जेनजी आन्दोलनले राष्ट्र बैंकका हाकिमहरुमा नयाँ टकराव, डेपुटी गभर्नरको फेरियो समीकरण - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

जेनजी आन्दोलनले राष्ट्र बैंकका हाकिमहरुमा नयाँ टकराव, डेपुटी गभर्नरको फेरियो समीकरण



काठमाडौँ । गत भदौको तेस्रो हप्तासम्म आइपुग्दा नेपाल राट्र बैंकमा नयाँ डेपुटी गभर्नर बन्ने उमेदवारहरुको ‘फेस’ थिग्रिसकेको थियो । कांग्रेस र एमालेको गठबन्धन सरकार भएका बेला दीर्घबहादुर रावल र रामशरण खरेल ‘अवश्यम्भावी’ डेपुटी गभर्नरका रुपमा देखिएका थिए ।

तर भदौको अन्तिम साता भएको जेनजी आन्दोलनले तत्कालिन गठबन्धन सरकारलाई अपदस्त गर्‍यो र गैह्रदलीय सरकार गठन भयो । यसपछि अब ती उमेदवारहरुको पदोन्नती भइहाल्ने संभावना तत्काललाई टरेको छ ।

अहिलेका डेपुटी गभर्नरहरु डा. नीलम ढुंगाना तिम्सिना र बमबहादुर मीश्रको कार्यकाल आगामी फागुन २५ मा सकिँदै छ । मन्त्रीपरिषदले २०७७ फागुन २५ मा उनीहरुलाई लाई तत्कालिन गभर्नर महाप्रसाद अधिकारीको शिफारिसमा नियुक्त गरेको थियो ।

त्यसो त, नयाँ डेपुटी गभर्नर कुन वा कस्तो सरकारले नियुक्त गर्छ भन्ने पनि अहिलेसम्म स्पष्ट छैन । वर्तमान अन्तरिम सरकारले आगामी फागुन २१ मा निर्वाचन घोषणा गरेको छ । त्यस बेला निर्वाचन भयो भने लगभग नयाँ संसदको मतपरिणाम घोषणा हुँदै गर्दै डेपुटी गभर्नरहरुको पदावधि सकिन्छ । यसअघिका उदाहरण हेर्दा पनि पहिलेका डेपुटी गभर्नरको पदावधि सकिएको केही महिना पछिमात्रै नयाँ नियुक्ति हुने प्रचलन छ ।

यसले निर्धारित समयमा चुनाव भएमा नयाँ बन्ने सरकारले नियुक्त गर्न सक्छ । त्यो सरकारमा कसको पल्ला भारी हुन्छ भन्ने सुनिश्चितता देखिएको छैन । अर्कातिर यही सरकार कायम रहने वा अदालतको संवैधानिक इजलाशबाट संसद पुन:स्थापना गरी सर्वदलीय वा सर्वपक्षीय सरकार बन्ने संभावना पछि टुंगिएको छैन । यस्तो अनिश्चितताका बीच केन्द्रिय बैंकका उच्चाधिकारीहरुको होडबाजी पनि चर्किएको छ ।

राष्ट्र बैंक ऐन अनुसार नियुक्तिको बखत विद्यमान रहेका कार्यकारी निर्देशकहरुमध्येबाट डेपुटी गभर्नर नियुक्त गर्नुपर्छ । अहिले राष्ट्र बैंकमा १७ जना कार्यकारी निर्देशक छन् । त्यसमध्ये एक जना विमलराज खनालले आगामी पुसमै अनिवार्य अवकाश पाउने छन् ।

यता बरिष्ठतम् निर्देशक राजनविक्रम थापा आगामी साता नै नयाँ कार्यकारी निर्देशक हुने छन् । उनले भर्खरै अवकाश पाएका कार्यकारी निर्देशक गुणाकर भट्टको सट्टाभर्ना गर्ने छन् । विमलराज खनालको ठाउँमा भने राजेन्द्र भट्टराई कार्यकारी निर्देशक बन्ने छन् । सरकारले डेपुटी गभर्नर नियुक्तिमा ढिलाई गरेको खण्डमा उनी पनि उमेदवार बन्न सक्छन् । उनी नेपाली कांग्रेस निकट हुन् ।

अहिलेको अवस्थामा यी १७ जना मध्ये ७ जना प्राजातान्त्रिक र १० जना कम्युनिष्ट भएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । उनीहरुका अनुसार दयाराम शर्मा र निश्चल अधिकारी अलि राम्रोसँग खुलेका छैनन् । तर दयाराम उदारवादी र प्रजातान्त्रिक सोचका छन् भने निश्चल कम्युनिष्ट विचारधारा राख्छन् । निश्चललाई केहीले एमाले र केहीले माओबादी समर्थक ठान्छन् ।

