपैयाँ बराबरको दावी परेको छ ।
यस्तै मोटर बीमा (निजी) तर्फ २ करोड ५२ लाख र सार्वजनिक तर्फ १ करोड ५ लाख रुपैयाँ बराबरको दावी परेको छ । मोटर बीमामा ४२ वटा निजी तथा सार्वजनिक सवारीमा क्षति पुर्याएको देखिन्छ । अन्य बीमा अन्तर्गत भने १२ लाख रुपैयाँ बराबरको दावी परेको छ ।
कुन कम्पनीमा कति दावी पर्यो ?
असोज १८ गतेको क्षति उपर सबैभन्दा ठुलो बीमा दावी शिखर इन्स्योरेन्समा परेको छ । प्राधिकरणका अनुसार शिखरमा ६० करोड ९४ लाख रुपैयाँ बराबरको ५४ वटा दावी परेको छ ।
यता, सिद्धार्थ प्रिमियरमा पनि ५० करोड ६४ लाख रुपैयाँ बराबरको ६८ वटा र एनएलजी इन्स्योरेन्स कम्पनीमा ५० करोड ४७ लाख रुपैयाँ बराबरको ४३ वटा दावी परेको हो ।
प्राधिकरणका अनुसार हिमालयन एभरेष्टमा ३७ करोड ५ लाख, नेशनल इन्स्योरेन्समा २९ करोड ४९ लाख, ओरिएन्टलमा २० करोड ७७ लाख, आइजीआई प्रुडेन्सियलमा १६ करोड ९५ लाख, युनाईटेड अजोडमा १२ करोड ५६ लाख, नेकोमा १२ करोड ५६ लाख, सगरमाथा लुम्बिनीमा १२ करोड ९ लाख, प्रभूमा १० करोड ४६ लाख र नेपाल इन्स्योरेन्समा १० करोड १८ लाख रुपैयाँ बराबरको दावी परेका छन् ।
यता, सानिमा जिआइसीमा २ करोड ८५ लाख, ट्रस्ट माइक्रो इन्स्योरेन्समा ८ लाख २० हजार, स्टार माइक्रोमा ८ लाख रुपैयाँ बराबरको दावी परेको प्रारम्भिक विवरण छ ।














