सिन्धुली सडक पुनर्निर्माणका लागि जापानको दुई अर्ब ३० करोड सहयोग
काठमाडौं । बाढीले क्षति पुर्याएको सिन्धुली सडक पुनर्निर्माणका लागि जापानले नेपाललाई करिब दुई अर्ब ३० करोड रुपैयाँ (२.८ अर्ब जापानी येन) अनुदान दिने भएको छ ।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा ‘सिन्धुली सडक आपतकालीन पुनर्निर्माण कार्यक्रम’ सम्बन्धी सम्झौतामा अर्थसचिव डा. घनश्याम उपाध्याय र नेपालस्थित जापानी राजदूत माएदा तोरुले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र गृहमन्त्री ओमप्रकाश अर्याल उपस्थित थिए ।
अनुदान सम्झौतामा नेपालतर्फ अर्थ मन्त्रालयका सहसचिव डा. धनीराम शर्मा र जापान अन्तर्राष्ट्रिय सहकार्य निकायका प्रमुख मात्सुजाकी मिजुकीले हस्ताक्षर गरेका छन् । जापानी सहयोगले सिन्धुली सडकका क्षतिग्रस्त भागहरू मर्मत तथा पुनर्निर्माण गर्न प्रयोग गरिने बताइएको छ ।













