जेनजी आन्दोलनमा क्षति पुगेका घरधनीले बीमा कम्पनीबाट पाए झन्डै साढे २ अर्ब, गाडी जल्नेले कति पाए ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

जेनजी आन्दोलनमा क्षति पुगेका घरधनीले बीमा कम्पनीबाट पाए झन्डै साढे २ अर्ब, गाडी जल्नेले कति पाए ?



काठमाडौं । जेनजी आन्दोलनको क्षति उपर निर्जीवन बीमा कम्पनीहरुले धमाधम दावी भुक्तानी दिन थालेका छन् ।

हालसम्म बीमा कम्पनीले झन्डै पौने तीन अर्ब रुपैयाँ दावी भुक्तानी दिएका छन् । यद्यपि, कुल दावीको १२ प्रतिशत हाराहारीमा मात्रै भुक्तानी गरेको देखिन्छ । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको कात्तिक ९ गतेसम्मको प्रारम्भिक विवरणले यस्तो देखाएको हो ।

गत भदौ २३ र २४ गतेको देशव्यापी रुपमा भएको आन्दोलनका क्रममा ठुलो मात्रामा क्षति भएको थियो । निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी तथा तोडफोड भएका थिए । धेरै भौतिक संरचना र सवारीसाधानमा पनि व्यापाक क्षति पुगेको थियो ।

सोही क्षति उपर हालसम्म बीमा कम्पनीमा २३ अर्ब २३ करोड ३७ लाख रुपैयाँ बराबरको ३ हजार १८७ वटा दावी दावी पेश भएका छन् । तर, सो बराबरको दावीमा हालसम्म कम्पनीहरुले २ अर्ब ७९ करोड ७४ लाख ४७ हजार रुपैयाँ बराबरको दावी भुक्तानी दिएका छन् ।

प्राधिकरणका अनुसार जेनजी आन्दोलनका क्रममा क्षति पुगेका घरधनीलाई बीमा कम्पनीले २ अर्ब २७ करोड ११ लाख रुपैयाँ दावी भुक्तानी दिएका हुन् । कम्पनीले सम्पत्ति बीमालेख अन्तर्गत सो बराबरको भुक्तानी प्रदान गरेको देखिन्छ । यस्तो बीमालेखमा ९ अर्ब १ करोड ९३ लाख रुपैयाँ बराबरको ६७३ वटा दावी पेश भएका थिए । सम्पत्ति बीमामा कम्पनीहरुले ११.९४ प्रतिशत मात्रै दावी भुक्तानी दिएका छन् । अझै ८८.०६ प्रतिशत अर्थात् १६ अर्ब ७४ करो ८२ लाख बढी भुक्तानी हुन बाँकी देखिन्छ ।

यता, आन्दोलनकै क्रममा सवारीसाधानमा भएको क्षति उपर ३ अर्ब ४४ करोड २५ लाख रुपैयाँ बराबरको बीमा दावी पेश भएको छ । मोटर बीमालेख अन्तर्गत सो बराबरको दावी पेश भएको हो । हालसम्म जेनजी आन्दोलनमा क्षति पुगेका सवारीधनीहरुले बीमा कम्पनीबाट ४७ करोड ७७ लाख रुपैयाँ भुक्तानी पाएका छन् । मोटर बीमा अन्तर्गत १३.८७ प्रतिशत दावी भुक्तानी दिएका छन् । तर, अझै सेयरधनीको २ अर्ब ९६ करोड ४८ लाख रुपैयाँ बढी भुक्तानी हुन बाँकी छ ।

प्राधिकरणका अनुसार इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमा अन्तर्गत १९२ वटा दावी पेश भएको छ । यस्तो बीमालेखमा कुल ३६ करोड ७९ लाख रुपैयाँ बराबरको बीमा दावी परेको हो । तर, कम्पनीहरुले हालसम्म ४ करोड ६२ लाख रुपैयाँ मात्रै भुक्तानी दिएका छन् ।

यस्तै, अन्य बीमा अन्तर्गत भने कम्पनीहरुले २२ लाख ८२ हजार रुपैयाँ भुक्तानी दिएको देखिन्छ । यस्तो बीमामा ३८करोड ७१ लाख रुपैयाँ बराबरको ४० वटा दावी परेको प्राधिकरणले जनाएको छ ।

यता, परिवहन बीमामा भने अहिलेसम्म भुक्तानी हुन सकेको छैन् । यस्तो बीमा अन्तर्गत १ करोड ६६ लाख रुपैयाँ बराबरको १२ वटा बीमालेखमा दावी परेको छ ।


प्रतिक्रिया दिनुहोस्