तिहारमा दिदि-बहिनीलाई 'बीमालेख' उपहार किन नदिने ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

तिहारमा दिदि-बहिनीलाई ‘बीमालेख’ उपहार किन नदिने ?



काठमाडौं । तिहार उज्यालो, रङ, मिठास र आत्मीय सम्बन्धहरूको पर्व । नेपाली समाजमा दसैंपछिको दोस्रो ठूलो पर्वको रूपमा मनाइने तिहार केवल चाड होइन । यो आत्मीयता गाढा बनाउने अवसर पनि हो ।

विशेषगरी भाइटीकाको दिन दाजुभाइ र दिदीबहिनीबीच स्नेह, श्रद्धा र संरक्षणको अनुपम आदान–प्रदान हुन्छ । सप्तरंगी टिका, मखमलीको माला, हातले बनाइएका परिकार अनि सामथ्र्य अनुसार दिइने उपहारहरूले सम्बन्धलाई अझै बलियो बनाउँछ ।
तर, अब सोच बदल्ने समय आएको छ । किनकि अबको तिहार केवल परम्पराको निरन्तरता होइन नभई भविष्यप्रति उत्तरदायी हुने अवसर पनि हो ।

दाजु–भाइको निधारमा लगाइने टिका दीर्घायुको कामना हो । तर, ती कामनाहरू केवल शब्दमा सीमित हुँदा के अर्थ ? यदि तिनै कामनामा जीवनभरको सुरक्षा मिसाउन सकियो भने त्यो उपहार अझ गहकिलो र अर्थपूर्ण हुन्छ । त्यसैले यसपालिको तिहारबाटै दिदीबहिनीलाई जीवन बीमालेख उपहार दिने प्रचलन सुरुवात गर्न सकिनेछ । बीमालेख उपहार केवल अहिलेको खुशी नभई भोलिको सुनिश्चितता पनि हो ।

तिहार लगायतका पर्वमा हामी घडी, लुगा, ग्याजेट जस्ता उपहार दिन्छौं । केही महिना चल्छ, अनि बिर्सिन्छौं । तर, बीमालेख त्यस्तो उपहार हो, जसले जीवनका चुनौतीपूर्ण घडीमा साथ दिन्छ । दुर्घटना, स्वास्थ्य जोखिम, जीवन सुरक्षा वा भविष्यको सुनिश्चितता । बीमाले यी सबैको जवाफ दिन सक्छ ।

उपहारको रूपमा बीमालेख किन ?

तिहारमा हामी झिलिमिली बत्ती, लत्ताकपडा, परिकार, सजावट, उपहार खरिदका लागि हजारौं रुपैयाँ खर्च गर्छौं । तर, त्यही खर्चमा कुनै बीमा योजना लिएर दिदी–बहिनीलाई उपहार दिइयो भने ? त्यो केवल उपहार होइन भरोसा, जिम्मेवारी र भविष्यप्रतिको माया हुनेछ ।

पश्चिमी मुलुकहरूमा बीमा उपहार दिने चलन बढ्दो छ । जन्मदिन, विवाह, चाडपर्वका अवसरमा बीमालेख उपहार दिनु सांस्कृतिक रूपान्तरण र सचेत नागरिकको चिनारी बन्न थालेको छ ।

भाइटीकामा दक्षिणा दिने चलन छ । बालबालिकाहरूलाई १००–२०० रुपैयाँदेखि हजारौंसम्म दिने प्रचलन सामान्य भइसकेको छ । तर, सोचौं त । त्यो रकम थोरै–थोरै गरेर उनीहरूको नाममा जीवन बीमा वा शिक्षा बीमा पोलिसी लिएर उपहार दिन सकिँदैन ? अझ, वृद्ध आमा–बाबु, अविवाहित दिदीबहिनी वा विवाहित परिवारिक सदस्यहरूको नाममा बीमा पोलिसी खरिद गरियो भने त्यो उपहार कत्तिको मन छुने होला ? बीमा केवल ‘पैसाको कुरा’ होइन । कुनै दिन पर्न सक्ने कठोर परिस्थितिमा जीवन बचाउने कवच हो ।

बीमा उपहार दिने चलन शुरु गर्नु भनेको एक नयाँ संस्कारको सुरुवात गर्नु पनि हो । हामीले कसैलाई कपडा दिन्छौं, त्यो पुरानो हुन्छ । ग्याजेट दिन्छौं, त्यो बिग्रन्छ । मिठाइ दिन्छौं, त्यो सकिन्छ । तर बीमालेख दिन्छौं भने त्यो सम्झनासँगै रक्षा बनिरहन्छ ।
बीमा उपहार केवल आर्थिक सुरक्षा मात्र होइन, सम्बन्धप्रति तपाईंको जिम्मेवारी, माया र दूरदृष्टिको पनि प्रतिबिम्ब हो । त्यो उपहार जसले तपाईंको अनुपस्थितिमा पनि तपाईंको माया बोलिरहन्छ । तिहारको रङ, उज्यालो, मिठास र ध्वनि जस्तै बीमा उपहारले त्यो माया अझ गहिरो र स्थायी बनाउँछ ।

यसपालिको तिहारदेखि नै एक फरक सोच ल्याऔं । झिलिमिली बत्तीसँगै भरोसा झल्किने बीमालेख उपहार दिऔं । परिकारसँगै सुरक्षा दिने पोलिसी उपहार दिऔं । सप्तरंगी टिका जस्तै जीवनको सातवटा आयामलाई सुरक्षित बनाउने एउटा सानो तर महत्वपूर्ण कदम उठाऔं । यी पर्वहरू केवल परम्परा मात्र हैनन्, परिवर्तनका अवसर हुन् । यो तिहारमा गिफ्ट होइन, ग्यारेन्टी दिऔं ।


प्रतिक्रिया दिनुहोस्