अनिश्चित कालका लागि बन्दभयो देशैकै ठूलोमध्येको एक होटेल हायात - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

अनिश्चित कालका लागि बन्दभयो देशैकै ठूलोमध्येको एक होटेल हायात



काठमाडौं । देशकै सर्वश्रेष्ठ होटेलहरुमध्येको एक हायात रिजेन्सी काठमाडौं (तारागाउँ रिजेन्सी होटल) अनिश्चितकालका लागि बन्द भएको छ ।

भदौ २४ मा भएको जेनजी आन्दोलनका दौरान तोडफोड भएपछि यो होटेल सञ्चालनमा आउन सकेको थिएन् । प्रमुख पाँचतारे होटलमध्येको एक यो होटेलमा तोडफोड हुँदा ७० वटा कोठा र लवि पूर्ण रुपमा क्षति भएको व्यवस्थापनले जनाएको छ ।

आवश्यक मर्मत गरेर पुन: सञ्चालनमा ल्याउन लामै समय लाग्ने भएकोले अनिश्चित कालका लागि होटेल बन्द गरिएको प्रवन्ध निर्देशक सुरेशलाल श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार अहिलेसम्म होटेलमा भएको क्षतिको पुरापुर मूल्यांकन समेत हुन सकेको छैन । त्यस्तो मूल्यांकन गरेर पुन: निर्माण गरिसक्न लामै समय लाग्न सक्छ ।

यो होटेल बन्द भएसँगै २ सयभन्दा बढी पूर्णकालीन कामदारको रोजगारी गुमेको छ । ती कर्मचारीलाई कानूनअनुसार सुविधा दिने होटेल व्यवस्थापनले जनाएको छ ।

केही वर्षअघि कोभीड महामारीका कारण काठमाडौँकै दरबारमार्गमा भएको डेल अन्नपूर्ण होटेल बन्द भएको थियो । उक्त स्थानमा अहिले अन्नपूर्ण स्क्वायर निर्माण गरिरहेका मीनबहादु गुरुङका आधाजसो भागभटेनी स्टोरहरु सोही आन्दोलनका दौरान जलेपछि अब त्यो परियोजनामा केही ढिलाइ हुनसक्ने संकेत देखिएका छन् ।

जेनजी आन्दोलनका क्रममा नक्सालमा भखैरैमात्र निर्माण सकिएर सञ्जालनमा आएको हिल्टन होटेलमा त अझ व्यावक मात्रामा क्षति भएको छ । पर्यटकको रोजाइमा पर्ने यस्तो होटेलहरु जलाइनु र तोडफोड हुनुले निजी क्षेत्रमा त्रास फैलाएको छ ।

अझ, तारागाउँ रिजेन्सी होटेल त नेपाल सरकारको पनि लगानी भएको संस्था हो । तारागाउँ विकास समितिले बनाएको यो होटेलमा सरकारले सुरुमा ४० प्रतिशत लगानी गरेको थियो । दरबारमार्ग, तीनधारा नजिक रहेको याक एण्ड यति होटेल चलाएको सर्राफ परिवार र नेपाल सरकार तथा अन्य केही नेपाली साझेदारले यो होटेल चलाएका हुन् । तर अब यही होटेल बन्द गर्ने अवस्थामा पुगेको छ ।

अमेरिकी बहुराष्ट्रिय होटेल ब्राण्ड हायात होटेल्स कर्पोरेशनले व्यवस्थापन सम्हालेको तारागाउँ रिजेन्सीमा २८० वटा कोठा छन् । उक्त अन्तर्राष्ट्रिय चेन होटल बन्दहुँदा विदेशी पर्यटक आगमनमा नकारात्मक असर पर्नुका साथै नेपालको छबि र यहाँको पर्यटन ब्राण्डिङमा पनि घातक असर पर्नसक्ने आँकलन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्