डेडिकेटेड तथा ट्रंक लाइनको पैसा उठाएर छोड्ने तयारीमा कुलमान, मङ्गलवार ६ उद्योगको लाइन कट
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुँदै विभिन्न उद्योगले प्रयोग गरेका लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनको पैसा उर्जामन्त्री बनेपछि कुलमान घिसिङले उठाएरै छाड्ने भएका छन् ।
जेनजी आन्दोलनपछि उर्जामन्त्री बनेका कुलमान घिसिङको पहिलो निर्णय नै लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइन बिजुलीको पैसा उठाउने थियो । सोही अनुसार एक महिना समयमा कम्तीमा प्रथम किस्ता बापतको पैसा तिर्न उद्योगीलाई आग्रह गरिएको थियो ।
उद्योगीहरूले बिलिङमै समस्या रहेको भन्दै पैसा तिर्न नसक्ने बताउँदै सरकारलाई हार गुहार गरिरहेको थियो । गत साता उद्योगीहरूले प्रधानमन्त्री िशुसिला काकीलाई भेटेर आफ्ना समस्या राख्न खोज्दा समेत कार्कीले मन्त्रालयबाटै समाधान खोज्नु भन्दै पन्छिएकी थिइन ।
मङ्गलवार प्राधिकरणले तोकेको समय सीमा सकिएकाले ६ उद्योगको लाइन काटिएको छ । जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डष्ट्रिज र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत् लाइन मङ्गलवार बिहानै काटिएको हो ।
जसमा सिवम् सिमेन्टको ७७ करोड ८८ लाख, अर्घाखाँचीको ४४ करोड ८४ लाख, त्रिवेणीको ३२ करोड १० लाख, जगदम्बाको १ अर्ब ६० करोड र घोराहीको ५० करोड ८५ लाख बक्यौता तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरणले तिहारको सार्वजनिक बिदामा पनि उद्योगको बक्यौता रकम तिर्न सक्ने गरी काउन्टरको व्यवस्था गरेको जनाएको छ ।













