लगातार वर्षाले हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध
काठमाडौं । अविरल वर्षापछि मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखामा ढुंगा खस्दा हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथमा यातायात सेवा अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पहिरो पन्छाउने कामका लागि डोजर र जनशक्ति परिचालन गरिएको छ ।
यससँगै हेटौँडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक पनि सञ्चालनमा आउन सकेको छैन। इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा शनिबार साँझदेखि पहिरो खसेपछि सडक बन्द हुँदा काठमाडौं र हेटौँडा बीचका सवारी साधन बीच बाटोमै रोकिएका छन्।
निरन्तर वर्षाका कारण माटो भिजेकाले ढुंगा र माटो झर्ने क्रम रोकिएको छैन । प्रहरीले बाटो खुलाउन समय लाग्ने बताउँदै यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।