यी बाहेक नरेश शाक्य, विश्रुत थापा, गुरुप्रसाद पौडेल, डिल्लीराम पोखरेल, दीर्घबहादुर रावल र अनुज दाहाल नेपाली कांग्रेस निकट छन् । रेवतीप्रसाद नेपाल, रामु पौडेल, किरण पण्डित, सत्येन्द्र तिमिल्सिना, चेतप्रसाद उप्रेती, रोशनकुमार सिग्देल र रामशरण खरेल एमाले निकट हुन् । दिपक लामिछाने र निर्देशक राजनविक्रम थापा भने माओबादी निकट हुन् .। कसैगरी माओबादीको सरकार आयो भने यी दुईमध्ये एक जना डेपुटी गभर्नर बन्ने संभावना बढ्छ ।

गभर्नर विश्वनाथ पौडेलले गुरु पौडेललाई सबैभन्दा शक्तिशाली मानिने बैंक तथा वित्तीय संस्था नियमन विभागमा राखेका छन् । दोस्रो शक्तिशाली अड्डा आर्थिक अनुसन्धान विभाग रामशरण खरेलको नेतृत्वमा छ । खरेल पूर्व अर्थमन्त्री एवम् पूर्वगभर्नर डा. युवराज खतिवडाका ज्वाइँ हुन् । उनै खतिवडालाई निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले खासै भूमिका नदिए पनि प्रधानमन्त्री कार्यालयमै सल्लाहकारको भूमिकामा रखेका थिए ।

यस आधारमा पनि खरेल डेपुटी गभर्नर बन्ने पक्कापक्की ठानिएको थियो । दीर्घ रावलको सम्बन्ध पूर्व गभर्नर तिलक रावलसँग कस्तो छ भन्ने विवरणहरु बाहिर नआए पनि उनलाई कांग्रेस सभापती शेरबहादुर देउवाको ‘उमेरदवार’का रुपमा हेरिएको थियो । यस आधारमा उनीहरुको नाम चर्चामा थियो । हुन त, विगतमा पनि चर्चा भएका कार्यकारी निर्देशकहरुभन्दा धेरैले नसोचेका उमेदवारले फड्को मारेका थिए ।

पछिल्लो उदाहरण हेर्ने हो भने नीलम ढुंगानाको बढुवा हुनेबारे खासै मान्छेले अनुमान लगाएका थिएनन् । तर उनी बरिष्ठ डेपुटी गभर्नरका रुपमा उदाइन् । त्योभन्दा पहिले पनि शिवनाथ पाण्डेको खुब चर्चा भएका बेला शिवराज श्रेष्ठलाई डेपुटी गभर्नर बनाइएको थियो । यस पल्ट पनि भर्खरै कार्यकारी निर्देशक भएकाहरुलाई बढुवा गर्ने संभावना बढेको भनेर हल्ला भएका थिए ।

तर बीचमा सरकार बदलिएपछि पूर्वानुमानका यी रेखाहरु मेटिएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । उनीहरुका अनुसार अब सबै कार्यकारी निर्देशकले आफ्नो आफ्नो ढंगले पहल गर्न सक्ने भएका छन् । त्यस बेलाको सरकार र उक्त सरकारको समर्थन हासिल गर्ने प्रयासमा अहिले कार्यकारी निर्देशकहरु देखिएका छन् ।

बेलाबखत सरकार एक धारको र गभर्नर अर्को धारको भएका बेला सरकारले एक जना र गभर्नरले एक जना रोज्ने अभ्यास पनि विगतमा भएको थियो । त्यस्तो अवस्थामा गभर्नरले गुरु पौडेल वा दीर्घ रावलमध्ये एक जना रोज्नसक्ने संभावना अझै बाँकी रहेको पनि कतिपयको बुझाइ छ ।

तर युवराज खतिवडा राजनीतिक रुपमा कमजोर भएका बखत एमाले निकट कार्यकारी निर्देशकको बढुवा गर्नु पर्दा रामु पौडेल, किरण पण्डित वा रोशन सिग्देलको नाम अगाडी आउन सक्ने पनि केही ‘भित्रिया’हरुको अनुमान छ ।

यद्यपि, जेनजी आन्दोलनले पूर्ववर्ती सरकारका पालामा ‘अवश्यम्भावी’ देखिएका उमेदवारहरुको आशा र भरोषा त टुटेको छ नै, अर्कातिर सबै १७ जनालाई नै प्रतिष्पर्धाको मैदानमा उभ्याइदिएको छ ।


प्रतिक्रिया दिनुहोस्